६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

रविले राष्ट्रपति बनाउने गुलियो बचन कानमा भरिदिएपछि बाबुरामको उम्मेदवारी फिर्ता
आफूलाई पार्टीमा एक्ल्याउन खोजेको र जितको ग्यारेन्टी नभएपछि बैरागिए बाबुराम

नेपाली राजनीतिमा पार्टी फेरबदलमा गणनायोग्य नेता मानिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सबैलाई चकित पार्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा क्षेत्र नं २ मा उनले रास्वपालाई समर्थन गर्दै शुक्रबार  आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 

गोरखा–२ मा नेपाली कांग्रेसबाट प्रकाश चन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कवीन्द्र बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, आम जनता पार्टीबाट कल्पना कुमाल, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) बाट टेकबहादुर प्रधान, मंगोल नेशलन अर्गनाइजेशनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टी रामशरण बुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी(एकीकृत मार्क्सवादी लेनिनवादी) बाट मिलन गुरुङ, नेशन रिपब्लीक नेपालबाट प्रसाद गुरुङ उम्मेदवार बाँकी छन् । 



अघिल्लो निर्वाचनमा पनि उनले यस क्षेत्र माओवादी अध्यक्ष प्रचण्डलाई छोडेका थिए। उनले प्रचण्डलाई जिताउन  आफैँ प्रचार प्रसारमा समेत खटिएका थिए। उनी यस क्षेत्रबाट  दुई दुई पटक  निर्वाचन जितेका नेता हुन् । 

उम्मेदवारी दिएपछि किन उनले फिर्ता लिए? यो सर्वत्र चासोको विषय बनेको छ। स्रोतका अनुसार उनले रास्वपा  सभापति रवि लामिछानेसँग  बिहीबार  ‘फोन वार्ता’ गरेपछि रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई  समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । बुर्लाकोटी रवि लामिछानेका किचेन क्याविनेटका सहयोगी हुन् । त्यसैले उनलाई जिताउन लामिछानेले भट्टराईसंग बिशेष वार्ता गरेको  बुझिएको छ । 



स्रोतका अनुसार भट्टराईलाई लामिछानेले भावी राष्ट्रपति बनाउने आश्वासन दिएपछि उनको उम्मेदवारी फिर्ता भएको बताइएको छ। त्यसैले  उम्मेदवारी फिर्तापछि उनले जारी गरेको विज्ञप्तिमा समेत आफू राष्ट्रपति हुने सङ्केत गरेका छन् । 

उम्मेदवारी दर्ता गरेका  भट्टराई चुनाव हारिन्छ कि भन्ने तनावमा पनि थिए। उनले यस विषयमा आफ्नो स्वकीय सचिव  रोशन पोखरेललाई स्थलगत अध्ययन गर्न लगाएका थिए। पोखरेलले अवस्था त्यति राम्रो नभएको रिपोर्ट दिएका थिए। आफ्नै पार्टीका सहकर्मीहरू जनार्दन शर्मा, सुदन किराँती लगायतले बिस्तारै आफूलाई माइनस गर्दै लगेको महसुस उनले केही समयदेखि गर्दै आएका थिए। बारम्बार आफूलाई स्वर्णिम वाग्ले र लामिछानेले  उम्मेदवारी फिर्ता लिन र अभिभाभकीय भूमिका निर्वाह गर्न अनुरोध गरेपछि  सबैतिरबाट निराश भएका उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ। 

डा. भट्टराईले आफूलाई विभिन्न राजनीतिक दल, शुभेच्छुक र साथीभाइबाट चुनाव नलड्न सुझाव आएको कारण आफूले उम्मेदवारी फिर्ता लिएको  दाबी गरेका छन्  । ‘एउटा दल विशेषको सांसद मात्र बन्दा भूमिका सङ्कुचित हुने र अहिलेको तरल राजनीतिक अवस्थामा सबैको साझा अभिभावक बन्नुपर्ने सुझावलाई स्वीकार गर्दै मैले उम्मेदवारी फिर्ता लिएको हुँ ’ उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले अब संसद् बाहिरै रहेर राजनीतिक दलहरूलाई सल्लाह, सुझाव र मार्ग निर्देशन गर्ने बताए ।

उनको विज्ञप्तिको  भाषामा सबैको साझा भएर बस्ने भन्नुको तात्पर्य नै भावी राष्ट्रपतिमा प्रस्तावित भएको सङ्केत मिलेको राजनीतिक विश्लेषकको भनाई छ।  उनलाई रास्वपा सभापति लामिछानेले कानमा सुटुक्क ‘चिनी हालिदिएपछि’(गुलियो बचन) उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ। 



  • प्रकाशित मिति : ९ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया