६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

रेणु भर्सेस सोविता : कसले मार्ला बाजी ?

चितवन निर्वाचन क्षेत्र नम्बर ३ फेरि एकपटक राजनीतिक रूपमा तातिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चर्चित तथा प्रभावशाली नेतृ भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि चुनावी प्रतिस्पर्धा झन् रोचक बन्ने देखिएको हो ।



हुन त चितवन–३ मा रेणु र सोविता मात्र होइन, ६ स्वतन्त्रसहित १८ जनाको मनोनयन दर्ता भएको छ । रेनु, सोवितासँगै नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया, राप्रपाबाट दीपक थापालगायतका उमेदवारले मंगलबार मनोनयन दर्ता गरेका छन् ।

२०७९ सालको निर्वाचनमा भने चितवन–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले बाजी मारेका थिए । यस क्षेत्रमा एमालेले पाण्डेलाई समर्थन गरेको थियो । यसपटक पनि पाण्डे नै उम्मेदवार हुने चर्चा भएपनि पार्टीले उनको एकल नाम सिफारिस गरेपछि मंगलबार चितवन–३ मा राप्रपाबाट दीपक थापा मगरले उम्मेदवारी दर्ता गराएका छन् । २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पाण्डेले ९ हजार २ सय ३३ मतान्तरका साथ विजयी भएका थिए ।



पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले भने १४ हजार आठ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

यसपटक भने चितवन क्षेत्र नं ३ मा हेभिवेट उम्मेदवारहरुका कारण चुनावी प्रतिस्पर्धा निकै कडा र रोचकसमेत हुने देखिएको छ । रेणु दाहाल चितवनमा नयाँ नाम होइनन् । 

दुई पटक भरतपुर महानगरको मेयर भइसकेकी उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरीसमेत हुन् । यही पारिवारिक र राजनीतिक पहिचान उनको सबैभन्दा ठूलो शक्ति र कमजोरी पनि हो ।

भरतपुर महानगरमा २०७४ को निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनुलाई मेयर पदको उम्मेदवार बनाउँदा धेरैले ‘बुबाको लिगेसी धान्न प्रचण्डले छोरीलाई ल्याए’ भन्दै प्रश्न उठाएका थिए । हुन पनि नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई हराउन तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेर जिताएको भारी बोक्दै रेनु भरतपुरको मेयर बनेर भित्रिएकी थिइन् ।



एकातिर बुबाको लिगेसी अर्कातिर चितवनको सामाजिक मनोविज्ञान थाहा नपाएकी मेयर भन्ने टिप्पणी बोक्दै भरतपुर महानगर प्रवेश गरेकी मेयर नवौँ वर्ष महानगरमा बिताएपछि मेयर पद त्याग्दै राष्ट्रिय राजनीतिमा होमिएकी छन् । प्रचण्डको छोरीको ट्याग बोकेर नै सही नौ वर्ष महानगरको नेतृत्व सम्हाल्दा उनले चितवनलाई कायापलट गरेकी छन् ।

भरतपुर महानगरपालिकामा उनले घोषणा गरेको सबै काम त सम्पन्न भएनन् । यद्यपि कामले परिवर्तन गर्दै भिजन र विकासको पर्यायका रूपमा आफूलाई उभ्याउन भने सफल भएकी छन् । साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू, जीर्ण विद्यालय भवनजस्ता समस्यै समस्याले जेलिएको भरतपुरलाई उनले सुधारेकी छन् ।

सहरी विकासको नयाँ मोडलमा भरतपुरलाई ल्याउन उनले ठुलो भूमिका खेलेकी छन् । पहिलो कार्याकालका लागि विवादित र आलोचित तरिकाले चुनाव जिते पनि दोस्रो पटक भने उनले उत्साहप्रद ढंगले मत ल्याएकी थिइन् ।

चितवन–३ तत्कालीन नेकपा माओवादी केन्द्रको उल्लेख्य मतदाता भएको क्षेत्र पनि हो । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक ‘प्रचण्ड’ यसै निर्वाचन क्षेत्रबाट विगतमा चुनाव लड्दै आएका थिए । र आगामी निर्वाचनमा पनि उनै संयोजक रहेको नेकपाले आफ्नो पक्षमा नतिजा ल्याउने लक्ष्य राखेको छ ।

तर, पछिल्लो गतिविधिले रेणुका लागि चितवन–३ सोचे जति सहज क्षेत्र भने देखिँदैन । गत प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन गरे पनि माओवादी पराजित भएको थियो । यस्तै, पुराना दलप्रति नागरिकको आक्रोश उच्च भइरहेका बेला उनलाई थप चुनौती पनि छ ।

यता सोविता गौतमको कुरा गर्नुपर्दा पछिल्ला वर्षमा उदाएकी युवा नेतृ हुन् । वैदेशिक अध्ययन, सार्वजनिक बहसमा स्पष्ट प्रस्तुति र युवामाझ लोकप्रियताले उनलाई ‘फ्रेस फेस’ को रूपमा चिनाएको छ । यसअघि काठमाडौं क्षेत्र नम्बर–२ बाट उनी विजयी भएकी थिइन् । त्यो बेला २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी थिइन् । गौतमले १५ हजार २२९ मत पाउँदा उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका थिए ।

सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन् । उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन् । अर्को तर्फ चितवन नयाँ दलका रूपमा उदय भएको रास्वपाको उद्गम र उर्वरस्थल पनि हो ।

चितवनको ३ निर्वाचन क्षेत्र मध्ये मध्ये २ वटामा २०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवारले जितेका थिए । क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले निर्वाचन र उपनिर्वाचन दुवैमा जित निकालेका थिए भने क्षेत्र १ मा रास्वपाकै हरि ढकाल विजयी भएका थिए । तर क्षेत्र नम्बर ३ मा भने रास्वपाले हार बेहोरेको थियो । 

पछिल्लो समय भने रास्वपाको संगठन संरचना चितवनमा बलियो देखिन्छ । त्यसमा सामाजिक सञ्जालमा सक्रियता, भ्रष्टाचारविरुद्धको कडा बोली र नीति–आधारित राजनीतिले सोवितालाई आकर्षक बनाएको छ । हुन त गौतमले राष्ट्रिय राजनीतिमा भूमिका देखाए पनि आम नागरिकको अपेक्षाअनुसार विकास निर्माणमा सक्रिय भएको अनुभूति सो क्षेत्रका नागरिकमा छैन ।

चितवन-३ मा सोविता र रेणु मात्र होइन, राप्रपाका दीपक थापा पनि कडा उम्मेदवार हुन् । २०७९ मा राप्रपाबाटै बिजयी भएका कारण पनि थापाले टक्कर दिने अनुमान लगाउन सकिन्छ । अर्को तर्फ नेकपा एमालेका लागि चितवन–३ प्रतिष्ठाको विषय हो ।

यस पटकको निर्वाचनका लागि यस क्षेत्रबाट एमालेले शंकर थपलियालाई टिकट दिएको छ । भरतपुर–२२ निवासी थपलिया एमाले भरतपुर महानगरपालिका अध्यक्षसमेत हुन् ।

यस्तै, नेपाली कांग्रेसको पनि यस क्षेत्रमा बलियो उपस्थिति देखिन्छ । तर पछिल्लो समय देशभर देखिएको ‘पुरानो राजनीतिप्रतिको आक्रोश’ चितवन–३ मा पनि फैलिएको छ । यसले जस्तो पनि नतिजा आउन सक्छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकाका सबै वडा (कुल ९ वडा), भरतपुर महानगरपालिकाका ६, ८, १३ देखि २८ नम्बरसम्म गरी १९ वटा वडाहरू पर्छन् ।

यो चुनावमा निर्णायक तत्व मतदाताको मनोविज्ञान पनि हो । यदि मतदाता विकास र पहुँचलाई प्राथमिकता दिन्छन् भने रेणुको सम्भावना बलियो देखिन्छ । यदि परिवर्तन र नयाँ नेतृत्वको चाहना निर्णायक बन्यो भने सोविता भारी पर्न सक्छिन् ।

समग्रमा हेर्दा चितवन–३ को निर्वाचन केवल एक सिटको प्रतिस्पर्धा होइन, बदलिँदो राजनीतिक चेतना र मतदाताको प्राथमिकताको परीक्षण पनि हो । त्यसैले चितवन–३ को यो प्रतिस्पर्धा कुनै एक उम्मेदवारको जित–हारमा मात्र सीमित हुनेछैन ।

अनुभवी र सत्तासँग जोडिएको नेतृत्वका रूपमा रेणु दाहाल र परिवर्तन तथा वैकल्पिक राजनीतिका प्रतीकका रूपमा सोविता गौतम आमनेसामने हुँदा चुनावी समीकरण झन् रोचक बनेको छ । एकातिर संगठन, पहुँच र राज्यसत्ताको प्रभाव छ भने अर्कोतिर युवा मतदाता, असन्तुष्टि र नयाँ राजनीतिक संस्कारको अपेक्षा देखिन्छ ।

यो निर्वाचनले विकासको निरन्तरता र नयाँ राजनीतिक संस्कारबीच मतदाताको प्राथमिकता कहाँ उभिएको छ भन्ने प्रश्नको जवाफ खोज्दैछ । अनुभवी, सत्तासँग जोडिएको नेतृत्व रोज्ने कि पुराना दलप्रतिको असन्तुष्टिलाई मतमार्फत अभिव्यक्त गर्ने– त्यसको फैसला फागुन २१ को मतदानले गर्नेछ । 

  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया