६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

अन्तर्राष्ट्रियस्तरमा चम्किएका नेपाली प्रतिभाहरू, जसले भारतमा पिटे तहल्का

छिमेकी भारतमा नेपालीहरू के कति छन् त्यसको लेखाजोखा छैन । कारण, सामाजिक तथा आर्थिकरूपमा मात्रै नभई सांस्कृकरूपमा पनि नेपाल भारतको नाता, साइनो र सम्बन्ध छ । भारतमा चल्ने ठूलठूला रियालिटी सोहरूमा पनि नेपाली कलाकारले धमाका मच्चाएका छन् ।

विश्वबजारको ठूलो मञ्चमा नेपाली र नेपाली भाषीको सहभागीता उल्लेख्यमात्रै छैन, कति जना त विजयी नै भएका छन् । यसले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत गरेको छ। कैयौँ नेपाली कलाकार, मोडल र प्रतियोगीले आफ्नो क्षमता प्रदर्शन गर्दै विदेशी मञ्चमा नेपाली पहिचान स्थापित गरिसकेका छन् । आजको यो सामाग्रीमा हामि भारतीय रियालीटिसोमा धमाका मच्चाएका नेपाली र नेपाली भाषी प्रतिस्पर्धीबारे चर्चा गर्दैछौँ ।



प्रशान्त तामाङ

जसको केही दिन अघिमात्रै निधन भयो । भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त इन्डियन आइडल तेस्रो संस्करणका विजेता हुन् । दार्जिलिङका नागरिक भएपनि नेपालमाथि उनको अथाह प्रेम थियो । नेपाली दर्शकश्रोताहरूका लागि पनि आइडल नै हुन् ।



सोनी च्यानलबाट प्रशारण भएको उक्त गायन प्रतियोगितामा प्रशान्तले नेपाली संस्कृतीको सम्मानमा कहिले ढाका टोपी लगाएर प्रस्तुत भए, कहिले नेपाली गीत गाए त कहिले नेपाली भाषामा भोट अपिल गरे । जसका कारण प्रशान्तले उक्त समय नेपालीहरुबाट पनि उत्तिकै माया र भोट पाए ।

सर्वाधिक भोटका साथ उनी नै विजेता घोषित भए । त्यसपछि उनले नेपाल नै आएर गीत निकाले र फिल्म क्षेत्रमा पनि सक्रिय रहे । ‘गोर्खापल्टन’ मार्फत नायकको रुपमा डेब्यु गरेका उनको अभिनय रहेको फिल्म ‘परदेशी’ सर्वाधिक कमाउने फिल्मको सूचीमा पनि  पर्छ। भौतिकरूपमा हामीमाझ अब प्रशान्त नरहेपनि उनका सृजनाहरु सधैँ अमर रहिरहने छन् ।

सुशान्त खत्री



सन् २०१६ मा भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘डान्स प्लस सिजन २’ मा अन्तिम चार प्रतिष्पर्धीहरू मध्ये पर्न सफल व्यक्ति हुन् । त्यहीबाट उनले आफ्नो छुट्टै पहिचान बनाए ।  नेपालमा नृत्यलाई करियरकै रुपमा हेर्ने प्रचलन नहुँदा परिवारबाट खासै सहयोग नपाएका सुशान्त, आफ्नो अठोट तथा आफ्नी दिदीको आशिर्वाद लिएर भारत तर्फ हानिएका थिए ।

भारतीय टेलिभिजनमा आउने नृत्य प्रतियोगिताबाट सुशान्त एकाएक चर्चामा आएका थिए । विभिन्न भारतीय टेलिभिजन रियालिटी शोहरुबाट निकै वाहवाही बटुलेर अहिले अरुलाई नाच्न सिकाउने काममा समेत लागेका खत्री पछिल्लो समय वलिउडमा पनि सक्रिय छन् । भारतीय रियालिटी सोमा सुशान्तले पनि तहल्का नै पिटेका हुन् । त्यसैबाट उनले आफ्नो करिअर पनि अघि बढाइरहेका छन् ।

तेरीया मगर

सानो उमेरमा नाम, चर्चा, तारिफ र माया कमाउन सफल मधेकी एक हुन् उनी । तेरियाको नृत्यले भारतिय भिडमा नेपालको प्रतिनिधित्व गर्यो । रुपन्देही रुद्रपुरकी तेरीया मगर ११ वर्षकै उमेरमा भारतिय च्यानल जि.टि.भिमा प्रसारण हुने डान्स इण्डिया डान्स लिटल मास्टर सिजन ३ की विजेता बनिन् ।

२०६९ सालमा जन्मिएकी तेरीया ६ वर्षको उमेरबाट नै नृत्यप्रती रुची राख्थिन् ।  भारतिय च्यानलबाट प्रसारण हुने ‘झलक दिक लाजा’ को पनि उपाधी हासिल गरिन् । हाल उनी विभिन्न देशमा आयोजना हुने कार्यक्रममा प्रस्तुती दिँदै आएकी छन् । बास्तममै तेरियाले पनि भारतीय रियालिटी सो मा तहल्का मात्रै मच्चाइनन् आइडल नै बनिन् । उनलाई भारतीय मिडियाले त्यो बेला चर्चाको शीखरमा राखेको थियो ।

प्रितम आचार्य

भारतीय टेलिभिजन ‘जिटिभी’ बाट प्रसारण भएको ‘सारेगमप लिटल च्याम्प्स’ मा इटहरी–५ का एघार वर्षीय उनी तेस्रो स्थानमा पर्न सफल भएका थिए । जहाँ प्रतियोगिताको अन्तिम प्रतिस्पर्धासम्म पुगेका प्रितमले निर्णायक र पाहुनाहरूको वाहवाही बटुले ।

कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र ‘सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते हैं’ र ‘तडप तडपके’ गीत खुबै रूचाइएका थिए। नेपालजस्तो सानो बजार र गीत–संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीयहरूकै माझ उभिएर अब्बल प्रदर्शन गर्नु र उनीहरूलाई नै पछार्दै फाइनलसम्म पुग्नु आफैंमा तारिफयोग्य हो ।

मेनुका पौडेल

नेपाल आइडलबाट ११ मा बाहिरिएकी मेनुका इन्डियन आइडलको १४ संस्करणमा झुल्किइन् । छनोटको पहिलो सिंढीमा गाएको ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएपछि उनी आइडलकै आइकन बनिन् ।  

मेनुकाको सुरले निर्णायकका मात्र होइन नेपाली तथा भारतिय मुलुकमा छुट्टै छाप छोड्यो । गायकीको त्यही सामथ्र्यले  उनले पहिलो  ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन्,  ‘गोल्डेन माइक’ समेत हात पारिन् ।

झापाको हल्दिवारीमा दृष्टिविहिन रुपमा जन्मिएकी मेनुका इन्डियन आइडल सिजन १४ को अन्तिम ‘टप टेन’मा पुगेपछी बाहिरिएकी थिइन् । भारतीय अभिनेता रणवीर कपुर इन्डियन आइडलको सेटमा पुगेका बेला मेनुकाले ‘अगर तुम साथ हो’ बोलको गीत गाएकी थिइन् ।

मेनुकाको सो प्रस्तुति पछि खुट्टा छोएर संगीतकी देवी भनेर दिएको प्रतिक्रिया निकै चर्चामा आएको थियो । त्यति मात्र हैन बलिउड संगीतका बादशाह उदित नारायण, अनुराधा पौडवाल, कविता कृष्णमूर्ति, साधना सरगमलगायत मेनुकाको प्रशंसा गरेका थिए ।

रत्नबहादुर तामाङ

भारतको चर्चित इन्डियन कुकिङ कम्पिटिसन मास्टरसेफ इन्डिया २०२६ मा  यतिबेला रत्नबहादुर तामाङले तहल्का पिटेका छन् । सन् २०१५ सालमा माइलेक्ट्रिक पसलमा काम गर्दा  दुर्घटनामा परि दुवै हात गुमाएका  तामाङ यतिबेला  धेरैका लागि पे्ररणा बनेका छन् ।

हात नहुँदा पनि उनले बाँकी रहेको हातको सहायताले खाना पकाउने सीप विकास गरे । जीवन धान्नका लागि उनले सामाजिक सञ्जालमा खाना बनाउने भिडियोहरू अपलोड गर्न थाले । सरल भान्सादेखि सिर्जनात्मक परिकारसम्म, उनका भिडियोहरूले दर्शकको मन जित्दै गयो । यही सामाजिक सञ्जाल नै उनको परिवार चलाउने मुख्य आम्दानीको स्रोत बन्यो ।

जनवरी ५ मा प्रसारित कार्यक्रममा रत्नबहादुरले आफैँ टमाटर, प्याज र बन्दाकोपी चक्कुले काट्दै नुडल्स तयार गरेका थिए । सीमित शारीरिक अवस्थाका बाबजुद देखाएको आत्मविश्वास, सीप र धैर्यले निर्णायक मात्र होइन, क्यामेराम्यानसम्मलाई स्तब्ध बनायो । कार्यक्रममै उनलाई स्ट्यान्डिङ ओभेसन दिइयो । जहाँ उनको कलाले व्यापक चर्चा बटुलेको छ ।
यसरी, विदेशका रियालिटी सोमा नेपालीहरुको सक्रियता मात्रै छैन, सफलता पनि पाइरहेका छन्, यसले अझ धेरै प्रतिभाहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उभिन प्रोत्साहित पनि गरिरहेको छैन ।

 

  • प्रकाशित मिति : ४ माघ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया