२४ फागुन, २०८२ आइतबार
March 8, 2026

नेपालमा हालसम्म कस्तो अवस्थामा कुन दलले ल्याएका छन् बहुमत ?

जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई यसपटक विशेष रूपमा हेरिएको छ । नेपालको संविधान र कानुन अनुसार २७५ सांसदमध्ये १६५ जना प्रत्यक्ष चुनिएर आउँदै छन् भने बाँकी ११० जना चाहिँ मतदाताले राजनीतिक दललाई दिएको मतका आधारमा ती दलबाट छानिएर आउनेछन् । 

यसपटक प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा ६४ दलका दुई हजार २६४ सहित तीन हजार ४०५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।  यस्तै, समानुपातिकतर्फ ५८ चुनावचिह्नबाट ६४ दलका तीन हजार २७३ जना उम्मेदवार छन् प्रतिस्पर्धामा छन् ।  



चुनावकै लागि भनेर योपटक विभिन्न नयाँ राजनीतिक दलहरू पनि थपिएका छन् । पुराना र नयाँ दल तथा तिनका नेताहरूले अहिले एकल बहुमत ल्याउने दाबी पनि गरिरहेका छन् । 

राणाशासन अन्त्यपछि संसदीय प्रजातन्त्र स्थापना भए देखिको ७५औँ वर्षमा नवौँपटक संसद्को निर्वाचन हुँदै छ । यसबीचमा ३० वर्ष पञ्चायती व्यवस्था थियो । त्यसबेला संसदीय निर्वाचन भएन । राष्ट्रिय पञ्चायतको मात्रै निर्वाचन भयो । पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको थियो । 



२०१५ सालमा भएको नेपालको पहिलो संसदीय निर्वाचन अर्थात् आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । १०९ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७४ सिट जितेको थियो । देशमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्षको नेतृत्व गर्ने विद्रोही शक्ति कांग्रेसलाई पहिलो संसदीय निर्वाचनमै दुई तिहाइ बहुमत प्राप्त भएको यो ऐतिहासिक र दुर्लभ राजनीतिक घटना हो । निर्वाचनपछि दुई तिहाइ बहुमत प्राप्त दल कांग्रेसबाट बीपी कोइराला प्रधानमन्त्री बने । उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । 

त्यसपछि २०४८ मा आम चुनाव भएको थियो । त्यो पटक पनि कांग्रेसले नै बहुमत पायो । २०५ सिटमध्ये ११० सिट जित्यो । एमालेले ६९ सिट जित्यो । निर्वाचनपछि कांग्रेसको बहुमतीय एकल सरकार बन्यो । गिरिजाप्रसाद कोइराला कांग्रेसबाट प्रधानमन्त्री भए । 

यसपछि २०५१ मा मध्यावधि आम चुनाव भयो । एकपटक दुई तिहाइ र एकपटक एकल बहुमतीय सरकार गठन गरेको कांग्रेसलाई जनताले त्यो बेला भने स्वीकार गरेनन् । कांग्रेस दोस्रो दल बन्दा नेकपा एमाले पहिलो दल बनेको थियो । एमालेले २०५ सिटमध्ये ८८ सिट जित्दा कांग्रेस ८३ सिटमा सीमित भयो । 

यसरी स्थापनाको साढे चार दशकमा कम्युनिस्ट पार्टी पहिलो दल मात्रै भएन, अल्पमतको पहिलो कम्युनिस्ट सरकार चलायो । मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट नेता भए । यसपछि २०५६ सालमा आम चुनाव भयो । निर्वाचनबाट फेरि कांग्रेस नै पहिलो दल बन्यो । जतिबेला देश माओवादी युद्धमा थियो । तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाएका थिए । उनले संकटकाल लगाए । ज्ञानेन्द्रको यस कदमविरुद्धको सात राजनीतिक दल र युद्धरत माओवादी मिलेर जनआन्दोलन गरे । 



जनआन्दोलन सफल हुँदा राजतन्त्र ढल्यो र संविधानसभाको निर्वाचन भयो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन विद्रोही दल नेकपा माओवादी पहिलो शक्ति बन्यो । ६०१ सभासदमध्ये २२९ जना सभासद माओवादीको थियो । कांग्रेसको ११५ जना हुँदा एमालेको १०८ जना थिए । 

यसरी पहिलो संविधानसभा निर्वाचनमा पनि विद्रोही शक्ति तत्कालीन नेकपा माओवादीलाई जनताले विश्वास गरेर पहिलो दल बनाएको देखिन्छ । तर, पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । दोस्रो संविधानसभा निर्वाचन २०७० मा भयो । त्यसबेलासम्म माओवादीले तत्कालीन बहार जोगाइराख्न सकेन । निर्वाचन परिणामले फेरि कांग्रेसलाई पहिलो दल बनायो । त्यसबेला कांग्रेसले २०६ सिट जित्यो । एमालेको १८४ सिट जित्दा माओवादी भने ८३ सिटमा खुम्चियो । 

त्यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर निर्वाचन लडेका एमाले र माओवादीले झण्डै दुई तिहाइ सिट जिते । एमाले १२१ सिट जित्दै पहिलो भयो भने माओवादीले ५३ सिट जित्यो । यो भनेको वाम गठबन्धनको झण्डै दुई तिहाइ बहुमत हो । कांग्रेसले भने ६३ सिट मात्रै जितेको थियो ।

यसरी वाम गठबन्धन बन्दा पहिलोपटक नेपालकै इतिहासमा अभूतपूर्व जनमत कम्युनिस्ट पार्टीले पायो । एमाले र माओवादीबीच एकता भयो । ओली शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्री बने । तर, उनले पार्टीको कलहले दुईपटक संसद् विघटन गरे । दुवैपटक संसद् पुनःस्थापना भयो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । 

यसपछि, २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । त्यसबेला कांग्रेस, माओवादी, नेकपा एसलगायत दलहरूले गठबन्धन गरे । एमाले र राप्रपाको पनि गठबन्धन भयो । यस्तोमा निर्वाचनबाट कांग्रेस पहिलो दल बन्यो ।

कांग्रेस ८९ सिटसहित पहिलो बन्दा एमाले ७८ सिटसहित दोस्रो दल बन्यो । माओवादी ३२ सिट, नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी २० सिट ल्याउन सफल भयो । त्यस्तै, राप्रपाले १० सिट जित्यो । पछि उपनिर्वाचनमा रास्वपाले तनहुँ–१ मा भएको उपनिर्वाचन जित्दै २१ सिट पुर्यायो । तर, संसद्मा कुनै दलको बहुमत भएन । जसकारण सरकारनै अस्थिर बन्यो ।

पछिल्लोपटक, साढे चार महिनाअघि मात्रै  २३ र २४ भदौमा भएको जेनजी विद्रोहअघि कांग्रेस–एमाले सम्मिलित गठबन्धन सरकार थियो । तर, भ्रष्टाचार र सुशासन कायम गर्न नसकेको र सामाजिक संजाल सञ्चालनमा प्रतिबन्ध लगाएको भन्दै आक्रोशित जेनजी पुस्ताले विद्रोह गर्दा ओली सरकार ढल्यो र प्रतिनिधिसभासमेत विघटन भयो ।

अब २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । योपटक हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टी, कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी, दिनेश प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) लगायत नयाँ दल पनि चुनावमा होमिएका छन् । 

विगतको इतिहासलाई फर्केर हेर्दा कुनै पनि राजनीतिक विद्रोहको नेतृत्व गर्ने दललाई जनताले पहिलो दल बनाउने गरेको देखिन्छ । परिवर्तनको खोजीमा भएको जेनजी आन्दोलनपछिको चुनाव र थपिएका नयाँ मतदाताका कारण चुनावी परिणामले नयाँ नेतृत्वकर्ता राष्ट्रिय दल जन्माउने सम्भावना प्रवल रहेपनि जनताको पहिलो रोजाइ कुन दल पर्ला ? त्यो भने आगामी निर्वाचन नतिजाले देखाउने नै छ ।

  • प्रकाशित मिति : १९ फागुन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया