नयाँ वर्षको सुरुवातीसँगै विशेषगरी जेठ र असारमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारको नाटक डेब्यु र नयाँ रङ्गकर्मीको आगमनसँगै थिएटरहरू चलायमान बने । त्यसबेला नाटकप्रति दर्शकको आकर्षण उल्लेख्य रूपमा बढेको देखिन्थ्यो । सिनेमा हल जत्तिकै नाटक घरमा पनि दर्शकको भिड लाग्ने अवस्था थियो ।
नेपाली सिने उद्योगकी स्टार रेखा थापाको नाटकमा डेब्युले निकै चर्चा पायो । त्यस्तै, चर्चित अभिनेता जीवन लुइँटेल, सनिशा भट्टराईजस्ता कलाकारको रङ्गमञ्च उपस्थितिले नाटकलाई मुख्यधारको चर्चामा ल्याइदिएको थियो ।
गत पुसमा मण्डला नाटक घरमा मञ्चन भएको दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल अभिनीत नाटक ‘हरि हजुरबा’ले नाटक व्यवसायमै नयाँ रेकर्ड कायम गरेको थियो ।
उक्त नाटकले २२ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै मण्डला थिएटरका सबैभन्दा धेरै कमाउने नाटकमध्ये शीर्ष पाँचमा स्थान बनाएको थियो । यसले नाटक पनि व्यावसायिक रूपमा सफल हुन सक्छ भन्ने विश्वास कलाकार र निर्माता दुवैमा जगायो । त्यसपछि पनि राजधानीका नाटक घर दसैँ अघिसम्म पनि भरिभराउ नै थिए ।
नियमित दर्शक मात्र होइन, फिल्म हेर्न जाने दर्शकसमेत नाटकप्रति आकर्षित भएका थिए । तर, दसैँपछि भने नाटक घरको वातावरण एकाएक फेरिएको छ । दर्शकको चहलपहल घट्दै जाँदा अहिले अधिकांश थिएटरमा सन्नाटा छाएको देखिन्छ । यस अवस्थालाई केवल दसैँको प्रभाव भनेर मात्र व्याख्या गर्न सकिँदैन । किनकी दसैँमा सबै दर्शक फिल्म हलतिर मात्रकेन्द्रित भए भन्ने अवस्था पनि देखिएन ।
वास्तवमा पहिलेका वर्षहरूको तुलनामा यस वर्ष दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रले अपेक्षित व्यापार गर्न सकेनन् । ठूला ब्यानर र चर्चित कलाकारका फिल्महरू प्रदर्शनमा आए पनि बक्स अफिसमा भने अपेक्षाकृत कमजोर प्रदर्शन देखियो । तर, दसैँ सकिएपछि भने सिनेमाको बजार क्रमशः चलायमान हुन थाल्यो । दसैँपछि प्रदर्शनमा आएका केही फिल्महरूले उल्लेख्य कमाइ गर्दै हलमा दर्शक फर्काइरहेका छन् ।
कात्तिक महिनामा रिलिज भएको फिल्म ‘परान’ ले उत्कृष्ट व्यापार गर्दै ५१ औँ दिनसमेत मनाइसकेको छ । यस फिल्मले दर्शकको रुचि र सकारात्मक प्रतिक्रिया दुवै पाउन सफल भयो ।
‘परान’ को सफलतासँगै ‘जारी २’, ‘मनबिनाको धन’ र ‘जेरी अन टप’ जस्ता फिल्महरूले पनि सुखद व्यापार गर्दै नेपाली सिनेमाको सकारात्मक यात्रालाई निरन्तरता दिएका छन् । यद्यपि कात्तिकको तुलनामा मंसिर महिनामा प्रदर्शन भएका फिल्मको ग्रस कलेक्सन भने कमजोर नै देखिएको छ । यता सिनेमा हलमा दर्शकको आवतजावत बढिरहेको देखिँदा थिएटरतर्फ भने उही शून्यताको अवस्था कायम छ ।
रङ्गकर्मी सविन न्यौपाने पहिलेको तुलनामा दर्शक भन्दा पनि नाटक मञ्चनमा नै कमी हुँदै आएको बताउँछन् । पछिल्लो समय विद्यालय, कलेजहरूमा नाटक प्रदर्शन गर्दै आएको र थिएटरमा प्रविधिक समस्याको कारण पनि नाटक मञ्चनमा कमी आएको उनको बुझाई छ । उनी भन्छन्, ‘मण्डला थिएटरको तुलनामा अरू थिएटरमा कमै नाटक मञ्चन हुने गर्दछन् ।’ चलचित्रको लागी दसैँ-तिहारलाई सिजनको समय मानिए पनि नाटकमा सिजनको समय भनेर ठ्याक्कै यही भन्न नमिल्ने उनको धारणा छ ।
यस्तै, मण्डला थिएटरमा यति बेला ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ । यसै नाटकका कलाकार तथा अर्को निर्देशक प्रविन खतिवडा पनि पहिलेको तुलनामा दर्शकहरूको रुचि नाटकतर्फ घटेको हो कि भन्ने धारणा राख्छन् । उनी भन्छन्,‘जति अपेक्षा गरिएको थियो त्यो अनुरूप दर्शकको उपस्थिति देखिएको छैन ।’
अर्कोतर्फ, सिनेमा उद्योगले पछिल्लो समय निरन्तररूपमा दर्शकलाई हलसम्म ल्याउने कन्टेन्ट दिइरहेको तर्क पनि प्रस्तुत गरिन्छ । जबकी नाटक क्षेत्रमा नयाँ प्रयोग र नियमित प्रस्तुति अभाव देखिएको छ । नाटकप्रति दर्शकको रुचि अस्थायी मात्र थियो कि निरन्तर बनाइराख्न नसकिएको कमजोरी हो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
जेठ–असारमा देखिएको नाटकको उभारले ठूलो सम्भावना देखाए पनि त्यसलाई निरन्तरता दिन नसक्दा अहिलेको खडेरी देखिएको विश्लेषण गरिन्छ । कलाकारको डेब्यु र स्टार कास्टमा आधारित नाटकले मात्र दीर्घकालीन दर्शक तयार गर्न सक्दैन भन्ने कुरा अहिले स्पष्ट हुँदै गएको छ । अब नाटक क्षेत्रले कथावस्तु, प्रस्तुति, प्रचार र दर्शकसँगको सम्बन्धमा नयाँ रणनीति अपनाउनुपर्ने आवश्यकता देखिएको छ । यदि समयमै सुधार र नवीनता नअपनाए राजधानीका थिएटरहरूमा देखिएको यो सन्नाटा अझै लामो समय टिक्ने जोखिम पनि उत्तिकै छ ।
त्यसैले यसै वर्षको सुरुवातीमा देखिएको नाटकप्रतिको उत्साह क्षणिक लहर मात्र थियो कि, त्यो उत्साहलाई दीर्घकालीन दर्शक संस्कृतिमा रूपान्तरण गर्न नसकिएको कमजोरी हो भन्ने प्रश्न उठ्ने अवस्था आएको हो । स्टार कलाकारको डेब्यु, सीमित समयको चर्चा र ‘इभेन्ट थिएटर’ले केही समयका लागि दर्शक तान्न सके पनि नियमित र सशक्त नाटक उत्पादनबिनै रंगमञ्चलाई जीवित राख्न सम्भव नहुने देखिएको छ । यसले नाटक क्षेत्र आफैंले आफ्ना दर्शक किन हराइरहेको छ भन्ने आत्म समीक्षा गर्नुपर्ने पनि देखिन्छ ।
अब नाटक क्षेत्रले नयाँ कथा, नयाँ प्रस्तुति, नियमित मञ्चन र प्रभावकारी प्रचार रणनीतिमार्फत दर्शकसँगको सम्बन्ध पुनस्र्थापित गर्नुपर्ने चुनौती सामना गर्नै पर्ने देखिन्छ । सम्भावनालाई संस्थागत रूप दिन सकिएन भने थिएटरहरूमा अहिले देखिएको सन्नाटा दीर्घकालीन सङ्कटको सङ्केत बन्ने जोखिम पनि उत्तिकै रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।