अहिले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा एआई (कृत्रिम बुद्धिमत्ता) बाट सिर्जना गरिएका सामग्री तीव्र गतिमा भाइरल भइरहेका छन् । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता माध्यममा एआईले बनाएका फोटो, भिडियो र गीतहरू प्रशस्त देख्न सकिन्छ ।
कतै चर्चित कलाकारकै जस्तो सुनिने स्वरमा गीत तयार गरिएको छ भने कतै वास्तविक मानिसले बोलेझैँ देखिने भिडियोहरूले प्रयोगकर्तालाई अचम्मित मात्रै बनाइरहेको छैन भ्रमित पनि बनाइरहेको छ । धेरैका लागि यो प्रविधिको चमत्कार र मनोरञ्जनको नयाँ रूप बनेको छ। तर, रमाइलोपनको पछाडि कयौँ जोखिम छन्, अदृश्य प्रश्न र दीर्घकालीन प्रभाव पनि छन् ।
दर्शकहरूलाई झुक्याउने क्षमता राख्ने एआईनिर्मित गीतहरू सामाजिक सञ्जालमा भाइरल छन् । चाहे त्यो आदित्य श्रेष्ठको ‘पहिलो हाँसो पहिलो बोल सब याद छ...’ होस् या ‘पियारापियारी’को भाइरल टुक्का । यस खालका उदाहरण जति पनि दिन सकिन्छ । अझ युट्युब च्यानल नै खोलेर एआई गीत अपलोड गर्नेहरूको संख्या पनि बढ्दै छ । विशेषगरी सङ्गीत क्षेत्रमा एआईको बढ्दो प्रयोगले नयाँ सम्भावनाका ढोका खोलेको जस्तो देखिए पनि यसले कलाकारको रोजगारी, आम्दानी र पहिचानमै गम्भीर चुनौती भने थपिरहेको छ ।
अहिले एआईको प्रयोग गरेर नेपाली भाषामै गीत निर्माण भइरहेका छन्, जहाँ केही क्लिकमै शब्द, धुन र स्वर तयार हुन्छन्। यसले सिर्जनात्मक क्षेत्रमा सजिलो बनाए पनि वास्तविक कलाकारको मेहनत, अभ्यास, अनुभवलाई भने जोखिम पुर्याएको छ । एआई प्रणालीहरू प्रायः अघिल्ला गीत, कलाकारका आवाज, शैली र धुनहरू हुबहु हुन्छन् । यस क्रममा धेरैजसो कलाकारको अनुमति नलिइने, उनीहरूको सिर्जना तालिमका लागि प्रयोग गरिने र त्यसबाट नयाँ सामग्री उत्पादन गरिने विषयमा विश्वव्यापी रूपमा विवाद पनि बढ्न थालेको छ ।
ठूला अन्तर्राष्ट्रिय सङ्गीत उद्योगदेखि स्वतन्त्र कलाकारसम्मले एआई कम्पनीहरूविरुद्ध प्रतिलिपि अधिकार हनन भएको भन्दै आवाज उठाइरहेका छन्। नेपालमा भने त्यो अवस्था आइसकेको छैन । तर, कलाकारहरू एआईको प्रयोगले डिजिटल आम्दानी घटाउने हो कि भन्दै चिन्तित छन् । तथापि, एआइको प्रभाव भने बढ्दै गएको अनुभव गीतकार कृष्णहरि बरालले पनि गरिरहेका छन् ।
गीत मात्र होइन एआईबाट बनेका फोटो पनि केहीले चर्चा पाइरहेका छन् । एआइद्वारा निर्मित केही त्यस्ता सामाग्रीले नकारात्मक विषयवस्तु समेटेको भन्दै आलोचना पनि भइरहेका छन् । यता स्ट्रिमिङ सेवाहरूले एआईबाट उत्पन्न संगीतको आनन्द लिइरहँदा, कलाकारमा भने चिन्ताजनक अवस्था छ । किनकि एआईले वास्तविक मानव रचनालाई प्रतिस्थापन गर्न सक्छ, र संगीतकारहरूलाई बेरोजगार बनाउन सक्छ ।
युट्युब, स्ट्रिमिङ प्लेटफर्म र रोयल्टीबाट आउने आम्दानी नै धेरै नेपाली कलाकारको मुख्य आधार हो। तर अहिले एआईबाट बनाइएका गीतहरू पनि त्यही प्लेटफर्ममा अपलोड हुन थालेपछि श्रोताको ध्यान विभाजित भएको छ। कतिपय अवस्थामा एआई गीत चर्चित कलाकारकै जस्तो सुनिने भएकाले दर्शक–श्रोताले वास्तविक र कृत्रिम सिर्जनाबीचको भिन्नता छुट्याउन गाह्रो भइरहेको छ। यसले कलाकारको पहिचान कमजोर पार्ने मात्र होइन, उनीहरूको ब्रान्ड मूल्यमा समेत असर पार्ने खतरा देखिएको छ।
यससँगै बौद्धिक सम्पत्तिको प्रश्न झन् जटिल बनेको छ। कलाकारको स्वर, शैली र अभिव्यक्ति उनीहरूको व्यक्तिगत बौद्धिक सम्पत्ति हो। तर एआई तालिमका लागि ती सामग्री प्रयोग गर्दा कलाकारलाई न त जानकारी दिइन्छ, न त उचित क्षतिपूर्ति नै प्रदान गरिन्छ।
च्याटजीपीटी, कोपाइलट, सुनोजस्ता एआई टुल्सलाई ठूलो डेटामा तालिम दिइन्छ, जसले प्रयोगकर्तालाई एआईमार्फत गीत बनाउन सुविधा दिन्छन्।
यदि प्रयोगकर्ताले शुल्क तिरेर गीत बनाउँछ भने त्यसको प्रतिलिपि अधिकार प्रयोगकर्तालाई दिने व्यवस्था हुन्छ, तर निःशुल्क रूपमा बनाइएका गीतहरूको अधिकार भने प्लेटफर्म आफैंले राख्छ। यसले रोयल्टीको प्रश्नलाई झन् जटिल बनाएको छ किनकि प्रतिलिपि अधिकार जसको हुन्छ, रोयल्टी पनि प्राय उसैले पाउने हुन्छ।
यस अवस्थामा एउटा गम्भीर प्रश्न के छ भने एआईले कलाकारको आवाज र शैली प्रयोग गरेर बनाएको गीतको रोयल्टी कसले पाउने ? प्लेटफर्मले, प्रयोगकर्ताले कि स्रोत बनेका कलाकारले ? यसले दीर्घकालमा कलाकार पेसाप्रति युवाहरूको आकर्षण घट्ने खतरा पनि बोकेको छ। जब सिर्जनशील श्रमको उचित मूल्यांकन हुँदैन, तब त्यो पेशा टिकाउ रहन नसक्ने पो हो कि भन्ने प्रश्न पनि छ ।

गीतकार बरालका अनुसार नयाँ प्रविधिहरूसँगै परिवर्तन हुन जरुरी छ । केही हदसम्म एआई सिर्जित गीतहरूले असर पारे पनि कलाकारहरू बेरोजगार नै बन्नुपर्ने अवस्था भने नआउने उनको तर्क छ ।
कतिपय कलाकारहरू सीमित अवसर र अस्थिर आम्दानीमा निर्भर छन्। त्यसमाथि एआईले उनीहरूको स्थान ओगट्न थालेमा यसको सामाजिक र सांस्कृतिक प्रभाव अझ गम्भीर हुन सक्छ। सबैभन्दा ठूलो डर भनेको एआईले वास्तविक मानव रचनात्मकतालाई प्रतिस्थापन गर्ने सम्भावना हो। एआई प्रविधि झन् स्मार्ट र सक्षम बन्दै जाँदा, यसले जटिलता र भावनात्मक प्रभाव दुवैमा मानव कलाकारसँग प्रतिस्पर्धा गर्न सक्ने कल्पना असम्भव छैन ।
एआई प्रविधि यति सक्षम भइसकेको छ कि यसले कुनै पनि वाद्य यन्त्र वा कलाकारको स्वर सजिलै नक्कल गर्न सक्छ। कलाकारको सहमति बिना उनीहरूको आवाज प्रयोग गरेर नयाँ गीत बनाइनु केवल नैतिक रूपमा गलत मात्र होइन, कलाकारको पहिचान, छवि र अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप पनि हो।
तर, एआईको प्रयोगलाई पूर्णरूपमा अस्वीकार गर्नु समाधान नभई नयाँ प्रयोग, स्वतन्त्र सिर्जनाकर्ताका लागि पहुँच विस्तार, र प्रविधिसँग सहकार्यको सम्भावनालगायत सङ्गीत उत्पादनमा एआईले केही सकारात्मक अवसर पनि ल्याएको छ । यसको प्रयोग पारदर्शी र न्यायोचित तरिकाबाट हुन आवश्यक छ । कलाकारको अनुमति, उचित क्षतिपूर्ति, स्पष्ट प्रतिलिपि अधिकार व्यवस्था र रोयल्टीको सुनिश्चितता बिना एआईको प्रयोगले मनोरञ्जनभन्दा बढी खतरा बोकेको देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।