स्मार्ट लाइसेन्स पुनर्छपाइ गर्दै यातायात व्यवस्था विभाग

काठमाडौं– निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झन्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रंगीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ सुरु भएको हो । 

निजी कम्पनीले झन्डै तीन लाख रंगीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पस्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उनका अनुसार यी कार्डमध्ये कुनैमा फोटो त कुनैमा नाम, रक्त समूह, ठेगानालगायतका विवरण स्पष्ट थिएनन् । तीमध्ये अधिकांश कार्ड सेवाग्राहीलाई वितरण भइसकेको छ । 

वितरण भएका कार्ड पुनः छपाइको माग गर्दै निवेदन आइरहेको उनले बताए । चार वर्षपहिलेदेखि हस्तलिखित कार्डको सट्टा ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि विभाग आफैँले छपाइ गर्दा श्यामश्वेत कार्ड छापिरहेको उनले बताए । ती कार्डमा स्पष्ट नभएको भन्ने गुनासो छैन । उनले भने, ‘कार्डका विवरण नबुझिएको भन्ने गुनासो रंगीन कार्डमा मात्रै छ ।’

अहिले विभाग आफैँले ‘स्मार्ट’ चालक अनुमतिपत्र श्यामश्वेत छपाइ गरिरहेको प्रवक्ता खनालले बताए । पछिल्लो समयमा छपाइ भएका कार्डमा समस्या रहेको छैन । रंगीन कार्ड नबुझिने हुँदा पुनः छपाइ गर्नुपरेको र सेवाग्राहीले राजस्व तिर्नुपर्नेमा त्यो अहिले हटाइएको उनले बताए । 

उनले भने, ‘हाम्रै गल्तीले गर्दा पुनः छपाइमा सेवाग्राहीसँग राजस्व लिनुहुँदैन भनेर हटाइएको छ ।’  ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि उपकरण अपर्याप्त भएपछि विभागले साढे नौ लाखभन्दा बढी कार्ड वितरण गर्न बाँकी छ । 





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १७:३८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया