६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

सरल छविका थिए प्रशान्त, गायन र अभिनयमा अविस्मरणीय दिएर गए योगदान

प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपाली भाषीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो । आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक अरेष्ट’ कारण उनले संसार छाडे । आइतबार बिहानीकै समयमा उनीबारे सुनिएको यो खबरमा दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी निशब्द छन् ।  

नेपाली भाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता पाउँछ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ । उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपाली भाषीले सहभागिता जनाउने र विजेता बन्ने क्रमले अहिलेसम्म निरन्तरता पाएको छ । ‘इण्डियन आइडल’ को अन्तिम १२ मा परेपछि उनको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भउको थियो । 



गायक तामाङ उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी जोडिए । नेपाली भाषीले त्यो समयमा पाएको त्यो ठूलो सफलता रहेकाले दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले सम्झिन्छन् । 

उनी भन्छन्, ‘अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङमा गएर कार्यक्रम गर्यौ, हाम्रो उदेश्य प्रशान्तलाई विजेता बनाउनु थियो, हामीले त्यहाँ कार्यक्रम गर्ने र सो रकम मत दिन खर्च गर्न थाल्यौं ।” उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेविड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत त्यहाँ पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईसहित सहभागी भए ।



‘हामीले उदयीमान कलाकारलाई लगेर कार्यक्रम गरेर सहयोग जुटाउने गरेका थियौँ, त्यसको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो, त्यसपछि अभियान कै रुपमा त्यो अगाडि बढ्यो”, निर्माता घतानीले भने । उनले गायक तामाङलाई अन्तिम तीनमा परेपछि घर आएको समयमा भेटेका थिए  । अन्तिम तीनलाई गृह जिल्लामा लैजाने ढाँचा उक्त कार्यक्रमको थियो । सोहीअनुसार घर आउँदा गायक तामाङ र निर्माता घतानीको भेटघाट भयो । त्यो सामीप्यता विस्तारै बढ्दै गयो र दाजुभाइको सम्बन्धमा परिणत भयो । 

“उहाँ (प्रशान्त) विजेता भएपछि मैले केही राखेको थिएँ, निकै सरल र शान्त स्वभाव थियो, हामी विस्तारै यति नजिक भयौ की पारिवारिक कुराहरू हुन् थाल्यो, उहाँ एक असल र इमान्दार मान्छे, उहाँका बारेमा व्यक्त गर्ने शब्द नै छैनन्,’ निर्माता घतानीले भने ।

पाश्र्वगायकको रूपमा चलचित्रसँग जोडिएपछि गायक तामाङले अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ बाट सुरुआत गरेका थिए । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । 

त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरेका छन् । गएको ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो । 



अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायकभन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा भयो । 

त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र विसं २०८३ को वैशाख ४ मा प्रदर्शन हुँदै छ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए । 

उनी दिल्लीस्थित घरमा आराम गरिरहेका थिए, जहाँ उनले अन्तिम सास लिए । कोभिड–१९ का कारण आफ्नो आमा गुमाएपछि उनी परिवारलाई धेरै समय दिन्थे । निर्माता घतानीका अनुसार उनकी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर नै समय बिताउने गर्थे । श्रीमती एयरहोस्टेस भएका कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि गायक तामाङकै थियो । 

‘आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन, कार्यक्रमकै प्रस्ताव आउँदा श्रीमती काममा छिन् र बिदा मिलेको छैन भनेर अस्वीकार गर्ने गर्नुहुथ्यो, छोरीमा उहाँले आमाको प्रतिबिम्व देख्ने गरेको बताउनुहुन्थ्यो,’ निर्माता घतानीले भने । 

कोभिड–१९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयं कोभिडको बिरामी थिए । आफ्नो आमाको अन्त्येष्टिमा सहभागी हुन् नपाएको पीडा उनको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उनको स्वभाव थियो । उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका गरेका थिए । सन् २०२२ मा उनको छोरीको जन्म भएको थियो ।

उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिँदै छ । दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट गायक तामाङको शवलाई दार्जिलिङ पुर्याइएको छ । सरल छविका प्रशान्त अब सम्झनामा मात्रै रहनेछन् भने उनका गीतहरूभने गुन्जी रहनेछन् । 

  • प्रकाशित मिति : २८ पुस, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया