पदमा रहँदा उत्तर कोरिया जाने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी– आज विहानैदेखि अन्तर्राष्ट्रिय सन्चारमाध्यममा जुन तस्वीर छाएका छन्, ती तस्वीर सायदै कसैले कल्पना गरेका तस्वीर थिए । 

अकल्पनीय रुपमा नै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनका तस्वीर हुन्, ती । अमेरिकी राष्ट्रपति पदमा रहँदा उत्तर कोरियाली भूमिमा पहिलो पाइला हाल्ने राष्ट्रपति भएका छन्, डोनाल्ड ट्रम्प । 

तर, यो पहिले योजना बनाइएअनुसारको भ्रमण भने होइन ।

यो त ट्रम्पले ट्विटरबाट गरेको निमन्त्रणा र यसो दुई मिनेट हात मिलाउन भेट्ने उनको चाहनाको प्रतिफल हो । 

ट्रम्प खासमा जापानमा भएको जी २० सम्मेलनमा भाग लिन पुगेका थिए । त्यो शिखर सम्मेलन सकिएपछि दक्षिण कोरिया जाने छेको पारेर ट्रम्पले उत्तर कोरियासँगको सीमामा जाने योजना बनाए । त्यही बेला उनले उत्तर कोरियाली नेता किम जङ उनलाई भेट्ने प्रस्ताव गरेका थिए । 

धेरै ढिला उत्तर कोरियाले ट्रम्पसँग किमले भेट्ने योजनालाई स्वीकार गरेको जनायो । यी दुई नेताबीचको यो भेटमा सकारात्मक कुराकानी भएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । यतिमात्र होइन, केहीले त ट्रम्पले किमलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस आउने निम्तो दिएको पनि उल्लेख गरेका छन् । 



किमसँग भेट भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सममेलनमा भने, ‘यो भेट नभएको भए मिडियाले मलाई निकै उल्लू बनाउने थिए, म यहाँ (किमसँग) हुँदा निकै खुसी महसुस गरिरहेको छु ।’

 जी २० शिखर सम्मेलनका लागि जापान पुगेका ट्रम्पले शनिबार मात्र एउटा ट्विट लेख्दै किमसँग भेटघाट गर्न मन भएको लेखेका थिए । उनले त्यो ट्विटमा दुई मिनेटका लागि मात्र हात मिलाउन किमसँग भेट्न आफूले चाहेको बताएका थिए । 



ट्रम्प शनिबारमात्र दुई दिने यात्राका लागि दक्षिण कोरिया पुगेका हुन् । त्यहाँ उनी राष्ट्रपति मुन जाय इनका साथ पुगेका थिए । 

उत्तर कोरियाली नेता किमसँग ट्रम्पको यो तेस्रो भेट हो । यसलाई लिएर विश्व नै अचम्ममा परेको छ । यो भेट शान्तिका लागि भएको र अनौपचारिक भएको बताइएको छ । 

त्यसो त ट्रम्प त्यो असैन्यकृत क्षेत्रमा सन् २०१७ मा पनि जान चाहन्थे । तर, खराब मौसमका कारण उनी त्यहाँ जान पाएका थिएनन् । 

गत फ्रेबुअरीमा किम र ट्रम्पले भियतनामको हनोइमा भेटवार्ता गरेका थिए । तर, त्यहाँको वार्ता विफल भएको थियो । 

अमेरिकाले उत्तर कोरियाले परमाणु कार्यक्रम पूर्ण रुपमा रोकोस् भन्ने चाहने र उत्तर कोरिया आफूमाथिका सबै आर्थिक प्रतिबन्ध हटोस् भन्ने चाहने भएकाले यो वार्ता असफल भएको थियो । 

  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १३:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया