६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

सन् २०२५ मा नेपालमा सर्वाधिक कमाई गर्ने १० विदेशी चलचित्र

सन् २०२६ मा प्रवेश गरिसक्दा २०२५ मा नेपाली फिल्म उद्योगले मिश्रित अनुभव बटुलेको छ । अपेक्षा गरिएजस्तो समग्र व्यापार गर्न नसके पनि केही नेपाली फिल्महरूले भने सुखद व्यापार गरेका छन् । ‘परान’, ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ जस्ता फिल्मले आक्रामक व्यापार गर्दै विदेशी फिल्मसँग प्रतिस्पर्धा गरे । ‘परान’ ले मात्र नेपालभर १७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्दै नेपाली फिल्मको व्यावसायिक सम्भावनालाई पुनः प्रमाणित गर्यो ।

तर हलमा विदेशी फिल्म पनि कमजोर रहेनन् ।  विशेषगरी बलिउड फिल्मको उपस्थितिले नेपाली बक्सअफिसलाई निरन्तर चलायमान बनाइराख्यो, यद्यपि, हलिउड फिल्मको व्यापार  भने अपेक्षाकृत हुनसकेन । यो सामग्रीमा सन् २०२५ मा नेपालमा प्रदर्शन भएका विदेशी फिल्ममध्ये सबैभन्दा धेरै कमाइ गर्ने शीर्ष १० फिल्मबारे चर्चा गर्नेछौँ । 



कान्ताराः च्याप्टर-१

सन् २०२५ मा नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको पहिलो नम्बरमा ‘कान्ताराः च्याप्टर १’ पर्न सफल भयो । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार यस फिल्मले नेपालभर १२ करोड ३६ लाख ६१ हजार रुपैयाँ ग्रस कलेक्सन गर्याे ।



कुल ३ लाख ८३ हजार ४३९ टिकट बिक्री गर्दै यो फिल्म धेरै कमाई गर्ने शिर्ष स्थानमा पर्न सफल भएको हो । २ अक्टोबरमा रिलिज भएको यो फिल्मले विश्वभर ८५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गर्दै अन्तर्राष्ट्रिय स्तरमै सफलता हात पारेको थियो ।

ऋषभ शेट्टीद्वारा लिखित तथा निर्देशित यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’को प्रिक्वेल हो, जसमा दैवी शक्ति, लोककथा र संस्कृतिको मिश्रण दर्शकलाई आकर्षित गर्न सफल भयो। ऋषभसँगै गुलशन देवैया, जयराम र रकिमिनी वसन्तको अभिनयले पनि फिल्मलाई बलियो बनाएको हो ।

सैयारा

दोस्रो स्थानमा रहेको फिल्म हो प्रेमकथानक बलिउड फिल्म ‘सैयारा’ । अहान पाण्डे र अनीत पड्डाको मुख्य भूमिका रहेको यस फिल्मले नेपाली बक्सअफिसमा १० करोड २० लाख २८ हजार रुपैयाँ कमाउन सफल भयो । जहाँ ३ लाख ३६ हजार ३६६ टिकट बिक्री भएको थियो ।



यो तथ्यांकले नयाँ कलाकार भए पनि दर्शकको विश्वास जित्न सफल भएको देखाउँछ । यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। ‘आशिकी २’, ‘एक भिलेन’ जस्ता सफल प्रेमकथाबाट परिचित सुरीले नयाँ पुस्ताका कलाकारलाई लिएर पनि सफल परिणाम निकाल्न सके। विश्वव्यापी रूपमा फिल्मले ५८० करोड भारतीय रुपैयाँ कमाएको थियो ।

धुरन्धर

तेस्रो नम्बरमा ५ डिसेम्बरमा रिलिज भएको एक्सन फिल्म ‘धुरन्धर’ रहेको छ । नेपालमा मात्र यस फिल्मले हालसम्म ९ करोड ३ लाख २६ हजार रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । जसमा  २ लाख ७५ हजार ५०५ टिकट बिक्री भइसकेका छन् । यही रफ्तार कायम रहेमा १० करोड पार गर्ने अनुमान गरिएको छ ।

रणवीर सिंह अभिनीत यो फिल्मले विश्वभर एक हजार करोडभन्दा बढी कमाइ गर्दै सन् २०२५ को सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको उपाधि समेत जित्यो । आदित्य धर निर्देशित यस फिल्ममा संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुनलगायत कलाकारको सशक्त अभिनय छ । यसको दोस्रो भाग सन् २०२६ को मार्चमा आउने घोषणा भइसकेको छ ।

हाउसफुल-५

चौथो स्थानमा अक्षय कुमारको कमेडी फ्रेन्चाइज फिल्म ‘हाउसफुल ५’ रहेको छ । नेपालमा मात्र यस फिल्मले ४ करोड ९५ लाख ५ हजार रुपैयाँ व्यापार गर्याे । १ लाख ५९ हजार ३२२ टिकट बिक्री भएको यो फिल्म तरुण मनसुखानीको निर्देशनमा बनेको हो । साजिद नाडियाडवालाको निर्माणमा तयार भएको फिल्ममा अक्षयसँगै रितेश देशमुख, अभिषेक बच्चन, संजय दत्त, नाना पाटेकरलगायत कलाकारको अभिनय छ । जसले दर्शकलाई हलसम्म तान्न महत्वपूर्ण भूमिका खेल्यो ।

अवतारः फायर एन्ड एस

पाँचौँ स्थानमा जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स फिक्सन फिल्म ‘अवतारः फायर एन्ड एस’ रहेको छ। १९ डिसेम्बरमा रिलिज भएको यस फिल्मले नेपालमा  १ लाख १५ हजारभन्दा बढी टिकट बिक्री गर्दै ४ करोड ७१ लाख ४९ हजार रुपैयाँ कमाएको छ । सन् २००९ को ‘अवतार’ र २०२२ को ‘अवतारः द वे अफ वाटर’पछि आएको तेस्रो शृंखलाले हलिउडको प्रतिष्ठा त जोगायो, तर नेपालमा बलिउडजति प्रभाव भने देखाउन सकेन ।

वार-२

छैटौँ नम्बरमा ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत ‘वार २’ रह्यो। १५ अगस्टमा रिलिज भएको यस फिल्मले नेपालमा ३ करोड ८६ लाख ७५ हजार रुपैयाँ ग्रस कलेक्सन गर्याे । १ लाख १८ हजार ४५६ टिकट बिक्री भएको यो फिल्म अयान मुखर्जीको निर्देशनमा बनेको हो र यशराज फिल्म्सको स्पाई युनिभर्सको हिस्सा हो । जुनियर एनटीआरको हिन्दी डेब्यू भएकाले पनि फिल्मप्रति दर्शकको चासो देखियो।

तेरे इश्क में

सातौँ स्थानमा धनुष र कृति सेनन अभिनीत ‘तेरे इश्क में’ रह्यो। आनन्द एल राय निर्देशित यस प्रेमकथाले नेपालमा ३ करोड ६२ लाख १० हजार रुपैयाँ कमायो । ३० नोभेम्बरबाट प्रदर्शनमा आएको फिल्ममा धनुष र कृतिको जोडी केमेस्ट्रीलाई दर्शकले निकै रुचाए, जसको प्रभाव टिकट बिक्रीमा पनि देखियो ।

सितारे जमिन पर

आठौँ नम्बरमा रहेको छ आमिर खानको ‘सितारे जमिन पर’ । नेपालमा यस फिल्मले ३ करोड २४ लाख ७६ हजार रुपैयाँ कमायो र ९७ हजारभन्दा बढी टिकट बिक्री भयो । आरएस प्रसन्ना निर्देशित यो फिल्म स्पेनिस फिल्म ‘च्याम्पियन्स’को रिमेक हो, जसमा प्रेरणादायी कथा वस्तुले दर्शकको मन जित्यो ।

सिकन्दर

नवौँ स्थानमा सलमान खान स्टारर ‘सिकन्दर’ रह्यो । नेपालमा ३ करोड २० लाख रुपैयाँ कमाएको यस फिल्ममा रश्मिका मन्दानाको पनि मुख्य भूमिका छ। एआर मुरुगादासको निर्देशनमा बनेको यो एक्सन फिल्मले सलमानका फ्यानलाई हलसम्म तान्यो ।

थामा

दशौँ स्थानमा आयुष्मान खुराना र रश्मिका मन्दानाको हरर कमेडी फिल्म ‘थामा’ परेको छ । म्याडक फिल्म्सको ब्यानरमा बनेको यस फिल्मले नेपालबाट २ करोड ५० लाख रुपैयाँ कमायो । ‘स्त्री २’ टिमद्वारा निर्मित यस फिल्मलाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिल्यो।

समग्रमा हेर्दा, सन् २०२५ मा नेपालमा विदेशी फिल्मको व्यापारमा बलिउडको दबदबा देखियो। केही हलिउड फिल्मले उपस्थिति जनाए पनि कमाइको हिसाबले भारतीय फिल्म अगाडि रहे । नेपाली फिल्मले पनि बलियो प्रतिस्पर्धा देखाएको यो वर्ष नेपाली बक्सअफिसको लागि सन्तुलित र महत्वपूर्ण सावित भएको छ ।

  • प्रकाशित मिति : १९ पुस, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया