यही २१ फागुन मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि लागू हुने मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा तिनका समर्थकहरूले कुनै पनि किसिमका चुनावी प्रचार–प्रसारका गतिविधि गर्न पाउने छैनन् ।
आज प्रचार–प्रसारको अन्तिम दिन भएकाले उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने, अन्तिम भेटघाट गर्ने र समर्थन जुटाउने कार्यमा व्यस्त देखिएका छन् । जसमा ललितपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका जगदीश खरेल पनि एक हुन् । जो जेनजी सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् । पत्रकारिताबाट सत्ताको केन्द्रसम्म पुगेका खरेलका लागि यो निर्वाचन साधारण प्रतिस्पर्धा मात्रै हुनेछैन । प्रतिस्पर्धा पहिलो भएपनि, उनको नैतिकता, राजनीतिक दृष्टि र भरोसा योग्यताको भने अन्तिम परीक्षा हुने निश्चित छ ।
ललितपुर–२ मा यस पटक २३ प्रतिस्पर्धी चुनावी मैदानमा छन् । १७ जना उम्मेदवार विभिन्न पार्टीमा आबद्ध नेता छन् भने ६ जनाको उम्मेदवारी स्वतन्त्रबाट परेको छ । रास्वपाका खरेलसँगै नेकपा एमालेबाट प्रेमबहादुर महर्जन, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य, नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन चुनावी मैदानमा छन् ।
तर यस पटक सम्भवतः यो चुनावी क्षेत्रमा नयाँ इतिहास लेखिँदै छ । मतदानको दिन नजिकिँदै जाँदा खरेललाई सहज स्थिति बन्दै गएको छ । गत शनिवार यस निर्वाचन क्षेत्रमा रास्वपाका नेताहरू रवि लामिछाने र बालेन आफै उपस्थित हुँदा जुन जनलहर देखियो त्यसले पनि खरेललाई जितको नजिक पुर्याउने सङ्केत गरेको छ ।
अझ यसमाथि यसै क्षेत्रबाट प्रभावशाली व्यक्तित्व डा. सुदिन शाक्यले समेत खरेललाई समर्थन गरेपछि खरेलका लागि जीत धेरै टाढा देखिँदैन । डा. शाक्य तीनै व्यक्ति हुन् जो २०७९ मा भएको निर्वाचनमा ललितपुर २ बाट लौरो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए । उक्त चुनावमा उनले ९ हजार भोट ल्याएका थिए । डा.शाक्यको साथले यो क्षेत्रमा रहेको निर्णायक नेवारी भोट खरेललाई जाने देखिन्छ ।
को हुन खरेल ?
जगदीश खरेल आफैमा चिनाइरहनुपर्ने नाम होइन । भन्छन् नि,नाम नै काफी छ । उनले आफ्नो सार्वजनिक छवि यस्तै बनाएका छन् । चुनावमा होमिनुअघिसम्म खरेलले करिब चार महिना सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । जेनजी आन्दोलनपछिको सरकारमा उनको भूमिका केवल पदमा सीमित थिएन, त्यो पुस्तागत आकाङ्क्षाको प्रतिनिधित्व थियो ।
छोटो अवधिमा उनले डिजिटल अभिव्यक्ति, सूचना पहुँच र नागरिकको बोल्ने अधिकारलाई केन्द्रमा राख्दै राज्य र जनताको दूरी घटाउने प्रयास गरे । पत्रकार सुरेश रजकलाई सहिद घोषणा, पत्रकारिता क्षेत्रसँग सम्बन्धित नीतिगत पहल र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणमा उनले राजनीतिक समन्वयको भूमिका पनि खेले ।
मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए । तर, २३ र २४ भदौको आन्दोलन उनको जीवनको नयाँ घुम्ती बन्यो । एकाएक प्रश्न सोध्ने ‘हट सिट’ बाट उनी जवाफ दिनुपर्ने मन्त्रालयको कुर्सीमा पुगे । जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री नियुक्त भए ।
क्षमता प्रमाणित गरेका खरेल
निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलबीच देखिएका अविश्वास, आरोप–प्रत्यारोप र प्रक्रियागत असहमतिलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष भेटघाट र छलफलमार्फत सहकार्यको आधार तयार पारे । खरेलले साना–ठूला सबै दलका शीर्ष नेतृत्वसँग छुट्टाछुट्टै भेट गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हरसम्भव खटिए । जेनजी सरकार र प्रमुख ठुला दलका प्रमुख राजनीतिक नेतृत्वलाई एक ठाउँमा ल्याएर चुनावका लागि सहज वातावरण खेल्न महत्त्वपूर्ण भूमिका खेलेको धेरैको स्मृतिमा ताजै छ ।
छलफलका क्रममा दलहरूले उठाएका सुरक्षा, आचारसंहिता कार्यान्वयन, प्रचार–प्रसारको समान अवसर, डिजिटल माध्यमको दुरुपयोग नियन्त्रण तथा मतदाता शिक्षासम्बन्धी विषयमा मन्त्रीको हैसियतमा खरेलले गम्भीरतापूर्वक ध्यान दिएका थिए ।
खरेलले निर्वाचन आयोग,सुरक्षा निकाय तथा सरोकारवाला मन्त्रालयहरूसँग पनि नियमित समन्वय गर्दै सूचना प्रवाह पारदर्शी र व्यवस्थित बनाउन पहल गरे । चुनावी सरकारको मन्त्री पद छाडेर प्रत्यक्ष चुनावी मैदानमा उत्रनु उनको जोखिमपूर्ण राजनीतिक निर्णय पनि हो । उनले चाहेको भए केही समय अझै मन्त्रालयको नेतृत्व गरेर बस्न सक्थे । तर उनले पदीय क्षणिक लाभभन्दा पनि जनतामाझ गएर आफूलाई प्रमाणित गर्ने कठिन बाटो रोजे ।
पछिल्लो समय पुराना राजनीतिक दलका नेतृत्वप्रतिको जनआक्रोश, सत्तामुखी प्रवृत्तिप्रति बढ्दो वितृष्णा र नयाँ राजनीतिक संस्कृतिको मागबीच खरेलको कदमले केही मतदातालाई आकर्षित गर्ने सम्भावना बलियो देखिन्छ । प्रश्न सोध्ने भूमिकाबाट जबाफदेही बन्ने कुर्सीसम्म आइपुगेका खरेललाई मतदाताले परिवर्तनको संवाहक मान्न सक्छन् । तर यसको फैसला ताजा निर्वाचन मत परिणामले दिने नै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।