२४ फागुन, २०८२ आइतबार
March 8, 2026

धनुषामा झडप हुँदा ८ जना घाइते,  प्रहरीद्वारा १६ सेल अश्रुग्यास प्रहार

धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रम अगाडि झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी गणेश बमले जानकारी दिए ।



आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरूको एकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ ।

सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् । सोही विषयलाई लिएर स्थानीयवासीहरुको एक समूह आज आश्रम पुग्दा आश्रमका अनुयायीहरुसँग झगडा हुन पुगेको थियो ।



सोही क्रममा दुवै पक्षका दर्जन बढी व्यक्तिहरु घाइते भएका छन् । केहीको टाउको फुटेको छ भने केही स्थानीयको हात र खुट्टामा चोट लागेको छ । अहिले स्थानीयहरुले मुख्य सडक अवरुद्ध गरेका छन् । जस कारणले आवतजावत गर्ने सयौं मालवाहक ट्रक, यात्रुवाहक बस र हलुका सवारी साधनहरु बाटोमै घेरिएका छन् ।

धनुषा प्रहरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : २६ पुस, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया