भारतीय बक्सिङ बोर्डले आफ्नो मातहतको निकाय जस्तो गरी नेपाली बक्सिङ बोर्डलाई निर्देशन दिएको र त्यसलाई नेपाली बोर्डले पालना गरेको भन्दै सोविरुद्ध उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बेनामी उजुरीमा राष्ट्रिय राष्ट्रिय स्वाभिमान विरुद्धको कार्य, पदीय दुरुपयोग र कर्तव्य पालनमा लापरबाही गरेको भन्दै पदाधिकारीहरुमाथि कारबाहीको माग गरिएको छ।
भारतस्थित भारतीय बक्सिङ बोर्डले नोभेम्बर २०२५ मा जारी गरेको पत्रमा नेपालका बक्सिङ पदाधिकारीहरूलाई आफ्नो मातहतको एकाइ भारतको राज्य सरह व्यवहार गरी निर्देशन दिएको देखिएको र त्यसमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र उपाध्यक्ष किरणबहादुर श्रेष्ठ लगायतका पदाधिकारीहरूले नेपालको सार्वभौमिकता र खेलकुद स्वशासनको रक्षा गर्नुको सट्टा, विदेशी संस्थाको सोही अनधिकृत निर्देशनलाई स्वीकार गरी राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने कार्य गरेको उल्लेख छ।
यस विषयमा गम्भीर प्रश्न उठेपछि युवा तथा खेलकुद मन्त्रालयले मिति २०८२/०९/११ (चलानी नं.५३६) मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आवश्यक छानबिन र कारबाहीका लागि स्पष्ट निर्देशन दिएकोमा राखेपका संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र कुमार राई लगायतका जिम्मेवार पदाधिकारीहरूले मन्त्रालयको आदेशलाई नजरअन्दाज गर्दै हालसम्म कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको उल्लेख छ।
माघ १० गते आयोगमा सि ४००४७ भएको दर्ता भएको सो उजुरीमा नेपालको संविधान र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले परिकल्पना गरेको खेलकुदको स्वायत्तता र राष्ट्रिय मर्यादा विपरीत वैदेशिक हस्तक्षेपलाई प्रश्रय दिने कार्यमा संलग्न व्यक्तिहरू र आफ्नो पदीय जिम्मेवारी पूरा नगरी मन्त्रालयको निर्देशन उल्लंघन गर्ने राखेपका पदाधिकारीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (गलत लिखत तयार गर्ने वा आदेश नमानी बदनियत राख्ने सम्बन्धी) र अन्य प्रचलित कानुन बमोजिम अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।