साझा यातायातका पाँच सय विद्युतीय कार्ड बिक्री

काठमाडौं– साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । 

नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा सुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ । 

यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरिद गर्न सक्छन् । नयाँ कार्ड खरिद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए । उनले भने, ‘रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।’

कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा सुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताए । 

नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुर्याइरहेको उनले बताए । उनले भने, ‘यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।’
    
नेपालमा सार्वजनिक यातायातमा नयाँ–नयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौं उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । 

साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको सेयर खरिद गरिरहेका छन् । 





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १५:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया