त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ ।
विमानस्थलका निर्देशक एवं प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन् भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ ।
उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तर्राष्ट्रिय तर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए । आन्तरिक उडानबाट काठमाडौं आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे ।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।