काठमाडौं–
सिन्धुपाल्चोक बोडेगाउँकी ६० वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न चार जनालाई प्रहरीले समातेको छ । पक्राउ पर्नेमा सावित्रीकी छोरी ईश्वरी भट्टराई पनि रहेकी छिन् ।
२७ वर्षे ईश्वरीले आमाको हत्या गर्ने योजना किन बनाइन् ?
यसको अन्तर्कथा आश्चर्यमा पार्ने खालको छ ।
‘ईश्वरीको प्रेमसम्बन्धबारे आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले फरक धारसँग भने, ‘यो अनुसन्धानको क्रममा नै छ, थप रहस्य खुल्दै जाला ।’
हत्यामा संलग्न भएको भन्दै प्रहरीले ईश्वरीसँगै मोहम्मद नौसाद, अर्जुन कुमार भनिने भोला कुमार, मोहम्मद रहिशलाई पनि पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या गर्ने योजना ईश्वरीले बनाएको देखिएको छ ।
ईश्वरीले खासमा आजभन्दा नौ वर्षअघि अर्का एक युवकसँग विवाह गरेकी थिइन् । उनीहरुबाट छोरा पनि जन्मिएको थियो । उनका श्रीमान् सानोतिनो होटल चलाइरहेका थिए । छोरा पनि जन्मिएपछि उनीहरुले निर्णय गरे– ईश्वरीले एउटा गलैँचा कारखानामा काम गर्ने ।
त्यही गलैँचा कारखानामा ईश्वरीको भेट भयो, मोहम्मद नौसादसँग ।
यही भेट नै सावित्रीको हत्याको मूल कारक बन्यो । कारखानामा भेट भएपछि नौसाद र ईश्वरी एकअर्कासँग नजिकिए । कतिसम्म भने ईश्वरीले श्रीमान् होटलमा काम गर्न गएको समयमा नौसादलाई आफू भाडामा बस्ने कोठामा नै बोलाउन थालिन् ।
एकदिन यी दुई कोठामा थिए । ईश्वरीकी आमा सावित्री आइपुगिन् । छोरीले जे गरिरहेकी थिइन्, त्यसले उनकै परिवारमा नराम्रो हुने र समाजमा पनि आफ्नो ‘नाक काटिने’ डरमा पर्न थालिन् सावित्री ।
उनले ज्वाइँ आउनुभन्दा पहिले नै छोरीसँग यस विषयमा सल्लाह गरिन्, नौसादसँग उनलाई छुटाउन प्रयास गरिन् ।
‘तर, नौसादसँगको प्रेममा ईश्वरी फँसिसकेकी थिइन्,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘ईश्वरीले अब नौसादसँग मिलेर आमाको हत्या गर्ने, नौसादसँग विवाह गर्ने र यो कुरा कसैलाई थाहा नदिने योजना बनाउन थालिन् ।’
उता, सावित्री छोरीको घरबार नबिग्रियोस् भनेर सचेत थिइन् । उनले यो कुरा गुपचुप नै राखिन् र नौसादलाई छोरीलाई छाड्न अनुरोध गर्न थालिन् ।
नौसाद दुबई पनि गए । तर, ईश्वरी र उनको सम्पर्क टुटेन । आफूहरुको विवाहमा ईश्वरीकी आमालाई तगारो बन्ने देखेपछि दुबैले योजना बनाएर सावित्रीको हत्या गरे ।
यसका लागि नौसाद र सावित्री मिलेर दुई भारतीयलाई बोलाए । ‘उनीहरुले १२–१५ लाख खर्च गर्ने योजना बनाएका रहेछन्,’ ती प्रहरी अधिकारीले भने, ‘ईश्वरीले नै आफ्नी आमाबारे सूचना दिइरहेकी रहिछिन् ।’
योजनाअनुसार नै नौसादले दुई भारतीय लिएर ईश्वरीको कोठामा पुगे । ईश्वरी त्यो दिन कोठामा थिइनन् । उनका श्रीमान् काम गर्न होटलतिर गइसकेका थिए । त्यही मौका पारेर सावित्रीको हत्या भयो ।
प्रहरीले नौसाद र ती दुई भारतीयलाई पक्राउ नगर्दासम्म ईश्वरी स्वयं प्रहरीकहाँ गएर हत्यारा पत्ता लगाइदिन अनुरोध गर्दै आएकी थिइन् । तर, जब नौसादले प्रहरीलाई ईश्वरीको संलग्नताबारे बताए, ईश्वरीले सहजै आमाको हत्या योजना आफूले बनाएको स्वीकार गरिसकेकी छैनन् ।
याे घटना आइतबारकाे हाे ।
ईश्वरीले ती भारतीय कन्ट्र्याक्ट किलरलाई समयमा दिने भनिएकाे रकम दिएकाे भए सायदै उनीहरु पक्राउ पर्थे । तर पैसा लिएर मात्र भारत जाने याेजना बनाएका उनीहरु आइतबार साँझै मकवानपुरबाट पक्राउ परे । उनीहरु पक्राउ परेलगत्तै प्रहरीले नाैसादलाई धादिङबाट पक्राउ गरेकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।