२४ फागुन, २०८२ आइतबार
March 8, 2026

कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका

कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोर-किशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्यांक अनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा  उपचारका लागि आउने गरेका हुन् ।

बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा. सुवास शर्माले जानकारी दिए । ‘तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो’, उनले भने ।



डा. शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन् ।

अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढेको उनले बताए ।



समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको डा. शर्माले उल्लेख गरे । सन्तुलित जीवनशैली र खानपान समस्या समाधानको उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

यसैबिच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि १८० जना सिफारिस गरिएको तथ्यांक छ । सरोकार भएकाहरूले बालबालिकामा नसर्ने रोगसम्बन्धी जनचेतना गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको सह–सिर्जना कार्यशालामा सहभागीहरूले नसर्ने रोगसम्बन्धी जनचेतना जगाउन सरोकार भएका निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

युनिसेफका दिपीका श्रेष्ठले बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील विषयमा विभिन्न सरोकार भएकालाई एकै ठाउँमा ल्याई सह–सृजना प्रक्रिया सफलता पूर्वक सम्पन्न गरेकामा वीरेन्द्रनगर नगरपालिकालाई धन्यवाद दिए ।



उनले बालबालिकामा देखिँदै गएको नसर्ने रोग स्वास्थ्यसँग मात्र होइन, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएका विषय भएको बताए । उनले गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनालले नसर्ने रोग सम्बन्धीको सचेतना आवश्यक रहेको भन्दै नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बालबालिकामा नसर्ने रोगका विषयमा सचेत बनाउने गरी काम गर्नुपर्ने बताए ।

उनले आगामी वर्षदेखि यससम्बन्धी नीतिगत व्यवस्था गरी प्रदेशभर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

  • प्रकाशित मिति : १३ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया