ग्रिसमा किरियाकोसकाे विजय : 'मित्सोताकिस' व‌ंशकाे पुनराेदय

ग्रिसमा भर्खरै सम्पन्न आम निर्वाचनले दक्षिणपन्थी (सेन्टर–राइट) दल न्यु डेमोक्रेसीलाई बहुमतसहित सत्तामा पुर्याएको छ । न्यु डेमोक्रेसीका नेता किरियाकोस मित्सोताकिस राष्ट्रपति बन्दै छन् । 

झन्डै ९० प्रतिशत जिल्लाको मतपरिणाम आउँदा मित्सोताकिसको दल न्यु डेमोक्रेसीले ३९‍.८ प्रतिशत मत पाएको छ । सत्तारुढ वामपन्थी दल सिरिजा ३१.६ प्रतिशत मत पाएर दोस्रो स्थानमा पुगेको छ । अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री एलेक्सिस सिप्रासले प्रतिद्वन्द्वी मित्सोताकिससँग हार स्विकारेका छन् । 

अहिलेको प्रक्षेपणले विपक्षी दल न्यु डेमोक्रेसीलाई स्पष्ट बहुमत मिल्ने देखाएको छ । न्यु डेमोक्रेसीका नेता मित्सोताकिसले परिवर्तनका लागि आफूलाई बलियो म्यान्डेट दिइएको भन्दै आफू ‘सबैको साझा राष्ट्रपति’ बन्ने बताएका छन् । 

पछिल्लो दशक ग्रिसको सत्तामा वाम–दक्षिण संघर्ष चल्यो । सन् २०१२ को मेमा भएको निर्वाचनमा न्यु डेमोक्रेसी सबैभन्दा ठूलो दल बनेको थियो । तर, उसले सरकार बनाउन सकेन । कुनै पनि दलले सरकार बनाउन नसकेपछि अर्को महिना फेरि निर्वाचन गरियो । 

दाेस्राे निर्वाचनमा न्यु डेमोक्रेसी अझ धेरै सिट पाएर ठूलो दल बन्यो, र वामपन्थीसहित विभिन्न दलको सहयोगमा न्यु डेमोक्रेसीका तत्कालीन नेता एन्टोनिस समरसले गठबन्धन सरकार बनाए ।

सन् २०१४ मा संसद्ले नयाँ राष्ट्रपति चुन्न नसकेपछि संसद् भंग गरियो, र जनवरी २०१५ मा संसदीय निर्वाचन भयो । यो निर्वाचनबाट अहिलेको सत्तारुढ दल सिरिजा पहिलो पार्टी बन्यो । न्यु डेमोक्रेसीको हातबाट सत्ता फुत्कियो ।



लामाे स‌ंघर्षपछि मुस्किलले सत्तामा पुगेकाे वामपन्थी दलले सत्ता टिकाउन सकेन । साढे ४ वर्षपछि दक्षिणपन्थी दल न्यु डेमोक्रेसी बहुमतका साथ सत्तामा फर्किएको छ । र, सत्तामा आएका छन्, ग्रिसको खान्दानी वंशका मित्सोताकिस । मित्सोताकिसको उदयसँगै ग्रिसको राजनीति पुरानै धारमा फर्किएको विश्लेषण हुन थालेको छ । 

ग्रिसको सत्तामा सोसलिस्ट पापेन्ड्र्यु र कन्जरभेटिभ करमान्लिस परिवारसँगै मित्सोताकिस परिवारले लामो समय पकड राख्यो । किरियाकोसका पिता कोन्स्तान्टिनोस मित्सोताकिस १९९० को दशकमा ग्रिसका प्रधानमन्त्री थिए । किरियाकोसकी दिदी एथेन्समा सन् २००४ मा ओलम्पिक हुँदा त्यहाँकी मेयर थिइन् । पछि उनी ग्रिसकी विदेशमन्त्री भइन् । 



000

ग्रिसकाे इतिहासमा लामाे समय दक्षिणपन्थी र समाजवादी दलबीच सत्तासंघर्ष चल्याे । त्यसमा पनि अधिकांश समय तीन परिवार (पापेन्ड्र्यु, करमान्लिस र मित्सोताकिस) ले सत्ता घुमाए । 

किरियाकोसका पिता कोन्स्तान्टिनोस मित्सोताकिसले सन् १९९० देखि १९९३ सम्म ग्रिसको सत्ता सम्हालेका थिए । १९९३ देखि १९९६ सम्म सत्ता समाजवादी नेता एन्ड्रिज पापेन्ड्र्युको हातमा फर्कियो । मित्सोताकिसभन्दा पहिले १९८१ देखि १९८९ सम्म उनी नै सत्तामा थिए ।

१९९६ देखि २००४ सम्म सत्तामा रहे, अर्का समाजवादी नेता कोस्टास सिमिटिस । 

सन् २००४ मा ग्रिसको सत्ता न्यु डेमोक्रेसीको हातमा आयो । २००४ देखि २००९ सम्म न्यु डेमोक्रेसीका नेता कोस्तास करमान्लिसले सरकार चलाए । 

२००९ देखि २०११ सम्म एन्ड्रिज पापेन्ड्र्युका छोरा जर्ज पापेन्ड्र्यु सत्तामा रहे । २०११ को नोभेम्बरदेखि २०१२ को मेसम्म अर्थविद् प्राध्यापक ल्युकस पापाडेमसले अन्तरिम सरकार चलाएर निर्वाचन गराए । एक महिनाको अन्तरालमा भएका दुई निर्वाचनले न्यु डेमोक्रेसीलाई सत्तामा फर्कायो । तर, यसपटक उसको मुख्य प्रतिस्पर्धी समाजवादी नभई वामपन्थी दल थियो । 

दक्षिणपन्थी कन्जभेटिभ दल र समाजवादी दलबीच आलोपालोजस्तै घुमिरहेको ग्रिसको सत्तामा पहिलोपटक २०१५ मा वामपन्थी दल उदायो । 

सन् २०१५ मा वामपन्थी दलले सरकार बनाउँदा परम्परागत राजनीतिमा 'ब्रेक थ्रु' भएको विश्लेषण गरिएको थियो । तर, अहिलेको निर्वाचनले ग्रिसलाई फेरि पुरानै मित्सोताकिस वंशमा फर्काइदिएको छ ।


  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार १२:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया