जो शव जलाएर जीवन धानिरहेछन्

काठमाडौंस्थित पशुपतिनाथ क्षेत्रमा हरेक दिन हजारौं मान्छे पुग्छन् । मन्दिरको दर्शन गर्नबाहेक विभिन्न कामका लागि पनि पशुपतिमा मान्छेको भीड हुन्छ । मान्छेको भीडसँगै जुधिरहेको पशुपति क्षेत्रमा त्यस्ता कैयौं मानिस छन् जसले अरूको जीवनको समाप्तिमा आफ्नो जीवनको रथ चलाइरहेका छन् ।

पशुपतिनाथस्थित भस्मेश्वर घाटमा दैनिक कैयौें लास जल्छन् । त्यहाँ लास जलाउने ‘पेसा’ बनाएर बसेकाहरु पनि छन् । यसरी लास जलाएर आफ्नो जिन्दगी चलाउनेमध्येका एक हुन्, पूर्णप्रसाद रिजाल । विगत आठ वर्षदेखि उनको दैनिकी यही घाटको वरिपरि बितिरहेको छ । 

२०३६ सालमा हेटौंडामा जन्मिएका पूर्णले सानैमा मृत्युसँग साक्षात्कार गरे । बाल्यकालमै आमा गुमाएका उनी आठ वर्षको उमेर हेटौंडाबाट दिदी–भिनाजुको साथ लागेर काठमाडौं आए । 

काठमाडौंमा रहँदाबस्दा एक दिन भिनाजुले पशुपतिनाथस्थित आर्यघाटमा लास जलाउने काम गरेको पूर्णले थाहा पाए । घरको आर्थिक स्थिति कमजोर थियो । आर्थिक अभावकै कारण पढ्न नपाएपछि जीवनको तय नै अर्कै भएको बताउँछन् उनी । भन्छन्, ‘स्कुल गएर राम्रो पढ्न पाएको भए अहिले यो ठाउँमा हुन्नथें ।’

आर्थिक अभावका कारण पढ्नबाट वञ्चित उनले भारतका विभिन्न उद्योगमा काम गरे । त्यो समय सम्झिँदै पूर्ण भन्छन्, ‘दैनिक १४–१५ घन्टा काम गर्नुपथ्र्यो ।’ चार वर्षसम्म भारत बसेपछि जन्मभूमि फर्किए । अनि हेटौंडास्थित एउटा स्कुलमा पियनको काम सुरु गरे । 

पूर्ण भन्छन्, ‘सोचेको कम र नसोचेको ज्यादा भइदियो जीवनमा ।’ पियनको काम गर्दा घर चलाउन पयाप्त आम्दानी थिएन । तीन वर्षसम्म पियनको काम गरेपछि फेरि काठमाडौं आए । कुनै काम हात लागेको थिएन । साथमा थिइन् श्रीमती । पूर्ण भन्छन्, ‘आफू मात्र भएको भए जे गरेर पनि बाँच्थें, तर मसँग अर्को मान्छेको जीवन पनि थियो ।’ अनि सुरु भयो उनको घाट जिन्दगी ।



पूर्ण बाह्र वर्षअघि पहिलोपटक पशुपतिमा कामदारको रूपमा छिरे । त्यो बेला उनको काम थियो, अरू कसैको क्रियापुत्री भएर बस्ने । मासिक तलब ६ हजार । अहिले बढेर ३५ हजार पुगेको छ ।



क्रियापुत्रीको रूपमा छोराले बार्नुपर्ने हिन्दू संस्कार हो । उनी कहिल्यै नचिनेको÷नजानेको मान्छेको छोरा बनेर बसे । क्रियापुत्रीको रूपमा बस्दा कैयौं आमाबाबुका छोरा बने । उनी भन्छन्, ‘कतिका छोरा हुँदैनथे, कतिका भएर पनि आफू बार्दैनथे । उनीहरूको साटो आफू बस्दा निकै नरमाइलो लाग्थ्यो ।’ 

आमा गुमाउँदाको क्षण आफूलाई थाहा नभए पनि अरूको छोरा बनेर बस्दा उनले त्यो अनुभूति गरे । ‘पैसाका लागि काम गरेको भए पनि आफ्नै परिवारको क्रिया गरेजस्तो लाग्थ्यो मलाई,’ पूर्ण भन्छन्, ‘अरू कसैको मरणमा काजक्रिया बार्दा सजिलो कसरी हुन्छ होला र ?’

मासिक ६ हजार रुपैयाँले घरपरिवार चलाउन पुग्दैनथ्यो । क्रियापुत्री बस्ने काम गर्दा घाटमा मान्छे जलाउने काममा धेरै पैसा हुने थाहा पाए । चार वर्षसम्म क्रियापुत्रीको काम गरेपछि लास जलाउने काम सुरु गरे उनले । 

त्यसपछि उनको दैनिकी बदलियो । हरेक दिन बिहान ६ बजे उठेर घरायसी काम गर्न थाले । आठ बजेसम्ममा जोरपाटीस्थित कोठाबाट पशुपति आई आफ्नो काममा लाग्न थाले ।

एउटा लास जलाएको १ हजार ८० रूपैयाँ पाउथे । पहिलोचोटि लास जलाएको सम्झिँदैं भन्छन्, ‘त्यो बेला कस्तो लाग्यो भन्न सक्दिनँ ।’

मान्छे मर्नु र जलाइनु पक्कै राम्रो होइन । झन् पेसा नै त्यही बनाउनु कम गाह्रो कुरा थिएन । हरेक समय अरूको लास जलाउनुको पीडा जलाउनेलाई मात्र थाहा हुने बताउँछन् पूर्ण । 

कहिलेकाँहीँ यस्ता लास पनि आए जसलाई देखेपछि उनको मन रुन सुरु गथ्र्यो । उनी भन्छन्, ‘खाने बाटो यही भएपछि मनलाई गाँठो पारेर काम गर्नुपर्ने रहेछ ।’

ससाना बालबालिका तथा तिनका आमाबुबालाई जलाउन निकै गाह्रो हुने भएको बताउँछन उनी । उनी भन्छन्, ‘साना बच्चाका बाआमालाई जलाउँदा ती बच्चाको आँसुले पोलेको जस्तो लाग्थ्यो । उनीहरूको भविष्य सोच्थें । आँखाभरि आँसु आउँथ्यो ।’ आफूलाई जति नै दुःख लागे पनि जलाउनैपथ्र्यो । त्यो बेलाको मनमा हुने पीडालाई भन्न नसक्ने बताउँछन् पूर्ण । 

दैनिकी घाटमा नै बिते पनि घर फर्किएर नुहाएपछि घाटको जीवन बिर्सिने बताउँछन् पूर्ण । ‘सुरुसुरुमा अलि गाह्रो भयो, खाना खाँदा आफूले जलाएको लास झल्झली आँखामा आउँथ्यो,’ उनी भन्छन्, ‘बिस्तारै बानी पर्ने रहेछ । अहिले त्यहाँका कुरा त्यहीँ सीमित हुन्छन् ।’

पूर्णको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । मान्छे जलाउने पेसामा आउनुअघि घर सम्हाल्न गाह्रो भएकाले पनि उनलाई श्रीमतीले त्यो काम गर्दा केही भनिनन् । बरु हरेक दिन खाना लिएर आउने गरेकी छिन् । 

‘पढाइ नभएपछि राम्रो काम पाइँदैन । मजदुरी गर्न शरीरले पनि सक्दिनँ । घर चलाउन पर्याप्त कमाइ पनि हुँदैन,’ लास जलाउन पेसामा आउनुको कारण बताउँछन् पूर्ण । घरमा काम गर्ने आफू मात्र भएकाले पनि घर चलाउन गाह्रो छ । दैनिक रूपमा कम्तीमा दुईवटा लास जलाउँदा मासिक तीस हजारजति कमाइ हुने गरेको उनी बताउँछन् ।

आफूले जलाएका मान्छेहरू विभिन्न वर्गको भएको सम्झिन्छन उनी । साना वर्गदेखि राज्यको ठूलो पदमा रहेको मान्छेलाई पनि आफूले स्मरण छ उनीसँग । ‘मान्छे मरेपछि सबै एउटै हुँदा रहेछन्,’ उनी भन्छन् ।

लास जलाउने पेसामा आएपछि सबैभन्दा गाह्रो भएको समय सम्झिन्छन् पूर्ण । २०७२ को भूकम्पको बेला एउटै चितामा तीनवटासम्म लास जलाएका थिए उनले । ‘त्यो बेला मान्छेको लास जलाएको सम्झिँदा अहिले आफूलाई डर लाग्छ ।’ उनी भन्छन्, ‘यत्ति धेरै लास थिए कि कैयौंपटक त लासहरूको बीचमा खाना खाएको थिएँ ।’ 

‘आमाबाबु मरेका बालबालिका देख्दा निकै नरमाइलो लाग्थ्यो,’ उनी भन्छन्, ‘मर्ने मरेर गएसकेपछि बाँच्नेले भोगिरहेको पीडा देख्दा भित्री मन कत्ति रुन्थ्यो ।’ त्यो बेला कैयौं लास विना पारिश्रमिक नै जलाएको बताउँछन् उनी । 

कहिलेकाँही छोराछोरीको मृत्युमा आमाबाबु चितामा नै झम्टिन जाने कुरा बताउँछन पूर्ण । उनी भन्छन्, ‘यस्तो समयमा आफैंलाई सम्हाल्न पनि निकै गाह्रो हुन्छ ।’

सामान्य रूपमा मान्छे घाट र चिता भनेपछि डराउने गर्छन् । हरेक दिन यही परिवेशमा बाँचिरहेका पूर्ण घाटसँगको डर नरहेको बताउँछन् । उनलाई लास जलाउने कामको सुरुवातमा केही डर लागे पनि अहिले बानी भएपछि त्यस्तो केही नहुने बताउँछन् । उनी भन्छन्, ‘मान्छेले घाटमा तर्साउने, भूतप्रेत हुने भन्छन्, तर कहिल्यै पनि मैले त्यस्तो देखेभेटेको छैन ।’

एउटा लासबराबर पशुपति घाट व्यवस्थापन गर्ने संस्थाले १२ सय लिएर जलाउनेलाई एक हजार ८० रुपैयाँ दिने गरेको छ । आफूले जतिमा काम गर्न सुरु गरेका थिए अहिले पनि पूर्ण उति नै परिश्रमिकमा काम गरिरहेका छन् । समयसँगै हरेक कुरा बदलिए पनि आफ्नो पारिश्रमिक अझै उस्तै रहेकोमा उनको दुखेसो छ । 

एकातिर पारिश्रमिकको कुरा छ भने अर्कातिर मान्छेको दृष्टिकोण । घाटमा अर्काको लास जलाएर बस्नेलाई घाटे भन्छन् समाजमा । उनी यसमा सहमत हुन नसक्ने बताउँछन् । भन्छन्, ‘हरेकले गर्ने कामको सम्मान गर्नुपर्छ । झन्, अर्काको लास जलाउने काम त धर्मको काम हो जस्तो लाग्छ ।’ 

घाटमा काम गर्ने कुरा आफ्नो घरपरिवारलाई खुलस्त भनेका छन् उनले । अरू मान्छेले विभिन्न रूपमा नराम्रो भने पनि परिवारको साथ भएकाले कुनै फरक नपर्ने बताउँछन् पूर्ण । उनी भन्छन्, ‘मान्छे बाँच्दासम्म मात्र मान्छे हो । मरेपछि काठको मुढाजस्तै हुन्छ । काठको मुडा जलाउनु र मरेको मान्छे जलाउनुमा कुनै फरक छैन ।’

  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार २०:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया