२४ फागुन, २०८२ आइतबार
March 8, 2026

निर्वाचनको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा बम विस्फोट, ४ जना घाइते
रातु खोलाको पुलमा फेला परेको विस्फोटक पदार्थ । तस्बिर सौजन्य: बर्दीबास प्रहरी ।

धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्वपश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन् । विस्फोटमा मिथिला-८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । 

विस्फोटमा घाइते भएका दुवै बालबालिकाको अवस्था सामान्य छ । विस्फोट भएको बस्तु के रहेको थियो भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईजना पैदलयात्री घाइते भएका छन् । प्रहरीका अनुसार बर्दिबास नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत रातु पुलमा दुईवटा शङ्कास्पद वस्तु देखिएका थिए । बर्दिबासबाट पूर्वतर्फ जाँदै गरेका तीन जनामध्ये एक जनाको खुट्टा शङ्कास्पद वस्तुमा लाग्दा विस्फोट भएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास बमले जानकारी दिए ।

विस्फोटको छर्रा लागेर कैलालीको घोडाघोडी–१० घर भई हाल बर्दिबासस्थित वर्कसपमा काम गर्ने १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरूको बायाँ खुट्टा र ढाडमा सामान्य चोट लागेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।



घटनास्थलमा करिब २०० ग्राम तौलको अर्को शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरी निष्क्रिय पारिएको छ ।

बम कसले र किन राखेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ ।



  • प्रकाशित मिति : १९ फागुन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया