एपिएफ क्लब र आर्मी क्लबले जिते राष्ट्रिय बीच भलिबलको उपाधि

काठमाडौं– छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेका छन् ।

कास्की जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको तत्वावधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । सोमबारको फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टिमका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरीको ‘ए’ टिमका नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१–१३ को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । 

त्यसैगरी, पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामीमगरको जोडीलाई २१–१६ ,१८–२१ र  १८–१६ को सेटमा पराजित गरी उपाधि चुम्न सफल बन्यो । 

प्रतियोगिताको विजेता टिमले नगद रु ३० हजार ट्रफी तथा प्रमाण प्राप्त गरे भने उपविजेताले नगद रु २० हजार ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए । त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडी तथा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमका मनीषा चौधरी र पुष्पा चौधरीको जाडीले तेस्रो स्थान हासिल गरी दुवै टिमले नगद १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपिएफका विनिता बुढाथोकीले प्राप्त गरी नगद तीन÷तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेता टिमका खेलाडी तथा दुवै विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी,  नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ तथा संघका कास्की अध्यक्ष भीम पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।



प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी पुरुषतर्फ १७ र महिला तर्फ १४ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई नेपालमा आयोजना गर्ने गरी तय भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि छनोट गरी बन्द प्रशिक्षणमा सहभागी गराइने बताइएको छ ।



  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १६:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया