श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आइपुगेका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताए ।
उनले भने, ‘मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेथिति र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु ।’ विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उनले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी गरे ।
उनका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ । पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई स-साना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गरे ।
काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरू हुने प्रतिक्रिया दिए । पुराना दलहरूबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।