शशिविक्रम कार्की जाे जिम्मेवार ट्रेकर हुन्

काठमाडाैं– हरेक मानिसको आ–आफ्नै सोख हुन्छ । विभिन्न सोखमध्ये पनि घुमघाम गर्नु अधिकांश मानिसको सोख हुन्छ । शशिविक्रम कार्की पनि त्यसबाट अछुतो हुने कुरै भएन । उनी सानैदेखि नयाँ–नयाँ ठाउँ घुम्न जान मन पराउँथे । तर, आर्थिकअभावका कारण उनले सोचेजसरी नयाँ–नयाँ ठाउँ घुम्न पाएनन् ।  

त्यसपछि उनले निर्क्याेल गरे, आफू ठूलो भएपछि त्यस्तो पेसामा आबद्ध हुने, जसबाट पैसा पनि कमाउन सकियोस् र घुम्न पनि पाइयोस् । त्यही सोचलाई उनले यथार्थमा बदल्नका लागि उनले निकै संघर्ष गरे । र, कालान्तरमा उनी टुरिस्ट गाइड बने । 

‘एकपटक साथीहरूसँग घुम्न जाने मौका पाएँ । कलेजबाट आयोजित शैक्षिक भ्रमणका लागि चन्दा उठायौँ र भारत गयौँ । साथीहरूसँग भारत घुम्न पाउँदा बडो मज्जा लाग्यो,’ विद्यार्थी जीवनको एउटा स्मरण गर्दै उनले सुनाए, ‘त्यसपछि झनै ममा नयाँ–नयाँ ठाउँ भ्रमण गर्ने आकांक्षा बढ्दै गयो ।’ 

टुरिस्ट गाइड बन्नुको आधार प्रस्ट्याउँदै उनले भने– ‘मेरो संगतमा फ्रेन्च भाषा सिकेका तीन–चारजना साथी थिए । उनीहरू टुरिस्ट गाइड थिए । प्रायः भेटघाटमा उनीहरू  आफ्नो ट्रेकिङयात्राको अनुभव सुनाउँथे । उनीहरूको कुरा सुन्दा मलाई पनि यो पेसामा घुम्न पनि पाइने रहेछ र मनग्य पैसा पनि कमाउन सकिने रहेछ भन्ने लाग्न थाल्यो ।
 
साथीसंगतले उनले पनि फ्रेन्च भाषा सिके । न्याथम कलेजबाट टुरिस्ट गाइडका लागि आवश्यक ट्रेनिङ र लाइसेन्स लिए । त्यसपछि उनले हरेक वर्ष सिजनका वेला टुरिस्ट गाइड भएर ट्रेकिङ जान सुरु गरे । टुरिजम व्यासायमा आवद्ध भएपछि उनले ट्रेकिङसँग सम्बन्धित धेरै कुरा सिक्न र बुझ्न पाएको उनी बताउँछन् । 

अहिले नेपालीहरूमा घुमघाम संस्कृतिको विकास हुँदै गएको शशिको अनुभव छ । भन्छन्, ‘नेपालीहरूले घुम्न थालेको धेरै भएको छैन ।’ पछिल्ला दिनमा नेपाली चलचित्र र म्युजिक भिडियोमा समावेश भएका दृश्यहरूले नेपालीहरूलाई घुम्न प्रेरित गरेको उनको बुझाइ छ । 

बिस्तारै, नेपालीहरूले घुम्न त सिके, तर कसरी घुम्ने, के खाने, के लगाउने, कति आराम गर्ने, कति हिँड्ने, यात्राका दौरान अत्यावश्यक पर्ने सामग्री केके चाहिन्छ भन्ने ज्ञान गर्न जरुरी रहेको उनी सुझाउँछन् । 



यसबाहेक उनको एउटा कुरामा भने ठूलो गुनासो छ, त्यो प्रकृतिप्रतिको उत्तरदायित्व ।  

‘हामीले घुम्न त सिक्यौँ, तर प्रकृतिप्रतिको जिम्मेवारी र कर्तव्यबोधचाहिँ हामीमा भएन । यो निकै दुर्भाग्यको कुरा हो ।’ 



६–७ वर्षअघि आफूले ट्रेकिङ सुरु गर्दासम्म पनि बाटोमा अहिलेजस्तो फोहोर नहुने गरेको उनको अनुभव छ । सरसफाइमा नेपालीहरूले ध्यान नदिने गरेकोप्रति आक्रोश व्यक्त गर्दै उनी भन्छन्, ‘बाटोमा फोहोर फाल्नुहुँदैन, त्यसले वातावरणलाई प्रतिकूल असर गर्छ र यही लोकमा बस्ने जीवजन्तुलाई असर गर्छ भन्ने कुराको हेक्का हामीलाई भएन । यतिसम्म कि डस्टबिन राखिएको ठाउँवरपर पनि यत्रतत्र फोहोर भेटिन्छ ।’

‘त्यहाँ फोहोर फाल्ने सबै हामी नै हौँ । विदेशी पर्यटकहरूमा जथाभावी फोहोर फाल्नुहुँदैन भन्ने चेत छ, तर हामीमा भने जथाभावी फोहोर फाल्नुहुँदैन, फोहोर भयो भने आयस्रोतको हाम्रो दोस्रो ठूलो उद्योगमा नराम्रो असर पर्छ भन्ने चेतनासम्म छैन ।’ उनी प्रश्न गर्छन्, कतै हामी आफ्नो देश बिगार्न आफैँ उद्यत त छैनौँ ?

नेपालीहरूले आफ्नो देश सुन्दर रहेछ भन्ने कुरा त बुझेको, तर प्रकृतिप्रति हाम्रो पनि दायित्व हुन्छ भनेर कहिल्यै नबुझेको उनको प्रस्टोक्ति छ । 

कामका सिलसिलामा उनलाई विदेशी पर्यटकले वेला–वेलामा सोध्छन्, ‘किन संसारकै केन्द्रमा परेको ठाउँमा पनि यति धेरै प्रदूषण ? किन सरकारले यसमा ध्यान नदिएको ?  उनीहरूको प्रश्नमा आफू निःशब्द हुने गरेको उनी बताउँछन् । भन्छन्– म उनीहरूलाई भन्न सक्दिनँ कि मेरो देशका नागरिकमा यति पनि चेतना छैन भनेर । मलाई मोरो इगोले पनि दिँदैन । बस् म हाँसेर टारिदिन्छु ।  तर, भित्रभित्र भने पीडा भइरहको हुन्छ ।  

‘जब म विदेशीहरूलाई मेरो देश यस्तो छ उस्तो छ भनेर प्रकृतिको बयान गरिरहेको हुन्छु, मलाई त्यति नै वेला बाटाभरि छरपस्ट फालिएका फोहोरले जिस्क्याइरहेको भान हुन्छ ।’  

यही कुराले हरेकपटक पिरोल्न थालेपछि उनले जनचेतना सञ्चार गर्ने हेतुले उनले एउटा भिडियो बनाए । भिडियोबारे उनी बोले– मसँग एउटा प्लास्टिकको ठूलो ब्याग थियो । त्यही ब्यागमा एक घन्टा पैदल यात्राको अवधिमा बाटोमा फालिएका फोहोर संकलन गर्दै तिलिचोमा पुगेपछि एउटा भिडियो बनाएँ ।’ भिडियोमार्फत  उनले जताभावी फोहोर नफाल्न अनुरोध पनि गरेका छन् ।
 
उनले फोहोर उठाउने क्रममा भएको एउटा घतलाग्दो प्रसंग सुनाए– मैले जम्मा गरेको फोहोरको थुप्रो देखेर एउटा विदेशी नागरिक मनजिक आएर आश्चर्यचकित मुद्रामा मलाई हेर्दै सोधे, 

तपाईंले फोहोर बोकेको ? 
 
मैले उत्तरमा हो भनेँ । 

नपत्याएझैँ गरेर उनले फेरि सोधे, फोहोर उठाएको ?

प्रतिउत्तरमा फेरि हो भनेँ । 

त्यसपछि खोइ के सोचेर हो, तपाईं ती विदेशीले उनलाई तपाईं नेपाली नै हो ? भनेर सोधे । 

उनी भन्छन्– ‘मलाई लाज लागे पनि उत्तर त हो नै भनेर दिनु पथ्र्याे । त्यसपछि उनले हठात् आफ्नो खल्तीभित्र हात हालेर चार हजार गनेर मतिर हात म बढाए ।’ मैले पर्दैन भनेँ । उनले फेरि ढिपी गरे । मैले निरन्तर प्रतिकार गरिरहेँ । 

अन्त्यमा विदेशीले उनीसँग खाना नखाइ नछाड्ने भनेपछि उनले ‘हुन्छ’ भनेर उनीसँगै खाना खाए । ती विदेशी अघिल्लोपटक पनि नेपाल आएका रहेछन् । त्यसवेला अत्यन्त सफा देखेको ठाउँमा अहिले केही वर्षपछि आउँदा अत्यन्त प्रदूषित देख्दा आफूलाई साह्रै नमज्जा लागेको भन्दै ती विदेशीले शशिलाई सुनाए । शशिका अनुसार ती स्विस नागरिक रहेछन् । 

‘मेरो फोहोरको झोला देखेर केही मान्छेले फाल्नै लागेको फोहोर पनि डस्टबिनमा राखेको देखेँ,’ नेपालीहरूलाई फोहोर फाल्नुहुँदैन भन्ने त थाहा भएको, तर  व्यावहारिकताको कमी रहेको बताउँदै उनले भने, ‘यसको अर्थ के हो भने फोहोर किन टिप्नुपर्छ भन्दा पनि फोहोर गर्नुहुँदैन भन्ने चेतना कमी हामीमा रहेछ ।’ 

शशिको अनुभवमा मुक्तिनाथ र कालिञ्चोकको अवस्था पनि त्यस्तै दयनीय छ । भन्छन्, ‘मान्छेहरू धर्म कमाउन सकी–नसकी मुक्तिनाथसम्म त पुग्छन्, तर धर्म भने गर्न सक्दैनन् उल्टो पाप गरेर फर्किन्छन् ।’ 

मुक्तिनाथजस्तो पवित्र ठाउँमा पनि फोहोर फालेर नेपाली पर्यटकले अपवित्र बनाएको उनले बताए । त्यहाँ  फोहोर व्यवस्थापनका निम्ति राखिएको डस्टबिनको बेवास्ता गर्दै उनीहरूले बाहिर फोहोर फाल्ने गरेको शशिले आफ्नै आँखाले देखेका छन् ।

सो भिडियो बनाएर उनले फेसबुकमा पोस्ट गरेपछि उनलाई धेरैले बधाई दिए । भिडियोका कारण उनले राम्रै वाहवाही पाए । उनको सो सन्देशमूलक भिडियोलाई धेरैले लाइक र कमेन्ट गरे । नेपाली मात्र नभएर विदेशीहरूले पनि आफ्नो भिडियो लाइक र सेयर गरेको उनी बताउँछन् । 

अहिले शशिलाई धेरैले सामाजिक अभियन्ताका रूपमा चिन्छन् । आफूले खासै ठूलो काम त नगरेको, तर जनचेतना जगाउनका लागि त्यसले राम्रै भूमिका निर्वाह गरेको शशिको अनुभव छ ।  

  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १:२३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया