२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

राष्ट्रिय गौरवको कोबाङ-जोमसोम सडक निर्माण ८ वर्षदेखि अलपत्र

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिला सुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी-जोमसोमको ७४ किलोमिटर अन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो ।


मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो ।



पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुआती चरणमा उक्त खण्डमा निर्माण कम्पनीले काममा तीव्रता दिए पनि केही समयपछि ढिला सुस्ती गरेपछि काम रोकिएको थियो । लामो समयसम्म काम नगरेपछि कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

आयोजनाको पटक-पटकको ताकेता र कारबाहीको प्रक्रिया अघि बढाएपछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले उक्त खण्डको जिम्मा लिएको थियो । गौरी पार्वती निर्माणमा फर्किए पनि आंशिक रूपमा मात्र काम भएको छ । निर्माण कम्पनीको लापरबाही र ढिला सुस्तीका कारण कामले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ ।



आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई कूल ठेक्का सम्झौता लागतको शून्य दशमलव  शून्य पाँच प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । सुरुआती ठेक्का सम्झौता भएको कोबाङ–जोमसोम सडकको हालसम्म सातौँ चरणमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर बाबुसाहेव बैठाले जानकारी दिए ।

उनका अनुसार हाल उक्त सडकको भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ । कोबाङ–जोमसोम सडक अन्तर्गत थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी प्रविधिको सडक विस्तार गर्ने काम बाँकी रहेको गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीले बताए ।

यस क्षेत्रमा कालोपत्र र आरसिसी प्रविधिको ‘ड्रेन’ र ‘स्टक्चर’को काम सकिएको छ । साथै सोही खण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० सय मिटर कालोपत्र गर्न बाँकी रहेको अधिकारीले जानकारी दिए ।

जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको उनले बताए । कम्पनीका प्रतिनिधि अधिकारीले कोबाङ–जोमसोम सडकको सम्पूर्ण काम मङ्सिर मसान्तसम्म सम्पन्न हुने दाबी गरे ।



‘हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका हौँ, सोहीअनुसार काम पनि भइरहेको छ’, उनले भने, ‘अहिले कामदार धान काट्न घर गएकाले काम रोकिएको हो, अब एक हप्ताभित्रै कामले निरन्तरता पाउने छ ।’

राष्ट्रिय गौरवको बेनी–जोमसोमअन्तर्गतको चौथो खण्ड कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । कोबाङ–जोमसोम सडक पूरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी–मुक्तिनाथसम्मको आवागमन सहज हुनेछ ।

  • प्रकाशित मिति : २९ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया