२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

‘युवा पुस्ता जवाफदेही, उत्तरदायी र भ्रष्टाचार मुक्त शासन चाहन्छ’

प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचार मुक्त शासन चाहेको बताएकी छिन् । आज अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सरिक भएकी प्रधानमन्त्री कार्कीले सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन् ।


नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौंमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।



उनले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढता पूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचार मुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसै अन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’

अस्ट्रेलियाबाट प्राप्त मैत्री भाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उनले अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गरिन् ।



नेपाल र अस्ट्रेलिया बीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन् ।

उनले भनिन्, ‘नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ ।’

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एक अर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उनले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताइन् ।

उनले भनिन्, ‘नेपालले क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतालाई अत्यन्त महत्त्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ ।’



हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उनले अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली दुई देशबीच जीवन्त सेतु बनेको बताइन् । पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उनले प्रसन्नता पनि व्यक्त गरिन् ।

‘अस्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ छौँ, उनले भनिन्, ‘नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्तति हुने लक्ष्य पूरा गर्न द्रुत गतिले अघिबढिरहेको छ । यस महत्त्वाकांक्षी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रदान भइरहेको अस्ट्रेलियाको निरन्तर सहयोग हामी कृतज्ञतासाथ स्वीकार गर्छौँ ।’

नेपाल-अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे । 

  • प्रकाशित मिति : २९ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया