आइसिसी टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ । अघिल्लो विश्वकपको सेमिफाइनलमा पुग्ने तीन टोलीले यसपालि पनि सेमिफाइनलमा स्थान बनाएका छन् । समूह ए बाट भारत र दक्षिण अफ्रिका तथा समूह बी बाट इंग्ल्याण्ड र न्यूजिल्याण्ड जारी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेका हुन् ।
सन् २०२४ मा सेमिफाइनलमा स्थान बनाएको अफगानिस्तान जारी प्रतियोगितामा भने समूह चरणबाटै बाहिरियो । टी–२० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल चार मार्च तथा दोस्रो सेमिफाइनल खेल पाँच मार्चमा हुनेछ । सह आयोजक श्रीलंका र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएपछि नक आउट चरणका सबै खेल अब भारतमा हुनेछन् ।
आइतबार भएको महत्वपूर्ण खेलमा वेष्ट इण्डिजलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश भएसँगै टी–२० विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । चार मार्चमा सुरु हुने न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल कोलकातास्थित इडेन गार्डेन रंगशालामा बेलुका ७ः १५ देखि सुरु हुनेछ ।
प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा प्रवेश भएके हो । उसले समूह चरणमा चार खेल खेल्दा चारमैै जित हासिल गरेको थियो । त्यस्तै, दक्षिण अफ्रिकाले सुपर आठमा पनि आफूले खेलेको तीन वटै खेलमा विजयी प्राप्त गर्यो । ऊ अघिल्लो टी–२० विश्वकपको उप विजेता टोली पनि हो ।
विश्वकपको इतिहासमा अहिलेसम्म दक्षिण अफ्रिकाले एक पटक पनि उपाधि हात पार्न सकेको छैन । प्रतियोगितामा अपराजित यात्रामा रहेको दक्षिण अफ्रिका सेमिफाइलनमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । त्यस्तै, न्यूजिल्याण्डले पनि जारी विश्वकपमा ठिकठाक प्रदर्शन गरेको छ । न्यूजिल्याण्ड राम्रो रन रेटका कारण पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश भएको हो ।
उसले समूह चरणमा चार खेल खेल्दा तीनमा वियजी तथा एक खेलमा पराजय बेहोर्यो । सुपर आठमा उसले एक खेलमा जित, एक खेलमा हार तथा एक खेल वर्षाका कारण अंक बाडेको थियो । टी–२० विश्वकपमा न्यूजिल्याण्ड पनि अहिलेसम्म ट्रफी विहीन छ । सन् २०२१ को विश्वकप फाइनलमा पुगेको न्यूजिल्याण्ड अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।
त्यस्तै, घरेलु टोली भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल ५ मार्चमा मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । भारत सबैभन्दा बढी ६ पटक टी–२० विश्वकपको सेमिफाइलमा प्रवेश भएको छ । समूह चरणमा चार खेल खेल्दा चारमै विजयी हासिल गरेको उसले सुपर आठमा भने तीन खेलबाट दुईमा जित तथा एक खेलमा हार बेहोरया्े । भारत अघिल्लो संस्करणको टी–२० विश्वकप विजेता टोली पनि हो ।
अमेरिका र वेष्ट इण्डिजमा आयोजना भएको प्रतियोगितामा भारतले फाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । त्यस्तै, भारतले २००७ मा आयोजना भएको पहिलो टी–२० विश्वकपको उपाधि पनि जितेको थियो । ऊ आगामी खेलहरुमा पनि सानदार प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यस्तै, इंग्ल्याण्ड पनि प्रतियोगितामा उत्कृष्ट लयमा छ ।
ऊ २०१६ को टी–२० विश्वकप यता लगातार सेमिफाइनलमा प्रवेश भएको छ । हालसम्म उसले सन् २०१० र २०२२ गरी दुई पटक टी–२० विश्वकपको उपाधि उचालेको छ । जारी प्रतियोगितामा इंग्ल्याण्डले समूह चरणमा चार खेल खेल्दा तीनमा जित तथा एकमा हार बेहोरेको थियो । तर, उसले सुपर आठमा भने तीन खेल खेल्दा तीनैमा विजयी हासिल गर्यो । तेस्रो पटक टी–२० विश्वकप खेलेको नेपाल भने समूह चरणबाटै बाहिरियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।