राज्यप्रति आममानिसका अपेक्षा जति बढ्दै गएका छन्, चुनाव मार्फत् नेताहरूले पनि त्यति नै सपना बाँडिरहेछन् ।
देशभरजस्तै बारा–३ को चुनावी माहोल पनि तात्दै गएको छ । एमालेबाट ज्वालाकुमारी साह र कांग्रेसबाट फरमुल्ला मन्सुर यही क्षेत्रमा भिड्दै छन् । जसपा, रास्वपा, नेकपालगायत पार्टी र स्वतन्त्र गरी २४ जना उम्मेदवार यहाँ चुनावी मैदानमा छन् ।
सधैँ राजनीतिक चर्चाको केन्द्र रहने यो क्षेत्रमा यसपटक पनि चुनावी भिडन्त रोचक हुने देखिन्छ । कांग्रेसका सह–महामन्त्री मन्सुर २०५६ कै सांसद हुन् । उनले त्यतिबेला बारा–४ बाट चुनाव जितेका थिए । २०७० मा उनी बारा–३ बाट संविधानसभा सदस्य बने, सँगै श्रममन्त्री पनि ।
तर, २०७४ को चुनावमा उनी बारा–३ मा पराजित भए । उक्त क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमका रामबाबुकुमार यादवले चुनाव जितेका थिए । २०७९ मा भने मन्सुरले प्रत्यक्षतर्फ चुनाव लडेनन् । यस पटक भने उनी चुनावी मैदानमा उत्रिएका छन् । मन्सुर कांग्रेस सभापति गगनकुमार थापा समूहका नेता हुन् ।
कांग्रेसको संगठनदेखि संसद हुँदै सत्तासम्मको लामो अनुभव सम्हालिसकेका मन्सुर गगन समूहका पदाधिकारीमध्ये सबैभन्दा अनुभवी सहमहामन्त्री हुन् ।
मन्सुरले २०२८ सालमा भारतको पटना पुगेर नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट पार्टीको सदस्यता लिएका थिए ।
पञ्चायती व्यवस्थाको त्यो कठोर समयमा राजनीतिक पहिचान बोक्नु नै जोखिमको विषय हुन्थ्यो । त्यही जोखिमपूर्ण वातावरणमा मन्सुरको राजनीतिक जीवन सुरु भएको थियो ।
उनी २०३४ सालमा बारा जिल्ला कांग्रेसका उपसचिव बने भने २०३६ सालमा सचिवको जिम्मेवारी पाए । संगठन निर्माणमा खटिँदै जाँदा उनले कलैया बजारमा जुत्ता पसल र अखबार पसलसमेत सञ्चालन गरे । जीविकोपार्जन र राजनीतिक संघर्ष सँगसँगै अघि बढाए । २०५६ सालमा उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । त्यही निर्वाचनसँगै मन्सुरको राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश भयो । त्यसपछि २०५७ सालयता उनी निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छन् ।
मन्सुर दोस्रो संविधानसभाका सदस्य पनि हुन् । त्यस बेला संविधान निर्माण प्रक्रियामा सहभागी हुँदै उनले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेका थिए । केन्द्रीय सदस्य हुँदै १४औँ महाधिवेशनयता सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका उनलाई विशेष महाधिवेशनले उही जिम्मेवारीमा दोहोर्याएको छ । हुन त यसपटक पनि अन्तिम समयमा उनले टिकट ल्याएपछि कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा समूहका बारा जिल्ला सभापति राजेश राय यादवसहितको नेतृत्व चुनावी अभियानमै सहभागी छैन । जसले उनलाई धक्का लाग्न सक्छ ।
अर्कोतर्फ मन्सुरका लागि ठूलो चुनौती बनेर नेकपा एमाले नेतृ ज्वालाकुमारी साह उभिएकी छिन् । उनी पटक–पटक मन्त्री भइसकेकी व्यक्ति हुन् । साह एमाले अध्यक्ष केपी शर्मा ओली निकट पात्र मध्ये एक हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सांसदसमेत हुन् । माओवादीबाट समानुपातिक सांसद थिइन् । डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा भूमि राज्यमन्त्री पनि बन्ने अवसर पनि पाइन् ।
२०७४ मा प्रदेश सांसद बनिन् । माओवादीबाट बारा–३ (१)बाट प्रदेश सांसद चुनिइन् । एमाले र माओवादी एकीकरण हुँदै बनेको नेकपा भंग हुँदा उनी एमालेमै रहिन् । माओवादीको कारबाहीमा पर्दै प्रदेशसभा सदस्य गुमाइन ।
तर, एमालेबाट मन्त्री बन्ने अवसर पाइन् । तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई कृषि तथा पशुपंछी विकास मन्त्री बनाएका थिए । २०७९ मा उनले बारा–३ बाटै २० हजार २५१ मत ल्याउँदै विजयी भइनन् । चुनाव जितेपछि साह फेरि कृषि मन्त्री बनेकी थिइन् । उनले यसपटक पनि आफूले नै जित्ने दाबी गर्दै आएकी छिन् । तर, यसपटक एमालेभित्रको कलह झनै ठुलो छ । क्षेत्रीय भेलाले बारा–३ को उम्मेदवारका रूपमा जिल्ला अध्यक्ष अध्ययानन्द पाण्डेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । तर ज्वालाकुमारीले माथिबाट टिकट ल्याएपछि जिल्लास्तरका नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टी बढेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट भरतप्रसाद शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अरबिन्द साह, (राप्रपा)बाट राजेन्द्रप्रसाद जैसवारलगायत उमेदवार छन् । यो क्षेत्रमा एमालेकी ज्वाला फेरि चुनिन प्रयत्न गर्दै छिन् भने कांग्रेसका मन्सुरले २०७४ को हार फर्काएर फेरि पनि संसद् छिर्न चाहन्छन् । तर, उनको यात्रामा ब्रेक लगाउने योजनामा नयाँहरू छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।