आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानु बास्तोलाले आफू सधैँ जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् । उनले सत्तामा भए या नभए पनि आफ्ना क्षेत्रका मतदाताहरूसँग सधैँ सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद परिणाम आउने दाबी गरिन् ।
‘म कहिल्यै पदका पछि लागिन । किनकि मेरो नाम समानुपातिकतर्फबाट पठाइए पनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम गरेको छैन र कतै पदको लाभ लिएको पनि छैन । फ्रेस भएकाले मलाई मतदाताले खोज्नुभएको छ,’ उनले अगाडि भनिन्,‘म राजनीतिमा परिपक्व युवा हुँ । सधैँ जनतासँगै जोडिएर काम गरेकाले मतदाताले विश्वास गर्नुहुनेछ ।’
आफूले जनताका आवाज लिएर हिँडिरहेको र साना भन्दा साना समस्याहरूको समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेदवार खोजेको उनको भनाइ थियो ।
‘जनताले खोजेको भनेको समृद्धि र विकास हो । म विगतमा पनि विकास निर्माणका लागि धेरै काम गरेको छु । मेरो फोन २४ घन्टा उठ्छ र घरको ढोका जनताका लागि सधैँ खुला छ । म आफ्नै व्यवसाय गरेर राजनीति गरेको व्यक्ति पनि भएकाले कुनै प्रलोभन छैन,’ उनले अगाडि भनिन्,‘जनताले यतिबेला खोजेको सुशासन हो र भ्रष्टाचारमुक्त समाज निर्माण हो । त्यसका लागि म अब्बल उम्मेदवार हुँ ।’
आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताका फरक फरक समस्या र अपेक्षा रहेकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । ‘मेरो क्षेत्रमा काठमाडौं महानगरको चार वटा वडा, चन्द्रागिरीको पाँच वटा र नागार्जुनका पाँच वटा गरी १४ वटा वडाहरू पर्ने भएकाले न्यूरोडको ओटुका मतदाताको सोच, अपेक्षा, विकास र भावना अनि भीमढुंगाका मतदाताको भावना र विकासको अपेक्षा फरक फरक भएकाले सोही अनुसार काम गर्नुपर्नेछ । त्यसैले सबै क्षेत्रका मतदाताको भावना मजाले बुझेर काम गर्न सक्छु,’ उनले भनिन्,‘यस क्षेत्रको विविधतालाई सम्बोधन गर्न सक्ने व्यक्तिको खोजी पनि भइरहेको छ ।’
राजनीतिमा लागेदेखि आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष जोडिएर काम गरेकाले र विभिन्न सङ्घसंस्थामा बसेर काम गरेकाले आम मतदाताले नजिकबाट चिन्नुभएकाले यस पटक विश्वास गर्नुहुन्छ भन्ने विश्वास लिएको सुनाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।