प्रचण्ड छटपटीका ५ कारण

काठमाडौं– केही समय यता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार नेपाली राजनीति तरङ्गित हुने अभिव्यक्ति दिइरहेका छन् । केही अघिमात्र उनले आफ्नो र नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच आलोपालो सरकार बनाउने सहमती भएको बताएर सत्तारुढ दलभित्र ठूलो खैलाबैला उत्पन्न गराइदिए । 

केही दिनअघि भरतपुर महानगरपालिकाको चौथों नगरसभा सम्बोधन गर्दा पनि उनले भनेका थिए, ‘अहिले नै मलाई प्रधानमन्त्री नभन्नुस् न साथीहरु, मुखैमा आएको कुरा पनि फुत्किएलाजस्तो हुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्रीज्यु भनेर सम्बोधन गर्नेहरुलाई उनको यस्तो जवाफ थियो । 

यता, पार्टी एकता पूर्ण रुपमा नसकिएकोले प्रचण्डले आफ्ना कार्यकर्तालाई आश्वस्त पार्न पार्टी एकता प्रक्रिया छिट्टै सकिने पनि बताउँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टीका एक नेताका अनुसार यो उनले केवल आफ्ना कार्यकर्तालाई आश्वस्त पार्न बताएका हुन् । 

तर, पछिल्ला केही समययता प्रचण्डले जसरी विभिन्न विषयमा अभिव्यक्ति दिइरहेका छन्, ती नेकपा पार्टीमा भएका विविध समस्यालाई उजागर गर्न पर्याप्त छन् । 

आखिर अहिले आएर प्रचण्डमा किन यो छटपटी देखिएको छ त ? हामीले नेकपाकै केही सांसद् तथा नेताहरुसँग यो कुरा गरेका थियौँ । त्यसमध्ये अधिकांशले आफ्नो नाम नखुलाइदिनु अनुरोध गरे । यसको कारणमा उनीहरुको तर्क थियो– बेकारमा पार्टीभित्र वैरी भइन्छ, यो फेरि यस विषयमा बोल्ने समय पनि होइन । 

उनीहरुसँग गरेको कुराकानीमा हामीले प्रचण्डका छटपटीका ५ कारण निकालेका छौँः 



 

१) ओलीले सहमती पालना गर्दैनन् भन्ने विश्वास



तत्कालीन माओवादी र तत्कालीन एमाले एकीकरण हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अरु नेताहरुलाई ‘साइड लगाएर’ छुट्टाछुट्टै सहमती गरेका थिए । उनीहरुबीच भएको सहमती अहिले बाहिर आइसकेको छ । त्यो सहमतीअनुसार यी दुईले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा छ । त्यही अनुसार पहिले प्रधानमन्त्री बनेका ओलीले अब सरकार छाड्लान् भन्ने विश्वास प्रचण्डले गुमाइसकेका छन् । 

‘उहाँको मनमा डर पलाइसकेको छ,’ एक नेताले भने, ‘उहाँ अब ओलीले सरकार छाड्दैनन्, आफूले नेतृत्व गर्न पाउँदिनँ भन्नेमा हुनुहुन्छ ।’ केही समयअघिसम्म प्रचण्ड खासै बोलेका थिएनन्, उनी मिडियाहरुबाट पनि टाढा बस्दै आएका थिए । तर, जब पार्टीमा जिल्ला संगठनहरुको नेतृत्व चयनको काम सकियो, त्यसपछि प्रचण्ड बोल्न थाले । 

‘प्रचण्डले अहिले बोलेका कुरा तत्कालका उनका अभिव्यक्ति मात्र होइनन्,’ ती नेताले भने, ‘यो लामो समयदेखि उनको मनमा रहेको कुरा हो, त्यसलाई उनले अहिले अभिव्यक्त गरेका मात्र हुन् ।’ ती नेताले निष्कर्ष निकालेका छन् प्रचण्ड सत्तामा पुग्न चाहन्छन् तर तत्कालका लागि यो कुरा असम्भव भएको आभास गरिसकेका छन् । 

 

२) पार्टीमा कमजोर भएको आभास

नेपाल कम्युनिस्ट पार्टीका सह–अध्यक्ष हुन्, पुष्पकमल दाहाल प्रचण्ड । सरकारको नेतृत्व गरिरहेको यही पार्टीले पछिल्लो समय सदनमा विभिन्न विधेयक प्रस्तुत गरिरहेको छ । सरकारका अनेक निर्णय आइरहेका छन् जसले आम नेपालीमा ठूला तरङ्ग पनि ल्याइरहेको छ । तर, अधिकांश यस्ता कुरामा प्रचण्ड बेखबर छन् । 

‘आफूसँग कतिपय कुराहरु छलफल गरिएनन् भन्ने निष्कर्ष निकालेकाले पनि हुनुपर्छ,’ नेकपाका अर्का एक नेताले भने, ‘प्रचण्ड कमरेड आफ्नो अस्तित्व कमजोर हुँदै गएकोमा चिन्तित हुनुपर्छ ।’ पार्टीमा आफ्नो स्थान कहाँ हुने भन्नेमा पनि प्रचण्ड द्विविधामा रहेका छन् । पार्टीमा अन्य नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम तथा झलनाथ खनालहरु पनि प्रभावशाली रहेको र ओलीविरुद्ध मोर्चाबन्दीमा आफूलाई पनि अब्बल ठहराउनु पर्ने सोचका कारण पनि प्रचण्ड पछिल्लो समय छटपटिएका हुन् । 

 

३) आफ्नै विश्वास पात्र टाढिएको आभास

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय आफ्नै विश्वासपात्रहरु टाढिएको आभासका कारण पनि चिन्तित छन् । विशेषगरि सरकारका गृहमन्त्री रामबहादुर थापा बादल आफूबाट टाढिँदै गएको आभास प्रचण्डले गरेका छन् । ‘बादलसँग प्रचण्डको कुराकानी नै हुन छाडेको लामो समय भइसक्यो,’ नेकपाका अर्का एक नेताले भने, ‘प्रचण्ड पार्टी एकतापछि आफू टाढिएको मानिरहेका छन् । उनी आफ्नै विश्वासपात्रहरुले पनि आफूलाई छाडेर गएको सोचमा छन् । यो कुरा वास्तविक भएको आभास भएपछि उनी अहिले यस्ता विभिन्न अभिव्यक्ति दिएर हिँडिरहेका छन् ।’

त्यसो त नेपाल कम्युनिष्ट पार्टीकै अरु नेताहरु पनि पार्टीमा प्रचण्ड कमजोर भएको बताउँछन् । पूर्व एमालेका नेता तथा अहिले सांसद्समेत रहेका एक नेताले भने, ‘यो स्वाभाविक पनि हो, एकताका लागि सहमती हुँदा पनि उहाँहरुको स्पेस अलिक कमजोर थियो ।’

अर्कोतिर प्रधानमन्त्री ओली स्वयं पनि पार्टीमा आफ्नो पकड अझ बलियो बनाउन आफ्ना नजिकका नेताहरुलाई प्रचण्ड वा हिजोको माओवादीविरोधी अभिव्यक्ति दिन उस्काइरहेका छन् । 

 

४) माधव नेपालले आफूलाई समर्थन गर्लान् भन्ने विश्वास 

अहिले नेपाल कम्युनिस्ट पार्टीमा गजबको समीकरण अगाडि बढिरहेको छ । यसमा नेता माधवकुमार नेपाल ‘निर्णायक’ भूमिकामा छन् । उनले ओली वा प्रचण्ड जसलाई समर्थन गर्छन्, त्यही नेता पार्टीमा बलियो हुने सम्भावना बढेको छ । 

ओलीविरुद्ध लामो समयदेखि मोर्चाबन्दी गरिरहेका नेता नेपालले आफूलाई समर्थन गर्लान् भन्ने विश्वास प्रचण्डले लिएका छन् । यही विश्वासका कारण र पार्टीको सचिवालयमा आफू बलियो हुनेछु भन्ने विश्वासका कारण प्रचण्डले अहिले आक्रामक भएका हुन् । उनको छटपटी यो समीकरणलाई आफू अनुकूल बनाउने र अझ बलियो बनाउने कुराले पनि निर्देशित गरेको छ । 

 

५) ‘फलाम तातेको बेला प्रहार गर्नु’

अङ्ग्रेजीमा एउटा भनाइ निकै प्रसिद्ध छ, ‘हिट ह्वेन द आइरन इज हट’ । अहिले केपी ओली सरकारविरुद्ध र पार्टीमा उनको नेतृत्वविरुद्ध अनेक टिकाटिप्पणी भइरहेका छन् । ओलीविरुद्ध पार्टीभित्रै, संसद र सरकारमा पनि मोर्चाबन्दी भइरहेको यो समयलाई सही सदुपयोग गर्न चाहन्छन् प्रचण्ड । उनी पार्टीमा ओलीविरुद्ध आएका आक्रोशलाई अझ बलियो होस् भन्ने ध्याउन्नमा छन् । 

अहिले आम जनता, संसद्ले पनि ओलीको आलोचना गरिरहेकाले यसलाई सही समयको मूल्याङ्कनका रुपमा लिएका छन्, प्रचण्डले । त्यसैले उनी यो समयलाई सदुपयोग गर्न चाहन्छन् । ‘उहाँले मौकाको फाइदा उठाउन खोजेको प्रष्ट बुझिन्छ,’ नेकपाका एक नेताले भने, ‘त्यही फाइदालाई उहाँ प्रयोग गरिरहनु भएको छ । यही सही समय भएको उहाँको बुझाइका कारण पनि उहाँको छटपटी बाहिर सतहमा आएको हो ।’
 

  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार २१:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया