२४ फागुन, २०८२ आइतबार
March 8, 2026

आयोगले तोक्यो चुनाव प्रचारको समय, जुलुस र आमसभा सभ्य रुपमा गर्न निर्देशन

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्न निर्देशन दिएको छ ।

आयोगले राजनीतिक दल र दलका प्रतिनिधिका नाममा आज जारी गरेको ६४ बुँदे निर्देशनमा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख छ । 



मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउण्ड सिस्टम वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । आयोगका अनुसार २०८२ फागुन ३ गते राति १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने छ।

‘सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ३ गते राति १२ बजे पछि राजनीति दल एवं उमेदवारहरूले निर्वाचन प्रचार प्रसार सुरु गर्दै हुनुहुन्छ। निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ,’ आयोगले भनेको छ। 



स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । जुलुस, आमसभा, कोणसभा  वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको बारेमा जानकारी गराउनुपर्ने उनले बताए ।

कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने, एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने प्रवक्ता भट्टराईले बताए ।  

प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने, घरधनीको अनुमति नलिई निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुनेतर्फ आयोगले सचेत गराएको छ ।

विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने, निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन हुँदैन । उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ गुणा ४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन वा प्रसारण नगर्न आयोगले निर्देशन दिएको छ ।



उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन वा प्रसारण गर्न नहुने, अनलाइन वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न, गराउन नहुने आयोगले निर्देशन दिएको छ । 

कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने, ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न गराउन नहुनेतर्फ आयोगले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

  • प्रकाशित मिति : ३ फागुन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया