कुनै समय नेपाली फिल्म उद्योगका सर्वाधिक चर्चित र सफल नायकका रूपमा स्थापित रमेश उप्रेती केही वर्ष हराए । तर, पछिल्ला वर्षहरूमा उनी पुनः सक्रिय रूपमा फिल्म क्षेत्रमा देखिन थालेका छन् । केही समय विदेश बसाइपछि स्वदेश फर्किएका उप्रेती अहिले फेरि नेपाली दर्शकमाझ विभिन्न फिल्ममार्फत उपस्थित भइरहेका छन् ।
उमेरले अर्धबैँस नाघिसक्दा पनि उनको ऊर्जा, फिटनेश र पर्दामा देखिने आकर्षणमा खासै कमी आएको छैन । आज पनि उनी दर्शकका लागि ‘चकलेटी हिरो’कै छविमा देखिन्छन् ।
उप्रेतीले अभिनयलाई कुनै निश्चित परिभाषामा बाँध्न नसकिने अनुभूतिको विषयका रुपमा लिन्छन् । अभिनय केवल सीप वा पेशा मात्र नभई मन, भावना र चाहनाबाट जन्मिने एउटा गहिरो प्रक्रिया भएको उनको भनाइ छ ।
कलाकारले हरेक भूमिकामा आफूलाई नयाँ रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । अभिनयको यात्रामा सन्तुष्टि भन्ने कुरा अत्यन्तै खतरनाक हुने उनी बताउँछन् । सन्तुष्टि आएपछि कलाकारको खोज र संघर्ष रोकिने भएकाले आफू सधैँ नयाँ र चुनौतीपूर्ण भूमिका खोजिरहने उनको भनाइ छ ।
पछिल्ला वर्षहरूमा नेपाली कलाकार विदेशिने क्रम बढेको विषयमा बोल्दै उप्रेतीले त्यसलाई व्यक्तिगत चाहना, पारिवारिक आवश्यकता र बाध्यतासँग जोडेर हेर्नुपर्ने बताए । साथै कलाकारहरुको राजनीतिक प्रवेशको विषयमा नेपालजस्तो राजनीतिक अस्थिरता, अनियमितता र जटिलता भएको मुलुकमा कलाकारको नरम स्वभावले नेतृत्वमा सफलता पाउन कठिन हुने उनको बुझाई छ ।
पछिल्ला वर्षहरूमा देखिएका सामाजिक असन्तोष, आन्दोलन र आक्रोशलाई दीर्घकालीन समस्याको परिणामका रूपमा लिनुपर्ने उनको धारणा छ । ती समस्यालाई बेवास्ता गरे भविष्यमा अझ ठूलो विस्फोट हुन सक्ने चेतावनीसमेत उनले दिएका छन् ।
नेताहरू र नीति–निर्माताहरू बढी जिम्मेवार र संवेदनशील हुनुपर्नेमा उनको जोड छ । नेपाली फिल्म क्षेत्रलाई अझै पूर्ण रूपमा ‘उद्योग’ भन्न नसकिने उप्रेतीको धारणा छ । सरकारले सिनेमालाई उद्योगका रूपमा मान्यता नदिँदा कलाकार र निर्माता दुवै समस्यामा परेको उनको गुनासो छ ।
कलाकारितामा सफल हुन कुनै निश्चित सूत्र नहुने बताउँदै उनले मनदेखि यो क्षेत्रमा लागे एक न एक दिन सफलता मिल्ने विश्वास व्यक्त गरे । कलाकारले गाली र ताली दुवै इन्जोय गर्न सके मात्रै यस क्षेत्रमा टिक्न सकिने उनी बताउँछन् ।
प्रविधिको विकाससँगै कलाकारका आम्दानीका माध्यम बढेको भए पनि भविष्य सधैँ स्थिर नहुने यथार्थलाई स्वीकार गर्नुपर्ने उनको भनाइ छ । साथै आलोचना र प्रशंसालाई समान रूपमा लिन सक्ने कलाकार मात्र दीर्घकालीन रूपमा टिक्न सक्छ उनी भन्छन् । हरेक शुक्रबार कलाकारका लागि परीक्षा हुने गरेको उनी बताउँछन् । फिल्म चल्ला कि नचल्ला भन्ने डर सधैँ हुन्छ ।
फिल्मको व्यापारिक सफलताभन्दा पनि काम गर्दा प्राप्त हुने सन्तुष्टिलाई आफूले सधैँ प्राथमिकता दिएको उनी बताउँछन् । राम्रो कथा, राम्रो टिम र इमानदार प्रयास भए परिणाम आफैं आउने उनको विश्वास छ । नेपाली दर्शकको रुचि खासै परिवर्तन नभएको बताउँदै उनले पारिवारिक ड्रामा, कमेडी र एक्सन सधैँ दर्शकको रोजाइमा पर्ने बताए । सानो बजेटमा फिल्म बन्ने भएकाले दर्शकले पनि त्यहीअनुसार अपेक्षा लिएर हल जाने उनको बुझाइ छ ।
यति बेला उनी अभिनित नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ हलमा प्रदर्शनरत छ । फिल्म पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेको जानकारी दिँदै उनले यसले हरेक पुस्ताका दर्शकलाई प्रतिनिधित्व गर्ने बताए । निर्देशनमा जाने कुनै योजना नरहेको स्पष्ट पार्दै उप्रेतीले आफू कलाकारकै रूपमा राम्रो कथा र सक्षम टिमसँग काम गर्न चाहेको बताए । अभिनय नै आफ्नो पहिलो र अन्तिम रोजाइँ भएको उनको भनाइ छ ।
फेरि एकपटक नेपाली फिल्म क्षेत्रमा सक्रिय बनेका उप्रेतीको यो यात्राले दर्शकमा नयाँ अपेक्षा र उत्साह थप्ने नै छ । अनुभव, परिपक्वता र निरन्तर खोजको संगमका रूपमा उनी अहिले पनि नेपाली फिल्मका लागि भरोसा योग्य कलाकारका रूपमा उभिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।