जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा आक्रमण गर्ने ३६ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ । त्यसबाहेक कान्तिपुर पब्लिकेशन्स, चन्द्रागिरि हिल्स र गैरआवासीय नेपाली उपेन्द्र महतोको निजी सम्पत्तिमाथि आक्रमण र तोडफोड गर्ने अभियोग लागेका थप १० जनाविरुद्ध मुद्दा दर्ता भएको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी भदौ २३ गते १९ जनाको ज्यान गएपछि भदौ २४ देशका विभिन्न भागमा आन्दोलनहरू भएका थिए ।त्यसक्रममा सिंहदरबार, सर्वोच्च अदालत, व्यवस्थापिका संसद् र राष्ट्रपतिको कार्यालय लगायत विभिन्न सार्वजनिक संस्थालगायत देशैभरिका प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनीका घटनाहरू भएका थिए ।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार मङ्गलबार घटनामा संलग्न भएको अभियोग लागेकाहरूविरुद्ध मुख्यत: आपराधिक उपद्रवसम्बन्धी र एकाध डाकासम्बन्धी कसुर तथा हातहतियार खरखजाना मुद्दाहरू दर्ता भएका छन् ।
'आज अदालतमा आपराधिक उपद्रवलगायतका जम्मा १० वटा मुद्दा दर्ता भएका हो । यसमा सार्वजनिक संस्थाहरू जस्तो विभिन्न प्रहरी कार्यालयहरू र सर्वोच्च अदालतसमेत गरेर सार्वजनिक सम्पत्तिबारे सात वटा र व्यक्तिगत सम्पत्ति तोडफोडतर्फ तीन वटा मुद्दा दर्ता भएका छन्,' अदालतका स्रेस्तेदार भट्टराईले भने ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एउटा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।
असोज पहिलो साता गठन भएको उक्त आयोगको पटकपटक थपिँदै आएको म्याद आउँदो फागुन २२ सकिँदै छ । आन्दोलन माग गर्ने जेन जी प्रतिनिधिहरूले उक्त आयोगले छिटो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै माग गर्दै आएका छन् ।
त्यसबारे सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।