६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा आगजनी, १६९ जना प्रहरी हिरासतमा

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृह बस्न नमिल्ने गरी ध्वस्त भएपछि यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौंको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ ।

बिहीबार राति १० बजेदेखि करिब रातभर सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण सुधार गृहमा तत्काल भित्र बस्नै नसक्ने गरी सबै संरचनामा क्षति पुगेपछि यहाँका बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।



सुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौंका प्रहरी हिरासतमा बाल निगरानी कक्षमा राखिएको जानकारी दिँदै उनले यहाँ भएका क्षतिको विवरण लिने कार्य भइरहेको जानकारी दिए । सुधार गृहको क्षतिग्रस्त संरचना पुनर्निर्माण भएपछि प्रहरी हिरासतबाट सुधार गृहमै पठाइने उनले बताए ।

प्रहरीका अनुसार राति भएको झडपमा आठ बालबिज्याइँकर्ता र २० प्रहरीसमेत घाइते भएका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घाइते आठ बालबिज्याइँकर्ता मध्ये नेपाल कोरिया मैत्री नगर अस्पतालमा सात जनाको उपचार गरी ‘डिस्चार्ज’ भएको तथा एक जनाको उपचार भइरहेको उनले बताए ।



बिहीबार राति सुधार गृहमा बालबिज्याइँकर्ताले नै आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सुरक्षाका लागि प्रहरी वृत्त ठिमीबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृह भित्रबाटै प्रहरीमाथि ढुङ्गा मुढा भएको थियो ।

सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ युवा रहेका र २४ बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवासमेत सुधार गृहमा बस्दै आएका छन् ।

सुधार गृहभित्र प्रहरी जान नपाउने, रासनको व्यवस्था गरि दिएपछि बालबिज्याइँकर्ता आफैंले पालो बनाएर खाना खाने गरेको, भित्रै पढ्ने व्यवस्था गरेको भए पनि उमेर छिपिएका बालबिज्याइँकर्ता एकै ठाउँमा बस्दा यहाँ रहेका महिला बालबिज्याइँकर्ताको सुरक्षामा चुनौती थपिएको सुधार गृहका कर्मचारी बताउँछन् । यसअघि पनि सानोठिमी स्थित सुधार गृहमा तोडफोड, झडप र कुटपिट गर्ने एवं सुधार गृह तोडफोड गरी भागेको घटना पटक-पटक घटिरहेका छन् ।

सानोठिमी आसपासका बासिन्दाले भने सुधार गृहलाई बस्ती बीचबाट हटाउनुपर्ने माग गरेका छन् । सुधार गृहमा पटक पटक हुने झडप, आगजनी, तोडफोड र ढुङ्गा हानाहानले स्थानीयमा त्रास फैलिएको सुधार गृह भित्रबाट हानेका ढुङ्गा स्थानीयबासीको घरमा लागेर क्षति पुग्ने गरेको भन्दै सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन् ।



  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया