आइसिसी टी ट्वान्टी विश्वकप टोलीकाे बिदाइ

काठमाडौं– सिंगापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे । 

नेपाली टोली दिउँसो १ बजे मलेसिया प्रस्थान गर्दै छ । सिंगापुरमा आयोजना हुने उक्त आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिंगापुर जानुअघि मलेसिया जान लागेका हुन् ।

मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिंगापुर जानेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

त्यस्तै, साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिंगापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुँदै छ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।





  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार १४:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया