के अमेरिका–इरान तनावले नेपाललाई पनि असर गर्छ ?

काठमाडौं– पछिल्ला दिन अमेरिका र इरानबीचको तनाव बढ्दो छ । अमेरिकी ड्रोन इरानले खसालिदिएपछि सुरु भएको यो तनाव अझ उत्कर्षमा पुग्ने देखिएको छ । केही दिन यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध गर्न आफू तयार भएको अभिव्यक्ति दिन थालिसकेका छन् ।

तर, यो कुराबाट आफू विचलित नहुने र आफूमाथि हुने आक्रमणको सामना गर्न आफू तयार भएको इरानले बताउँदै आएको छ । इरानी राष्ट्रपति हसन रुहानीले पनि अब अन्तर्राष्ट्रिय देशहरुसँग आफूहरुले गरेको सम्झौतालाई बेवास्ता गर्ने चेतावनी दिइसकेका छन् । 

विशेषगरि परमाणु कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौताभन्दा आफूहरु अगाडि बढ्ने उनले बताएका छन् । 

उता, इरानको यो अभिव्यक्ति आएपछि अमेरिकाले पनि थप प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘विशेष र ठूला’ प्रतिबन्ध लगाउने बताएका छन् । यसो गर्नुको पछाडि उनले इरानले परमाणु कार्यक्रमलाई अगाडि बढाउन नपाओस् भन्ने उद्देश्य रहेको बताएका छन् । 

‘तेहरानले आफ्नो बाटो नबदलेसम्म हामी आर्थिक दबाब कायम गर्ने छौँ,’ ट्रम्पले भनेका  छन्, ‘हामी थप प्रतिबन्ध लगाउँदै छौँ ।’

यी दुवै देशले एकअर्कालाई पछिल्लो समय चर्को आरोप–प्रत्यारोप लगाइरहेका छन् । 



के यी दुई देशको यो तनावले नेपाललाई कुनै असर गर्ला त ?

अमेरिका र इरानबीचको यो तनाव अब यी दुई देशबीच मात्र सिमित छैन । अमेरिकासँग इरानको तनाव बढ्दै गएपछि अन्य देशहरुले पनि अमेरिकाको समर्थनमा केही कदमहरु उठाएका छन् । जस्तो कि अमेरिकी एयरलाइन्सले इरानको हवाइ क्षेत्रबाट उडान नभर्ने निर्णय गरेका छन् । योसँगै भारतीय तथा युरोपेली र बेलायती तथा अन्य एयरलाइन्सहरुले पनि इरानको हवाइ क्षेत्र प्रयोग नगर्ने बताएका छन् ।



भारतीय तथा युएइ, कतारलगायतका विमानहरुले इरानको हवाइ क्षेत्र प्रयोग नगर्दा केही स्थानहरुमा जाने विमानहरुका लागि बाटो लामो हुनसक्ने सम्भावना छ । यसले हवाइ क्षेत्रको भाडादरमा थोरै वृद्धि ल्याउन सक्छ ।

त्यस्तै, भारतले अब इरानबाट तेल नकिन्ने भएको छ । भारतले इरानबाट तेल नकिन्दा तेलको मूल्यमा थोरै वृद्धि हुनसक्ने भारतीय मिडियाहरुले अनुमान गरेका छन् । यसको अर्थ हो, नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्छ । 

  • प्रकाशित मिति : असार ८, २०७६ आइतबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया