जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित आज चारजनालाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय थापालाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरिएको जनाएको छ ।
लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा जेनजी आन्दोलनका क्रममा फरार भएका सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
उनीसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुरको लोकन्थली घर बताउने ३३ वर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशी गौतम र काठमाडौँको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेललाई समेत नियन्त्रणमा लिइएको उनले बताए ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले आज अपरान्न लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत फेला बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको प्रवक्ता भट्टले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।