किन रुष्ट बन्दैछन् नेकपामा पूर्वमाओवादी पूर्वएमाले एकअर्कासँग ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चरम उत्कर्षमा पुगेको छ । यसको संकेत गत सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा पनि देखिन्थ्यो । 

त्यो बैठकमा नेकपाका सांसद्हरुले पार्टीमा अराजकता मौलाएको समेत टिप्पणी गरेका थिए । अधिकांश सांसद्ले बाहिर कतै बोल्न नपाएपछि आफूहरु संसदमा नै बोल्न बाध्य भएको पनि बताएका थिए । उनीहरुले नेतृत्वले आफूहरुलाई बन्देजमा राखेको दुखेसो पोखे ।

पछिल्लो समय सरकारका कामकारवाहीबारे नेकपाभित्र निकै चर्को आलोचना हुन थालेको छ । विशेषगरि पूर्वमाओवादी नेताहरु पार्टीका काम तथा सरकारका कामहरुबाट निराश भएको अभिव्यक्ति दिन थालेका छन् । 

यो विवाद बढ्दै गएपछि नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार छलफलमा जुटेका छन् । तर, उनीहरुको छलफलले पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । यी दुई अध्यक्षबीच पछिल्लो समय राजनीतिक प्रतिवेदन छाप्ने, सरकारका कामको मूल्याङ्कन गर्ने र पार्टी एकता प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल भइरहेको छ । 

तर, यी कुनै पनि विषयमा उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् । 

‘अब त मतभेदहरु धेरै विषयमा देखिन थालिसके,’ नेकपाका एक नेताले भने, ‘उहाँहरु (पूर्वएमाले नेता)ले खासमा पेलेर जाने नीति लिएको देखिन्छ, अहिले पनि सरकारका कामहरुबारे औपचारिक रुपमा छलफल नै भएको छैन ।’ प्रचण्डनिकट यी नेता पछिल्लो समय सरकारले प्राथमिकतामा रहेका कामबाहेक अरु कामलाई केन्द्रमा राखेकाले यस्ता समस्या आउन थालेको बताउँछन् । 



तर, नेकपाका अर्का एक सांसद् यो कुरालाई अस्वीकार गर्छन् । ‘पार्टीमा माओवादी फ्याक्सनबाट आउनुभएका साथीहरुको बुझाइमा समस्या देखिएको छ,’ उनले भने, ‘स्वयं प्रचण्ड कमरेड नै पछिल्लो समय आफ्नो मनमा लागेका कुरा पार्टीमा सल्लाह नगरी भन्दै हिँड्न थाल्नु भएको छ ।’

उनको यो संकेत पछिल्लो समय प्रचण्डले सरकारको आलोपालो नेतृत्व गर्ने सम्झौताबारे बारम्बार भनेकोमा थियो । 



अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र एक्ल्याउन प्रचण्डको भूमिका विशेष रहेको बुझाइ छ, ओलीनिकट नेताहरुको । ‘बाहिर भन्दा पनि उहाँहरु पार्टी भित्रै अनेक बाहना बनाएर काम गरिरहनु भएको छ,’ ओलीनिकट एक नेता बताउँछन्, ‘उहाँहरुको फुटाउ र राज गर मानसिकता देखिन थालेको छ । यसले समग्र पार्टीलाई असर गर्छ ।’

नेकपामा पछिल्लो समय नेताहरुको कार्यविभाजन, विभिन्न विभागको नेतृत्व तथा राजनीतिक कार्यदिशाबारे दुई अध्यक्षबीच नै मत मिलेको छैन । प्रचण्ड र ओलीबीच यी कुराहरुमा मत नमिल्नुले दोस्रो र तेस्रो तहका नेताहरुसम्म एकअर्कालाई घोचपेच गर्ने क्रम बढ्दो छ ।

  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १३:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया