२४ फागुन, २०८२ आइतबार
March 8, 2026

आज दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् । यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने खगोलविद् बताउँछन् । यो ग्रहण विशेष किसिमको रहने उनीहरुको भनाई छ।

मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो । काठमाडौँमा साँझ ६ बजेर ४ मिनेटमा ग्रहणसहित चन्द्रमा उदाउँने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ । 



चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन् । सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ । यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो । यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो । सूर्यग्रहण भने नेपालबाट अब २०८४ मात्रै देखिने खगोलविद्‍ले बताएका छन् । 

कसरी लाग्छ सूर्य र चन्द्रग्रहण ?



सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुँदा चन्द्र र सूर्य ग्रहण लाग्ने गर्छ। जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामी चन्द्रग्रहण लागेको देख्छौँ। त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण लागेको देखिन्छ । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् ।

तर, सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन्। धेरै मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन् ।  वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन । तर, सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । 
 



  • प्रकाशित मिति : १९ फागुन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया