२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

गण्डकी प्रदेशसभा : गाँजा खेती सम्बन्धी विधेयक विषयगत समितिमा

गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।


यही कात्तिक २४ गते बसेको प्रदेशसभा बैठकमा प्रस्तुत भएको उक्त विधेयकमा दुई जना प्रदेशसभा सदस्यबाट संशोधनको सूचना प्राप्त भएको थियो । शुक्रबारको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित उक्त विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले जानकारी दिए ।



विषयगत समितिमा दफावार छलफलपछि पुनः प्रदेशसभामा बैठकमा छलफल भएपछि विधेयक पारितको प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ । लागूऔषध सम्बन्धी संघीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी गाँजा खेतीसम्बन्धी कानुन बनाउने तयारीमा प्रदेश सरकार छ ।

प्रदेशसभामा प्रस्तुत भएको भइसकेको उक्त विधेयकमा गाँजा खेती र व्यवसायका लागि कडा प्रावधान राखिएको छ । प्रदेश सरकारले गाँजा खेती सम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो ।



जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको रु पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि रु एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ ।

गाँजा खेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

अनुमतिबिना गाँजा खेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजा जन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेसाबाट बनेका कपडा, तेलजस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था विधेयकमा गरिएको छ । गाँजा खेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ ।



  • प्रकाशित मिति : २९ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया