Tue, 16 Jul, 2019


जसले गितार बजाएरै काठमाडौंमा घर बनाए
फरकधार / असार २६, २०७६
तस्वीर: सन्जीवकाे फेसबुकबाट ।

‘तँ गितार बजाउन नछोड्, तँलाई बरु गितार बजा’को घन्टाको हिसाब गरेर पैसा दिन्छु ।’



बुबा तुन्ज बराइलीले यस्तो भन्दा सन्जीव १८ वर्षका मात्र थिए । सामन्यतया नेपालमा यो उमेरका छोराछोरीलाई बाबुआमा पढाइमा ध्यान बढी दिन निर्देशन दिन्छन् । 

तर, नेपाल कम्युनिस्ट पार्टीका नेतासमेत रहेका तुन्जलाई चाहिँ छोराले गितार बजाएर ‘खान्छ’ भन्ने लागिसकेको थियो । त्यसैले त उनी छोरालाई भन्थे– गितार बजा, तैंले प्राक्टिस गरेको घन्टाअनुसार तँलाई पैसा दिन्छु ।

‘बाबाको यही वाक्य मैले आजसम्म सुनेका सबैभन्दा मीठा रागमध्येको एक हो,’ केही दिनअघि डिल्लीबजारको स्टुडियोमा सन्जीवले सुनाए, ‘बुबाले नै मलाई गितार बजाउन प्रेरित गर्नुभयो ।’

१५ हजारभन्दा धेरै गीतमा गितारको धुन भरिसकेका सन्जीव कृपा अनप्लग्ड, नेपाल आइडलहरुमा पनि सबैभन्दा बढी रुचाइने गितारिस्टमा पर्छन् । 

अहिलेका चल्तीका गितारिस्ट सन्जीवले सानै हुँदा गितार छुन पाए । 

‘त्यतिबेला म पाँच कक्षामा पढ्थेँ,’ सन्जीवले सुनाए, ‘मेरो साथी थियो, किरण रसाइली । उसले त्यति बेला गितार बजाउन थालिसकेको थियो । पहिलो पटक त्यही किरणको हातमा मैले गितार देखेँ ।’

किरण र सन्जीव नातेदार पनि थिए । त्यसैले अझ नजिकिए । 

अनि किरणको गितारका ‘स्ट्रिङ्स’मा सन्जीवले औंला चलाए, त्यसबाट मीठो धुन निस्कियो । 

त्यही धुनमा त्यति बेलाबाट नै झुम्न थाले, सन्जीव । गितारको धुनमा भुल्न थालिसकेका सन्जीवलाई सहज चाहिँ थिएन । उनी गितार सिक्न किरणको घरसम्म जान पर्ने भयो । 

‘स्कुलमा समय हुँदैनथ्यो,’ सन्जीवले आफू ११ वर्षजतिको हुँदाको कुरा सम्झिए, ‘किरणको घर निकै टाढा थियो । तर, म गितार बजाउन किरणको घर गइनँ भने त्यो दिन निरर्थक भएको जस्तो सोच्थेँ, जसरी हुन्छ उसको घरमा पुग्थेँ ।’

केही दिनपछि त सन्जीवलाई गितारको ‘लत’ लागिहाल्यो । ‘अनि घरमा गितार किनिदिनँ भनेँ,’ सन्जीव सम्झिन्छन्, ‘गितार सिकिरहेको कुराले खुसी भए पनि मलाई घरमा गितार किनिदिनँ पैसा भएन ।’

घरमा पैसा नभए पनि सन्जीवले ‘रोइकराई’ गर्न छाडेनन् । 

सन्जीवले गितार किनिदेउ भनेर भन्न थालेको झन्डै एक वर्ष भइसकेको थियो । त्यहीबीच सन्जीव निकै बिरामी परे । उनलाई उपचारका लागि अस्पताल लगिने भयो । 

‘गितार किनिदए अस्पताल जान्छु, नत्र जान्नँ,’ सन्जीवले अब ढिपी गर्न थाले । 

बिरामी छोरो गितार किनिदिए मात्र अस्पताल जाने भएपछि उनका बाबुले त्यतिबेला प्रण गरे– हुन्छ, अस्पताल जाऔँ अनि किनिदिउँला ।

अस्पतालमा उपचार गरेर त फर्किए सन्जीव । तर, घरमा गितार आएन । अलिक ठिक भएपछि चाहिँ उनलाई बाबुले लगेर गितार सिकाउने इन्स्टिच्युटमा भर्ना गरिदिए । 

‘विर्तामोडको इन्स्टिच्युटमा त्यसपछि मैले गितार सिक्न थालेँ,’ सन्जीवले भने, ‘बुबाले एउटा पुरानो गितार पनि जोहो गरिदिनु भयो ।’

बाबुले नै सपोर्ट गरेकाले सन्जीवले गितार बजाउन कुनै समयसीमा तोकेनन् । उनी घरमा जतिबेलै गितार बजाउँथे, घरका अन्य सदस्य उनको तारिफ नै गरिदिन्थे ।

सन्जीवको गितारप्रतिको माया देखेर उनका बाबुले त्यति बेला नै सन्जीवलाई भन्न थाले– तँ भोलि राष्ट्रियस्तरको गितारिस्ट बन्नू पर्छ है ।

सन्जीवलाई गीतसंगीतमा लाग्न परिवारले दिएको यो साथले उत्साहित बनायो । उनले स्कुलमा पढ्दापढ्दै एउटा ब्यान्ड गठन गरे ।

तर, स्कुल सकिएपछि पढ्नका लागि सन्जीव काठमाडौं आए । त्यो ब्यान्ड यसै अलपत्र पर्यो । ‘पिस नाम राखेर ब्यान्ड खोलेका थियौँ,’ सन्जीव भन्छन्, ‘अहिले त त्यो ब्यान्डका साथीहरु कहाँ छन् भन्ने पनि थाहा छैन ।’

सानैमा खोलेको त्यो ब्यान्डको अत्तोपत्तो नभए पनि काठमाडौंमा सन्जीवले आफ्नो गितार यात्रालाई चाहिँ निरन्तरता दिइरहे । व्यवस्थापन पढ्न कलेज भर्ना भएका सन्जीवले पढाइमा थोरै समय, गितारमा धेरै समय दिन थाले । 

यहीबीच सन्जीवले एउटा कार्यक्रममा गितार बजाउन पाए । ‘पर्यटन बोर्डको हलमा भएको कार्यक्रम थियो त्यो,’ सन्जीव सम्झिन्छन्, ‘पहिले कोठामा आफ्ना लागि बजाइरहेको मैले पहिलो पटक त्यहाँ धेरै जनाको अगाडि गितार बजाएँ ।’

यही कार्यक्रममा पहिलो पटक सन्जीवले गितार बजाएवापत् पैसा पनि कमाए । ‘पाँच सय रुपैयाँ खाममा हालेर पाएको थिएँ,’ सन्जीव भन्छन्, ‘त्यो पैसा मैले आमालाई दिएँ ।’

त्यही पाँच सयले सन्जीवलाई लाग्यो– गितार बजाएर पनि पैसा कमाउन सकिँदो रहेछ । उनका बाबु र आमा पनि अब यो कुरामा विश्वस्त हुन थाले ।

यही मौकामा सन्जीवले एउटा ‘अवसर’ पनि पाए । त्यो हो– गायक रामभक्त जोजेजुसँग सहकार्य गर्ने । 

‘उहाँहरु अन्नपूर्ण होटलमा गजल साँझ गर्नुहुन्थ्यो,’ सन्जीवले भने, ‘गितारिस्ट चाहिएको रहेछ, मैले अडिसन दिएँ र छानिएँ ।’

त्यसपछि सन्जीवले गितार बजाएर आफूलाई पुग्ने खर्च जुटाउन थाले । दिउँसो उनी केही स्कुलहरुमा म्युजिक सिकाउँथे, साँझ गजल साँझमा जान्थे । 

अनि विस्तारै सन्जीवको क्षितिज फराकिलो हुन थाल्यो । 

गितारमा राम्रो गरिरहेका सन्जीवको औपचारिक शिक्षा चाहिँ खासै जम्न सकेन । उनले बाबालाई एक दिन भने– कि अब म गितारमा मात्र लाग्छु, कि पढाइमा मात्र । 

सन्जीवले गितारमा नै राम्रो गर्न सक्ने कुरा उनका बाबुले बुझिसकेका थिए । त्यसैले उनले छोरालाई भने, ‘तिमी आफूलाई जे राम्रो लाग्छ, त्यही गर ।’

त्यसपछि सन्जीव औपचारिक रुपमा गितार सिक्न थाले । ‘पहिलो पटक सचिन सिंह सरकोमा पुगेँ,’ उनले भने, ‘उहाँले गोपाल रसाइलीकहाँ जानु भन्नुभयो ।’ 

त्यहाँ गितार सिकेपछि उनी नेपाल म्युजिक स्कुलमा पनि गए । त्यहाँ उनले थियोरी क्लास लिए । 

‘औपचारिक रुपमा गितारबारे सिकिसकेपछि,’ सन्जीवले सुनाए, ‘मैले आफ्नै स्टुडियो खोलेँ ।’

अब त सन्जीवलाई चिन्नेहरु निकै बढिसकेका थिए । उनले कम्पोज गरेको गीत ‘मेरी आमा’ निकै चर्चित पनि बन्यो । 

उनले आफ्नै स्टुडियो खोलेपछि उनको व्यस्तता पनि निकै बढ्यो । एकै दिनमा १०–१५ गीतमा गितारको धुन भर्ने कामहरु पाउन थाले । 

‘लाइभ सो, कन्सर्ट, एड्रिन दाइसँगको सहकार्य त छँदै थियो,’ उनले भने, ‘स्टुडियोले गर्दा म निकै व्यस्त हुन थालेँ ।’

सन्जीवले गितारमा कति समय दिन थाले भने उनले २०७० सालयता मनग्य कमाउन पनि थालिसकेका छन् । योबीचमा उनलाई बारम्बार ब्यान्डहरुबाट अफर त आइरहन्छन्, तर उनी आफ्नै ‘मुड’मा काम गर्न पाइने भएकाले ब्यान्डहरुमा जोडिन चाहँदैनन् । 

‘यता काम राम्रो नभएको भए जाने पनि थिएँ होला,’ उनी भन्छन्, ‘बरु मलाई एउटा सोलो एल्बममा काम गर्न मन छ । यो पनि छिट्टै पूरा गर्नेछु ।’ 

सन्जीवले केही वर्षयता गितारमा कति राम्रो काम गरेका छन् भने उनले गितार बजाएरै काठमाडौंमा घर बनाएका छन् । ‘अहिले त मेरो बाबाआमा पनि यही घरमा बस्नुहुन्छ,’ सन्जीवले भने, ‘गितार बजाएर पनि काठमाडौंमा घर बनाउन सकिँदो रहेछ, यही कुराले मलाई खुसी दिन्छ ।’

सन्जीवलाई यो सफलताको पछाडि आफ्नो लगन र प्यासन, अनुशासन कारण भएजस्तो लाग्छ ।

र, सबैभन्दा ठूलो कारण चाहिँ उनलाई लाग्छ– बाबु तुन्ज बराइलीले उनलाई गरेको सपोर्ट । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्