२४ फागुन, २०८२ आइतबार
March 8, 2026

निर्वाचनको सम्पूर्ण तयारी पूरा
२३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै  सम्पन्न काम भइसकेका छन् ।

आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उनले जानकारी दिए । पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक कार्य गरिरहेका छन् । स्थानीय स्तरमा राजनीतिक दल र उम्मेदवारसँग सर्वदलीय बैठक बसी मतदानका विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको प्रवक्ता भट्टराईले बताए ।



उनले भने, 'केन्द्रीय तहको तयारी सकेर आयोग अहिले २३ हजार ११२ मतदान केन्द्रसम्म पुगेको छ । मतदान अधिकृतले केन्द्रको सूचना प्रकाशन र प्रशासनिक तयारी गरिरहनुभएको छ। सम्भवतः आज सबै मतदान केन्द्रमा राजनीतिक दल र उम्मेदवारसँगको छलफलबाट साझा समझदारी तयार भइसकेको छ।' भोलिसम्म मतदान केन्द्रको बुथ निर्माण गरिसकेपछि पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने उनले जानकारी दिए ।

मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको छ । सम्पूर्ण जनशक्ति र सामग्री मतदान केन्द्रमा पुगिसकेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताए ।  





  • प्रकाशित मिति : १९ फागुन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया