हरेक निर्वाचनमा अनेकौँ ‘नमुना’ उम्मेदवार देख्न पाइन्छ । अहिले त बढ्दो सामाजिक सञ्जालको प्रयोगले कति ‘मिम’को पात्र बनिरहेका छन् । चुनाव आउँदा गोठको भकारो सोर्न देखि धान गोड्नसम्म पछि पर्दैनन् । यो क्रम उहिलेदेखि चलिआएको हो, अहिले पनि चली नै रहेको छ ।
प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र एक महिनाभन्दा केही दिन बढी छ । तामझामका साथ नेताहरू मतदाताको घरघर पुगिरहेका छन् ।
देशमा जेनजीले उथलपुथल ल्याइदिए । कांग्रेस–एमालेको दरिलो सरकार दुई दिनमै अपदस्थ भयो । नेताहरू हेलिकोप्टरमा भागे । यसै कारण पनि होला, आम मानिसमा पनि राजनीतिक चासो अत्यधिक बढ्यो ।
निर्वाचनको जिम्मा सुशीला कार्कीको अन्तरिम सरकारको काँधमा आइपुग्दा कलाकार, पत्रकार, सामाजिक अभियन्ताहरू पनि नेता बन्न हौसिएका छन् । तर, रमाइलो त के भने कतिपय पुरानासँगै नयाँहरूले पनि जनताहरूलाई मूर्ख बनाउने बाटो समातिरहेका छन् ।
ढोग–नमस्कार गर्दै उनीहरू मतदातासँग भोट मात्रै मागिरहेका छैनन्, घरको भान्सादेखि बारिको पाटासम्ममा पुगिरहेका छन् । चुनाव जितेपछि समाजका समस्या र जनताको दुःख सुन्ने फुर्सद ननिकाल्ने नेताहरू यति बेला भेटेजति अङकमाल गर्नदेखि तरकारी पकाइदिनसम्म पुगिरहेका छन् । यस्ता उम्मेदवारहरूका रोचक दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भाइरल छन् ।
पत्रकार ऋृषि धमला आम जनता पार्टीबाट चुनाव लड्दैछन् । त्यसको लागि उनी रौतहटका गाउँ गाउँमा छन् । रौतहट पुगेर उनले गरेका गतिविधिहरू अहिले सामाजिक सञ्जालमा भाइरल मात्र भइरहेका छैनन्, उनका हास्यास्पद गतिविधिहरू ट्रोल बनिरहेका छन् ।
धमला कतै आराले काठ काटेजस्तो देखिन्छन् त कतै साइकल चलाउन खोजी रहेको जस्तो देखिन्छन् । त्यति मात्रै होइन कतै उनले जलेवी पकाइरहेका छन् ।
नेता बन्ने रहर बोकेका नयाँहरू मात्रै होइन, पुरानाको हर्कत पनि उस्तै छ । पूर्वप्रधानमन्त्री तथा नेकपा अदक्ष्य पुष्पकमल दाहाल (प्रचण्ड) पनि यति बेला रुकुम पूर्व पुगेर स्थानीयसँग मयुर नाच नाच्दै छन् । गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका जेनजी अगुवा सुदन गुरुङ पनि ठूलो बोरा बोकेर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
यस्ता कैँयौ भिडियो सामाजिक सञ्जालमा छन्, जसले नेताको एजेण्डा भन्दा पनि मतदातालाई फकाउन गरेको हत्कन्डा देखाउँछ । कतिपयले यसलाई उम्मेदवारको भिजन भन्दा पनि नसुहाउँदो चटक भनिरहेका छन् ।
चुनावमा मत माग्ने अनेक उपाय हुन्छन् । तर, कतिपयले भने अनौठो हर्कतसमेत देखाउने गरेका छन् । जसले देखाउँछ कि हाम्रो राजनीति अझै पनि विचार, नीति र जबाफदेहिताभन्दा बढी चटक, अभिनय र प्रचारमा अल्झिएको छ। जनताले अब तमासा नभई उत्तरदायित्व खोजिरहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।