काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा फागु पूर्णिमा अर्थात् होली हर्षोल्लासका साथ मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र रंगीन उल्लासको सन्देश बोकेको यो पर्व राजधानीको वसन्तपुर दरबार स्क्वायरमा विशेष रूपमा मनाइने गरिन्छ ।
युवायुवतीदेखि वृद्धसम्म रङ, अबीर साटासाट गर्दै आत्मीयता अभिव्यक्त गरिरहेका दृश्यले ऐतिहासिक दरबार क्षेत्र रङ्गीचङ्गी बनेको छ । यहाँ विदेशी पर्यटकहरूको समेत उल्लेख्य सहभागिता देख्न सकिन्छ । जसले वसन्तपुरको होलीलाई अन्तर्राष्ट्रिय स्वाद दिलाएको देखिन्छ ।
होली हिन्दू परम्परामा आधारित प्राचीन पर्व हो, जसले असत्यमाथि सत्यको विजय, वसन्त ऋतुको स्वागत र सामाजिक एकताको प्रतीक बोकेको मानिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले मानिसबीचको दूरी घटाउँदै सम्बन्धलाई पुनः सुदृढ गर्ने सांस्कृतिक अवसर प्रदान गर्ने गरेको छ । नेपालमा पहाडी जिल्लामा पूर्णिमाकै दिन र तराई क्षेत्रमा भोलिपल्ट होली मनाउने परम्परा चल्दै आएको हो ।
वसन्तपुरमा भने फागु पर्व विशेष विधि–विधानसँग जोडिएको छ। फागुन शुक्ल अष्टमीका ‘चीर’ ठड्याएपछि औपचारिक रूपमा होली सुरु भएको मानिन्छ। चीरमा राखिएका ध्वजा–पताका औषधोपचारमा काम लाग्ने विश्वाससमेत गरिन्छ। पूर्णिमाको दिन उक्त चीर विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गरिन्छ। चीरको खरानीको टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ ।
यससँगै टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र राँगाको मासु चढाई ‘जधु’ धारामा चुठाउने चलनले नेवारी समुदायको मौलिक परम्परा झल्काउँछ। यी संस्कार र संस्कृतिले होलीलाई केवल रंग खेल्ने पर्वभन्दा धेरै गहिरो सांस्कृतिक र ऐतिहासिक अर्थ प्रदान गर्ने गरेको छ ।
सरकारले होलीका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यो रंङको पर्व हो । तर, रङ केवल मनोरञ्जन मात्रै नभई सम्बन्ध पुनःस्थापनाको माध्यम पनि बन्दै गएको हो । ऐतिहासिक सम्पदाको काखमा मनाइने वसन्तपुरको होलीले काठमाडौंको सांस्कृतिक जीवन्तलाई झन् प्रष्ट बनाएको छ। रङले छोपिएका अनुहारहरूभित्र आपसी सद्भाव र सहअस्तित्वको भाव लुकेको छ । वास्तवमै फागु पर्वको असली महत्त्व पनि यही हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।