नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउण्डर खेलाडी दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । उनी ३१ लाख नेपाली रूपैयाँमा पिएसएल टिम इस्लामवाद युनाइटेडमा अनुबन्ध भएका छन् । योसँगै ऐरी पाकिस्तान सुपर लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
उनीअघि लेगस्पिनर सन्दीप लामिछानेले पिएसएल खेलिसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि दीपेन्द्र विस्तारै विदेशी लिगको रोजाइमा परिरहेका छन् । उनले अहिलेसम्म कयौँ चर्चित लिगमा सहभागीता जनाइसकेका छन् । दीपेन्द्र पिएसएलमा अनुबन्ध भएसँगै नेपाली समर्थकहरु उत्साहित बनेका छन् ।
अलराउण्डर ऐरी नेपालका प्रमुख खेलाडीमध्येका एक हुन् । उनी ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै माहिर छन् । दीपेन्द्रले टिमका लागि कयौँ म्याच विनर पारी खेलिसकेका छन् । उनी नेपालका लागि टी–२० आईमा २ हजार रन बनाउने एक्ला खेलाडी हुन् । यतिबेला दीपेन्द्र भारतमा टी–२० विश्वकप खेलिरहेका छन् ।
जहाँ उनले इंग्ल्याण्डविरुद्ध भएको पहिलो खेलमा सानदार प्रदर्शन गरे । खेलमा नेपाल पराजित भए पनि दीपेन्द्रले ब्याटिङमा ४४ तथा बलिङमा महत्पूर्ण २ विकेट लिए । उनी पछिल्लो केही समयदेखि अन्तर्राष्ट्रिय स्तरमा बलिया टिमविरुद्ध पनि राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा चम्किँदै गएपछि दीपेन्द्र अब विदेशी लिगको रोजाइमा पनि पर्न थालेका छन् ।
बुधबार भएको पिएसएल अक्सनमा टिम इस्लामवाद युनाइटेडमा अनुबन्ध भएका दीपेन्द्र यसअघि पनि यूएईको आइएल टी–२० देखि क्यानडाको ग्लोबल टी–२० लिगमासमेत अनुबन्धित भइसहेका छन् । उनी सन् २०२४ र २०२५ को आइएल टी–२० लिग अन्तर्गत गल्फ जायन्ट्समा आवद्ध भएका थिए । तर, ऐरीले आइएल टी–२० मा खेल खेल्ने मौका भने पाएका छैनन् ।
त्यस्तै, ऐरीले सन् २०२३ र २०२४ को ग्लोबल टी–२० लिग खेलेका थिए । उनी पहिलो सिजनमा मोन्ट्रियल टाइगर्स र दोस्रो सिजनमा भ्यानकुभर नाइट्समा आबद्ध थिए । ऐरीले टाइगर्सका लागि पहिलो सिजनमा ८ खेलमा १ सय ४३ रनका साथै २ विकेट लिएका थिए । त्यस्तै, उनले दोस्रो सिजनमा भ्यानकुभरका लागि ६ खेल खेल्दै ४४ रन बनाएका थिए ।
त्यस्तै, दीपेन्द्र नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार प्रदर्शन गर्दै आइरहेका छन् । चाहे त्यो कप्तानी होस् वा ब्याटिङ, बलिङ र फिल्डिङ । ऐरी सुदूरपश्चिमलाई दुई पटक एनपिएल फाइनलमा पुर्याउने एक्ला कप्तान हुन् । उनले एनपिएल पहिलो सिजनमा २ सय २७ रनका साथै ९ विकेट लिएका थिए ।
उक्त सिजनमा सर्वाेत्कृष्ट नेपाली खेलाडी बनेका ऐरीले दोस्रो सिजनमा १ सय ७२ रन तथा ९ विकेट आफ्नो नाममा गरेका थिए । नेपालका लागि टी–२० क्रिकेटमा कीर्तिमानी २ हजार रन तथा ६० विकेट लिएका दीपेन्द्र २६ मार्चदेखि सुरु हुने पिएसएलमा पनि राम्रो प्रभाव पार्न सक्छन् । पछिल्लो सानदार प्रदर्शनका कारण पनि उनले टोलीमा मौका पाउने सम्भावना बढी छ । तपाइलाई के लाग्छ पहिलो पटक पिएसएल खेलिरहेका दीपेन्द्रले कस्तो प्रदर्शन गर्लान् ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।