काठमाडौं– मोहनवीणा चल्तीको वाद्यवादन साधन होइन । त्यसैले नेपालमा यसलाई बजाउने धेरै छैनन् । जम्मा दुई जना छन् । तिनैमध्येका एक हुन्, सुवासचन्द्र ।
तर, सुवास यही साधनमा मात्र केन्द्रित छैनन् । उनी मोडलिङ पनि गर्छन् ।
जे होस्, मोहनवीणा बजाउँदै सुवासले ब्यान्ड पनि चलाएका छन्– ऊर्जा ।
केही वर्षअघि यही ब्यान्ड लिएर पाकिस्तान पुगे सुवासचन्द्र । त्यति बेलाको सम्झनाले अहिले पनि सुवासलाई बारम्बार हाँसो दिन्छ ।
घटना हो, इस्लामावाद विमानस्थलको इमिग्रेसनको ।
अग्ला सुवासचन्द्र र अन्य सदस्य लाई समेत संगीतकार हुन् भनेर पत्याउँदै पत्याएन पाकिस्तानी इमिग्रेसनका अधिकारीले । त्यसमाथि उनले जुँगा पालेका थिए, लामो दाह्री पालेका थिए । सुवाससहित अन्य ब्यान्डका सदस्यहरू पाकिस्तानी अधिकारीले विमानस्थलबाट बाहिर निस्किन दिएनन् ।
‘हामी त्यहाँ एउटा सांगितिक कार्यक्रम ‘लावती मेल’का लागि गएका थियौँ,’ सुवास सम्झिन्छन्, ‘२० वटा देशका सांगीतिक समूह त्यो कार्यक्रमका लागि बोलाइएका थिए । तर, हामीलाई विमानस्थलबाट बाहिर जानै दिइएन । अनि हामीले विमानस्थलमा नै बसेर हाम्रा साधन बजाउन थाल्यौँ ।’
केही समय त्यहाँ सांगितिक साधन बजाएपछि सुवासहरुलाई इमिग्रेसनका अधिकारीले छोडे ।
पछि कार्यक्रमस्थलमा चाहिँ सुवास सेलेब्रिटी भए । उनको माथि बटारिएको जुँगाको प्रशंसा धेरैले गरे, कतिले सेल्फीसमेत खिच्न थाले ।
अन्तर्राष्ट्रिय मन्चमा सुवासचन्द्र र ऊर्जा ब्यान्डले पाएको यो ख्याती चाहिँ यत्तिकै भएको होइन । यसका लागि त उनले धेरै मेहनेत गरेका छन् ।
केही दिनअघि फरक धारको कार्यालयमा नै आएर सुवासले आफ्नो मनको पोयो फुकाए, विगत सम्झिए र स्मृतिहरुमा हराए ।
सुवास सानैदेखि पढ्न रुचाउँथे । यसको श्रेय उनको बुबालाई जान्छ । उहाको बुबा उदार कम्युनिस्ट नेता हुनुहुन्थियो (ध्यानबहादुर राउत । बुबा एकदम पढन्ते हुनुहुन्थ्यो,’ उनी भन्छन, ‘घरमा माक्र्स, लेनिन, ओशो ,चे ग्वेभराका पुस्तकहरु हुन्थे । म पनि ती पुस्तक पढ्न पाउँथे ।’
अध्यात्मासम्बन्धी पुस्तकहरु पढ्दै जाँदा सुवासचन्द्रमा ओशोबारे रस पस्यो । अनि उनी ध्यान साधनामा लाग्न थाले । त्यही क्रममा ओशो तपोवनमा डेढ वर्ष बस्ने भए सुवासचन्द्र ।
त्यही डेढ वर्षे बसाइले सुवासमा संगीतप्रतिको मोह ह्वात्तै बढायो । ओशो तपोवनमा चौबिसै घन्टाजस्तो संगीत बजिरहेको हुन्थ्यो । त्यसले सुवासमा पलाइसकेको संगीतको मोहलाई झन् परिस्कृत गरिदियो ।
अब उनी संगीतमा लाग्ने भए ।
अनि सोच्न थाले, कुन साधन सिक्ने होला ?
त्यसो त सुवासले आफ्नो ब्यान्ड पहिले नै बनाइसकेका थिए । उनी ब्यान्डका म्यानेजरमात्र थिए, इभेन्ट म्यानेजमेन्ट गर्ने कामहरु गर्थे उनी । ब्यान्डमा एक सदस्य थिए, रोशन शर्मा । शर्मा मोहनवीणा बजाउँथे । मोहनवीणा नयाँ साधन थियो, धेरैले यसलाई बजाउन त थालेका थिएनन्, कतिलाई त यसबारे थाहा पनि थिएन । तर, यसको संगीतबाट प्रभावित भइसकेका थिए सुवास ।
त्यसपछि उनले मोहनवीणा नै सिक्ने योजना बनाए ।
भारतमा पण्डित विश्वमोहन भट्टले सुरुवात गरेका थिए, मोहनवीणा । सन् १९९३ मा ग्रामी अवार्डसमेत जितेका विश्वमोहनले गितार र सितारलाई फ्युजन गराएर बनाएका थिए, मोहनवीणा ।
सुवासले उनको भिडियो हेर्न थाले । आफ्नै ब्यान्डका सदस्य रोशनले बजाउने गरेको मोहनवीणा र विश्वमोहनका भिडियोले सुवासलाई झन् त्यही बाजा बजाउन मन लाग्यो ।
‘मलाई मोहनवीणा सिक्न मन लाग्यो,’ सुवासले भने, ‘त्यसका लागि म भारत जाने भएँ, विश्वमोहन भट्टलाई भेट्छु र उहाँसँग नै मोहनवीणा सिक्छु भनेर ।’
सुवास भारत पुगे । उनीलाई भारत लाने उनकै प्रिय दाईं रोशन शर्मा थिए । उनीसँगै सिक्न जाने आउने गर्थिए , रोशन पनि । रोशन नेपालमा मोहनवीणा बजाउने सुवासबाहेकका अर्को एकजना मात्र हुन् ।
कलकत्तामा विश्वमोहन भट्टलाई सुवासहरुले स्टुडियोमा नै भेटे । त्यही दिन सुवासले मोहनवीणा किने, विश्वमोहनको अटोग्राफ पनि लिए । अनि विश्वमोहनले पनि सुवासलाई वचन दिए– हुन्छ म सिकाउँला ।
तर, खासै धेरै वास्ता गरेनन्, विश्वमोहनले । केही समय त्यहाँ बसेपछि सुवास फर्किए ।
‘खासमा मैले कपाल र दार्ही पालेको थिएँ, कानमा कुन्डल लगाएको थिएँ,’ सुवास भन्छन्, ‘सायद त्यही भएर गुरुले मलाई धेरै वास्ता गर्नुभएन, मैले संगीत सिक्छु भन्ने उहाँले सोच्नु नै भएन होला ।’ सुवासले चाहिँ त्यहाँ सिकेको कुरा नेपालमा आएर पनि अभ्यास गरिरहे, त्यसमा नै लागिरहे । अनि भिडियो बनाएर गुरुलाई पठाउन थाले ।
निरन्तर लगाव देखेपछि पन्डित विश्वमोहनले सुवासलाई सन्देश पठाए, ‘नयाँ क्लास सुरु भएको छ, तिमीलाई आउन मन छ भने आउ ।’
सुवास हतारिँदै कलकत्ता पुगे ।
‘मेरा लागि यसपटक गुरुले बोलाउनु ठूलो अवसर थियो, ठूलो मौका थियो,’ सुवासले भने, ‘म उत्साहित हुँदै गएँ ।’
यसपटक केही समय मोहनवीणा सिकेर सुवास नेपाल फर्किए । यहाँ आफ्नो पेट पाल्न अनेक काम गरे ।
विस्तारै सुवासलाई आफ्ना कामहरुप्रति वैराग लाग्न थाल्यो । उनी संगीतभन्दा पनि धेरै अन्य कामहरुमा तल्लीन हुन थाले ।
‘मनमा संगीतमा लाग्नुपर्छ भन्ने थियो,’ सुवासले भने, ‘तर, धेरै कामहरु गरिरहेकाले सकिरहेको थिइनँ ।’
तर, मनमा नै वितृष्णा उत्पन्न हुन थालेपछि एक दिन सुवासले संकल्प गरे– अब म संगीतमा मात्र लाग्छु । यसका लागि उनले केही साथीहरुसँग सल्लाह पनि गरे । सुवासलाई उनीले गूरू आमा मान्ने एलिजा तुलाधरले सल्लाह दिनुभयो- जानुस्, मुम्बई गएर संगीत नै सिक्नुस् ।
सुवासले आफू फेरि भारत आउन लागेको कुरा गुरु विश्वमोहनलाई भने ।
विश्वमोहनले सुवासको ह्वाट्सयापमा तुरुन्त रिप्लाइ गरे, ‘आयुष शर्मासँग भेट्नु र उनीसँग संगीत साधना पनि गर्नू ।’
सुवास मुम्बई पुगे । १६ घन्टासम्म संगीत साधनामा लागे । पछि आयुषसँग बसिरहेका सुवासलाई भेट्न विश्वमोहन आइपुगे । ‘गुरु पहिले कार्यक्रमका लागि बाहिर जानुभएको थियो,’ सुवास त्यतिबेलाको क्षण सम्झिन्छन्, ‘मैले गरेको साधना देखेर गुरु निकै खुसी हुनुभयो । उहाँले मलाई र आयुष गुरुलाई निकै धेरै प्रशंसा गर्नुभयो ।’
उनी भन्छन्- म भारत सबै काम छोडेर गएको थिए “मोहनबिणा “ सिक्न जसमा गूरूको यो बहादुर को तारिफ़ गर्नु भयो र आफ्नो प्रिय चेला बनाएर सगै हिडाउनु भयो । उनी भन्छन म आज सम्म उहाको आशिर्बादको चरण स्पर्श ले संगितको जिबन पाएको छु ।
सुवास र आयुषको साधनाबाट विश्वमोहन कति खुसी भएका थिए भने उनले यी दुईलाई आफ्ना कार्यक्रमहरुमा लैजान थाले । त्यस्ता कार्यक्रमहरुमा सुवासले अभिनेता अमिताभ बच्चन, बाँसुरी बादक पन्डित हरी प्रसाद चौरासिया ,गायिका लता मंगेस्करलगायतलाई भेट्न पाए ।
‘अहिले त त्यो सपना हो कि जस्तो पो लाग्छ,’ सुवास भन्छन्, ‘अझै पनि म काम गरिरहेको छु, संगीतमा नै लागिरहेको छु ।’
अझै पनि साधाना प्रत्येक दिन १३ घन्टा गरिरहेको छु , हतार छैन्न (एल्बम निकालने किनभने प्रथम म आफ्नै आत्मा लाई आनन्दित बनाउनु छ । उनी भन्छन ( ५ बर्ष भित्र केही नयाँ उपहार दिन्छु-संगीत प्रेमिलाई । यही काम मा दत(चित्त भएर लागिरहेको छु ।
आजभोलि पनि उनको पन्डित विश्वमोहनसँग सम्पर्क भइरहन्छ ।
‘गुरुले आजभोलि मेरो साधनाबारे खासै धेरै केही भन्नुहुन्न,’ सुवासचन्द्र भन्छन्, ‘पहिले कुन्डल लगाएको केटोले संगीतमा यति राम्रो गर्ला भन्ने सोचेको पनि थिइनँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।