इजरायली कम्पनीले मदिराको बोत्तलमा महात्मा गान्धीको चित्र राख्यो, भारतमा आक्रोश

नयाँ दिल्ली– इजरायली कम्पनी माका ब्रेवरीले मदिराको बोत्तलमा महात्मा गान्धीको चित्र राखेको तस्बिर सार्वजनिक भएपछि सो कम्पनी विवादमा तानिएको छ । सार्वजनिक तस्बिरअनुसार, मदिराको बोत्तलमा महात्मा गान्धीलाई आधुनिक ढंगले ‘कुलिङ ग्लास’, टी–सर्ट र ओभरकोटमा देखाइएको छ । 

तस्बिर सार्वजनिक भएसँगै भारतस्थित महात्मा गान्धी नेसनल फाउन्डेसनका अध्यक्ष एबी जे जोसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उजुरी गरेका छन् । आजै, उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि पत्र लेखेर सो कम्पनीमाथि कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जालमा पनि थुप्रै भारतीयले यो कार्यको निन्दा गर्दै माका ब्रेवरीमाथि कारबाहीको माग गरेका छन् । 

भारतीयहरु महात्मा गान्धीलाई राष्ट्रपिता मान्छन् । आजीवन मदिराको विरोधी रहेका महात्मा गान्धीको चित्र मदिराको बोत्तलमा राखिनुलाई उनीहरुले सिंगो भारतकै अपमानका रुपमा लिएका छन् । 

नेतान्याहुलाई लेखेको पत्रमा एबी जे जोसले मदिरा उत्पादक कम्पनीले अनुचित आचरण देखाएको भन्दै कम्पनीका सञ्चालकमाथि कारबाहीको माग गरेका छन् ।

राष्ट्रपिता गान्धीको मजाक उडाइएको भन्दै उनले मदिराको बोत्तलबाट गान्धीको फोटो हटाउनका लागि तत्काल कदम उठाउन इजरायली राष्ट्रपतिलाई आग्रह गरेका छन् । भारत मात्र नभई दुनियाँभर गान्धीलाई सदाचार र अहिंसाका प्रेरणा स्रोत मानिने उनले स्मरण गराएका छन् । 

जोसका अनुसार महात्मा गान्धीले मदिराको उत्पादन, उपभोग, प्रचार–प्रसारका विरुद्ध कडा कदम उठाएका थिए । उनी आजीवन मदिराको विरुद्धमा रहे । एकपटक त गान्धीले ‘सत्ता मिलेपछि एकैचोटि सबै मदिरा उत्पादक कम्पनी र मदिराको बिक्री–वितरण बन्द गरिदिने’ बताएका थिए । 





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १८:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया