नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको नेदरल्याण्ड्विरुद्धको खेलमा नेपाल २ रनको झिनो अन्तरले पराजित भयो । नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ३८ रन मात्र बनाउन सक्यो ।
नेपालसँगको जितसँगै नदेरल्याण्ड्स भने सुपर सिक्समा प्रवेश भइसकेको छ । रुविना क्षेत्री र सीता राना मगरले राम्रो प्रयास गरे पनि नेपालको हार र्टन सकेन । प्रतियोतिगामा नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेट पराजित भएको थियो । लगातार दुई हारसँगै नेपालको सुपर सिक्स यात्रा झन् जटिल बनेको छ । यद्यपि झिनो आशा भने बाँकी नैछ ।
घरेलु मैदानमा आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । पहिलो पटक विश्वकप छनोटमा स्थानमा स्थान बनाएको नेपालले घरेलु पिचको राम्रो फाइदा उठाउन सक्नेमा समर्थकहरू आशावादी थिए । तर, नेपालले प्रतियोगितामा खराब प्रदर्शन गर्दै लगातार दोस्रो हार बेहोर्यो ।
पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको नेपाल बिहीबार नेदरल्याण्ड्ससँग २ रनको झिनो अन्तरले खेल गुमाउन पुग्यो । प्रतियोगितामा ठिकठाक बलिङ गरिरहेको नेपाल ब्याटिङ र फिल्डिङमा भने निकै कमजोर देखिन्छ । उसले दुई खेलमा गरेको प्रदर्शनप्रति समर्थकहरू निराशा व्यक्त गरिरहेका छन् ।
लगातार दुई खेल गुमाएको नेपालको सुपर सिक्स यात्रा भने अझै जिवितै छ । तर, उसका लागि नेपालले समूह चरणका बाँकी दुवै खेल फराकिलो अन्तरले जित्नु पर्नेछ । साथै नेपाललाई अरू टिमको पनि साथ चाहिएको छ । जारी विश्वकप छनोटमा १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जहाँबाट दुवै समूहका शीर्ष तीन-तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
त्यसपछि यहाँबाट पनि शीर्ष चार राष्ट्र आसन्न महिला टी-२० विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगितामा नेपाल थाइल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड र जिम्बाब्वेसँगै समूह ‘बी’ छ । जसमध्ये नेदरल्याण्ड्स लगातार तीन खेलमा विजयी हासिल गर्दै सुपर सिक्समा प्रवेश भइसकेको छ । समूह चरणमा उसको एक खेल अझै बाँकी छ ।
त्यस्तै, दुई खेल खेल्दा दुवैमा जित हात पारेको थाइल्याण्ड पनि सुपर सिक्स पुग्न एक कदम टाढा छ । उसको नेट रनरेट पनि अरू टोलीभन्दा राम्रो छ । अब बाँकी एक स्थानको लागि तीन राष्ट्रबीच प्रतिस्पर्धा हुने देखिन्छ, जसमा नेपाल, स्कटल्याण्ड र जिम्बाब्वे छन् । यस्तो अवस्थामा नेपालले तेस्रो टोलीको रुपमा सुपर सिक्समा स्थान बनाउन बाँकी दुवै खेलमा सानदार प्रदर्शन गर्नु पर्नेछ ।
नेपालले प्रतियोगितामा तेस्रो खेल २४ जवनरीमा जिम्बाब्वे तथा चौथो खेल २६ जवनरीमा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ, जुन नेपालका लागि नयाँ चुनौती हो । जिम्बाब्वे र स्कटल्याण्डसँग नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । समग्रमा यी दुवै राष्ट्र नेपालभन्दा बलिया मानिन्छन् ।
घरेलु मैदानमा पहिलो पटक आएको महत्त्वपूर्ण मौकाको फाइदा उठाउने हो भने नेपालले जिम्बाब्वे र स्कटल्याण्डविरुद्ध सानदार जित हासिल गर्न आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।