सरकार र विप्लव दुवैले किन अन्तिम हतियार प्रयोग गरे ?

काठमाडौं– सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका ५७३ जना नेता तथा कार्यकर्तालाई अहिलेसम्म देशका विभिन्न भागबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी मुडभेडमा भने तीनजना मारिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक ‘डिआइजी’ विश्वराज पोखरेलले फरकधारसँग कुरा गर्दै सो जानकारी दिएका हुन् । 

प्रवक्ता पोखरेलले भने, ‘नेपाल सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका विभिन्न गतिविधिमा संलग्न ५ सय ७३ नेता तथा कार्यकर्तालाई पक्राउ गरेका छौँ । यो ताजा डाटा हो । त्यसैगरी, प्रहरीसँगको मुठभेडमा एकजना प्रहरी र तीनजना कार्यकर्ता मारिएका छन् ।’ 

‘आपराधिक संगठन’को आरोप लगाउँदै सरकारले २०७५ साल फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । 

विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विष्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको आरोप छ । उक्त समूहलाई सरकारले कुनै पनि गतिविधि नै गर्न दिएको छैन । 

प्रतिबन्धपछि सरकारप्रति झन् आक्रामक बनेको विप्लव समूहका नेता तथा कार्यकर्ताले हिंसाजन्य गतिविधि पनि गर्दै आएका छन् । ११ फागुनमा एनसेल प्रालिको नख्खुस्थित मुख्यालयमा एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते हुने गरी रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट गराएको थियो । 

त्यसपछि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा पनि शक्तिशाली विष्फोट भएको थियो । विष्फोटपछि उनको घरमा आगलागी भएको थियो भने चारजना घाइते भएका थिए ।



प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रमबाट विप्लव समूहलाई राजनीतिक पार्टी नभई ‘लुटेरा समूह’को संज्ञा दिएका थिए । मिलनविन्दुका लागि वार्ता र संवादका लागि अभिभावकीय भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएपछि विप्लव समूहलाई आगोमा घ्यू थपेजस्तै भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । 

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको सत्तापक्षका नेता, विपक्षी दलका नेता, राजनीतिक विश्लेषक, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारमाध्यमले सबैले विरोध गर्दै आएका छन् । 



मुलुक विखण्डनको नारा दिने सिके राउतलाई मूलधारको राजनीतिमा अवतरण गराउन सक्ने प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले आफैँ पूर्व सहयात्री विप्लवलाई भनेर प्रतिबन्ध लगाएर परास्त गर्नु पनि तीव्र आलोचना हुनुको कारण हो । 

सरकारको आदेश भन्दै प्रहरीले पनि देशका विभिन्न ठाउँबाट विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ मात्रै होइन गोली हानेको छ । 

बुधबार (२५ असार)मा मात्रै विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भयो । यस घटनामा प्रहरी जवान सन्जीव राई र विप्लवका कार्यकर्ता निरकुमार राईले ज्यान गुमाए । 

विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रममा प्रहरीले नेता हेमन्तप्रकाश ओलीलाई काभ्रेबाट पक्राउ गरेको थियो । उक्त समूहका प्रभावशाली नेता प्रहरीको निगरानीमा परे । प्रहरीले निगानी बढाउँदै प्रक्राउ गर्ने क्रममा पोलिटब्युरो सदस्य खड्कप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरी काठमाडौंबाट पक्राउ ग¥यो । प्रहरीको अप्रेसन रोकिएको छैन । विप्लव समूहका कार्यकर्तालाई खोजी–खोजी पक्राउ गरिरहेको छ । 

प्रहरीका अनुसार अहिलेसम्म ५ सय ७३ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । जसमा पाल्पाबाट शंकर तामाङ (दर्पण), सुर्खेतबाट शिखर परियार पहाडी ‘हिमशिखर’,  डोटीबाट प्रकाश थापा, संखुवासभाबाट निमदोर्जे तामाङ, काठमाडौंबाट सागर तामाङ, चिरञ्जीवी ढकाल, अछामबाट सुरेश रावत, सुरेश साउद, भूमिसरा धामी र राजेन्द्र धामी, जाजरकोटबाट कैलाश पुनलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रतिबन्धित विप्लव समूहका नेता नरबहादुर कार्कीले आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले इन्काउन्टरको नाममा अकारण हत्या गरिरहेको आरोप लगाए । आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको पक्राउ र हत्याको शृंखला बढेपछि उनले फेसबुकमा स्टाटस लेखेर सरकारलाई इमानदार बन्न आग्रह गरेका छन् । 

शान्ति, समुन्नति र प्रगतिको पक्षमा इमानदार पहल नलिने हो भने देश युद्धमा जाने बताए । सरकारमा संवाद र संयमताको संस्कार नदेखिएको बताउँदै उनले जनतालाई युद्ध नभई रूपान्तरण चाहिएको बताए । 

उनले लेखेका छन्, ‘सत्ताको दायित्व बोध देखिएन । संवाद र संयमताको संस्कार देखिएन । युद्ध चाहनेहरूलाई प्रहरी र पार्टी कार्यकर्ता मारिएको खबर बेच्नु जरुरी होला, तर जनतालाई युद्ध होइन, रूपान्तरण चाहिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने बताए । अब पनि दमन गरेर सरकार अगाडि बढ्ने हो भने प्रत्युत्पादक हुने बताए । ‘सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ,’ फरकधारसँगको कुराकानीमा नेता पौडेलले भने, ‘राज्यस्रोतको प्रयोग गरेर दमनको बाटोतिर लाग्ने हो भने यो प्रत्युत्पादक हुन्छ ।’ 

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले सरकार र विप्लवले अन्तिम हतियार प्रयोग गरेको बताउँछन् । दुवैको कमजोरी औँल्याउँदै फरकधारसँग भने, ‘विप्लवले र सरकार दुवैले अन्तिम हतियार प्रयोग गरे । यस्तो गर्नुहुँदैनथ्यो ।’ सरकार विद्रोहीदेखि सबैको अभिभावक हुनुपर्ने, तर सरकारमा अभिभावकीय क्षमता उनले नरहेको बताए । 

सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेन । विप्लव समूहले पनि सरकारलाई हातहतियार बुझाएन । यसले दुई पक्षबीच द्वन्द्व थप चर्केको सन्देश दिएको विश्लेषक पिटरको तर्क छ । उनी भन्छन्, अब दुवैपक्ष द्वन्द्वतिर गए भन्ने अहिलेको सन्देश हो ।’ 

विश्लेषक पिटर विप्लवप्रति सरकार जति संवेदनशील हुनुपर्ने हो, त्यति नभएको जिकिर गर्छन् । ‘सरकार सिरियस नभएकै कारण उसले अन्तिम हतियार प्रयोग गर्यो, उनी भन्छन्, ‘सरकारको राजनीतिक पहल कलामय देख्न सकिएन ।’ यसले फाइदाभन्दा बेफाइदा ज्यादा हुने पिटरको विश्लेषण छ । 

  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १५:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया