काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा गृह मन्त्रालयमातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उनलाई परिचय पत्र उपलब्ध गराएको हो ।
विभागका तर्फबाट महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।
नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।
विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।