प्रकाश सपुत भर्सेस शम्भु राईः जातमाथि प्रहार, चर्को विरोध

काठमाडौं– बाग्लुङे गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ रिलिज भएपछि नै निकै चर्चामा छ । पहिले यो गीतको टोन धेरैले मन पराए, यसको चर्चा निकै बढ्यो । 

तर, पछिल्लो समय यो गीत विवादको चक्रव्यूहमा फँसेको छ । प्रकाश सपुतले अर्का पुराना गायक शम्भु राईको गीतको लय चोरेर गलबन्दी तयार पारेको आरोप लाग्यो । 

यसबीच दुई गायकलाई मिलाउन विभिन्न संघसंस्था लागिपरे । तर, विवाद अझै थामिएको छैन । 

बरु यो विवाद सामाजिक सन्जालमा विकृतरुपमा फैलिँदो छ । सामाजिक सन्जाल फेसबुक, ट्विटरमा प्रकाश सपुतमाथि अनेक आरोप लगाउने क्रममा जातका कुरा पनि उठाएपछि सामाजिक सन्जालमा विवाद बढेको हो । 

फेसबुकमा सुवास मंगोल नामका एक प्रयोगकर्ताले प्रकाश सपुतलाई जातका कारण ‘तुच्छ’ शब्द प्रयोग गरेको भन्दै अन्य सामाजिक सन्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । उनीजस्तै जातका कारण प्रकाशलाई गलत आरोप लगाउने अरु पनि छन् ।



सुवासको स्टाटसमाथि गायक शिव परियारले लेखेका छन्, ‘त्यसपछि चरित्र हजार मान्छे संग जोडेर चरित्र हत्या गरेर जात देखायो भनेर तल झार्न खोज्छ सत्य कुरा पो सत्य हुन्छ झुट कहिल्यै सत्य हुँदैन यो त झन् सक्दै सक्दैन ।’ उनले फेसबुकमा जातको प्रसङ्ग निकालेर यो समाजमा बस्नेहरुबाट आस गर्न नसकिने लेखेका छन् । 

फेसबुकमा नै महावीर विश्वकर्माले लेखेका छन्, ‘ यो समाज र यहाँका युवाका बारेमा चिन्तन गर्ने तपाईँ हामीले यो विषयमा गम्भीर भएर सोच्नैपर्छ ।’



पत्रकारिता गरिरहेका लेखक धु्वसत्य परियारले पनि फेसबुकमा लामो स्टाटस राखेका छन् । 

‘झगडा वा विवाद अन्तमा धर्ममा पुग्ने, रंगभेदमा पुग्ने, नश्लमा पुग्ने, आमा ‘चकारी’मा पुग्ने संसारकै असभ्य, विवेकहीनहरुमा देखिन्छ । तर, जातमा पुग्ने हिन्दू समाजमा हो । अझ वर्ण व्यवस्था बाहिरका, बेग्लै धर्मसंस्कार भएका, हिजो बाहुनक्षत्रीहरुले आफ्नो धर्म–संस्कारमा पिछलग्गु बनाएकाहरुले अलि बढी जातका कुरा गर्छन्,’ उनको तर्क छ । 

त्यसो त यही विषय सोमबारको प्रतिनिधि सभा बैठकमा पनि चर्चामा आयो । बैठकमा नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माले भने, ‘दलित समुदायलाई अपमानित हुने गरि उनीहरुमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेकाले कानुन, जातिय छुवाछुत तथा कसुर सजाय ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कानुरी दायरामा ल्याउन माग गर्दछु ।’

सामाजिक सन्जालमा चासोमा रहेको यो विषय सामाजिक सन्जाल बाहिर पनि उत्तिकै चर्चामा छ । 

नहोस् पनि किन, एउटै समाजमा बसिरहेको एउटा गायकलाई जातका कारण अपमानित गर्न खोजिँदैछ । यस्तोमा आवाज नउठ्दा पो अचम्म मान्नुपर्छ !


  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १७:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया